कृषि र किसानखबर

दसैँ बिदामा आफूले उत्पादन गरेको तरकारी बेच्दै विद्यार्थी

राधाकृष्ण डुम्रे

वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–१४, हिमशिखर आधारभूत विद्यालयका विद्यार्थीले दसैँ बिदामा पनि तरकारी बिक्री गरेका छन्।

विद्यालयको करेसाबारीमा उत्पादित तरकारी विद्यार्थीले बेच्दै आएका हुन् । ‘एक विद्यालय एक करेसाबारी’ कार्यक्रम अन्तर्गत विद्यालयमा विभिन्न प्रकृतिका तरकारी लगाइएका छन् । विद्यार्थी आफैँले लगाएको तरकारी आफैँले बेच्दै आएको विद्यालयका प्रधानाध्यापक मित्रलाल खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी आआफ्नो पालोमा बारीमा काम गर्ने गर्छन् । विद्यार्थीसँगै शिक्षक पनि करेसाबारीमा काम गर्छौं ।”

बारीमा उत्पादन भएको तरकारी दिवा खाजामा प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । दसैँ बिदा भएकाले तरकारी बाहिर बेचिएको प्रधानाध्यापक खनालले बताउनुभयो । तरकारी बेचेर भएको आम्दानी पनि विद्यार्थीको खाजाका लागि नै प्रयोग गरिने जानकारी उहाँले दिनुभयो ।

विद्यालयले झन्डै तीन रोपनी जग्गा लिजमा लिएर तरकारी खेती गर्दै आएको खनालले जानकारी दिनुभयो ।

कक्षा ७ सम्म पढाइ हुने हिमशिखर माविमा ७५ विद्यार्थी छन् । वालिङ नगरपालिकाका विभिन्न विद्यालयमा ‘एक विद्यालय एक करेसाबारी’ कार्यव्रmम सुरु गरिएको नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । पालिकाले नगरका छ विद्यालयमा पहिलो चरणमा यस्तो कार्यक्रम सुरु गरेको उहाँको भनाइ छ । करेसाबारी सञ्चालन र जग्गा व्यवस्थापनका लागि प्रतिविद्यालय एक लाख रुपियाँ उपलब्ध गराएको प्रमुख खाँणले बताउनुभयो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button