
इश्वरचन्द्र झा
काठमाडौँ, फागुन ११ गते । आमनिर्वाचन २०७९ सम्पन्न भएको दुई वर्षभन्दा बढी भयो तर निर्वाचन आयोगले आफ्नै परिसरवरिपरि गुज्रेकै तिथिमितिको प्रचारप्रसार हुने सामग्रीसहितको होर्डिङ बोर्ड राखिरहेको छ । तत्कालीन निर्वाचनसम्बन्धी सचेतनामूलक विज्ञापन आयोग परिसरवरिपरि अझै झुन्डिरहेको देखिन्छ ।
काठमाडौँको कान्तिपथस्थित बहादुर भवनको अगाडिपट्टिको सडकपेटीसँग जोडिएको पर्खालमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई लक्षित गरी निर्वाचन मिति २०७९ मङ्सिर ४ गते र समय बिहान ७ बजेदेखि ५ बजेसम्म उल्लेख गरिएको ‘होर्डिङ बोर्ड’ अझै राखिएको छ । खास प्रयोजनका लागि आयोगले जनतालाई सुसूचित गराउन राखेको होर्डिङ बोर्डमा अझै औचित्य सकिसकेको सूचना राख्न नहुने काठमाडौँ महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बताउनुभयो ।
आयोगले कान्तिपथस्थित आफ्नो कार्यालय परिसरसँगै पर्खालले छु्ट्याएको सडकपेटीमा प्रत्येक १० मिटरको दुरीमा त्यस्ता विज्ञापनको होर्डिङ बोर्ड राखेको छ । आयोगले राखेको होर्डिङ बोर्ड सडकपेटीमाथि छ । यसलाई अड्याउन प्रयोग भएका सामग्रीको भारवहन क्षमताको नियमित जाँच गरिएको देखिन्न । हावाहुरी वा अन्य कुनै माध्यमले होर्डिङ बोर्ड खसे सडकपेटी भएर हिँड्ने बटुवा दुर्घटनामा पर्ने जोखिम छ । बाह्य विज्ञापनसम्बन्धी मापदण्ड, २०८१ ले बाह्य विज्ञापन गर्दा ऐनको दफा ४ बमोजिम स्थानीय तहबाट अनुमति लिई मापदण्डबमोजिम गर्नुपर्ने उल्लेख छ । काठमाडौँ महानगरपालिकाले सरकारी निकायले अनुमति लिने अभ्यास नगरेको जनाएको छ । यद्यपि होर्डिङ बोर्डको ‘स्ट्रेन्थ’ सम्बन्धमा जाँच गराएर महानगरको स्वीकृति लिनुपर्ने सहायक प्रवक्ता काफ्लेले बताउनुभयो ।
महानगरपालिकाका राजस्व महाशाखा प्रमुख विमला कोइरालाले सरकारी निकायले पनि कति बलियो संरचनामा राखेको छ भन्ने रेखदेख गर्ने र जोखिमपूर्ण तरिकाले राखे/नराखेको जाँचबुझ गर्ने जिम्मेवारी महानगरपालिकाको रहेको बताउनुभयो । उहाँले आयोगले राखेको होर्डिङ बोर्ड आयोग परिसरभन्दा बाहिर रहेकाले महानगरले सो सम्बन्धमा नियमन गर्ने जानकारी गराउनुभयो। आयोगका सहायक प्रवक्ता दुर्गा चालिसेले स्थानीय तहसँग सो विज्ञापनको कुनै विधाबारे स्वीकृति लिनुपर्ने जस्तो नलागेको बरु ‘लाइटनिङ’ वस्तु जडान भएकाले विद्युत् प्राधिकरणसँग समन्वय गर्नुपर्ने दाबी गर्नुभयो । अधिकांश होर्डिङ बोर्डमा निर्वाचन मिति र समय उल्लेख छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनपछि आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचन तथा स्थानीय तह उपनिर्वाचन सम्पन्न गरेको छ ।
स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकाको वडा नं. १८ र कीर्तिपुर नगरपालिकाको प्रमुखसहित वडाध्यक्षको निर्वाचन हालै सम्पन्न भयो । आयोगले हालै सम्पन्न उपनिर्वाचन सम्बन्धमा जानकारी गराउन र निर्वाचन शिक्षा समेटिने विषयवस्तु उल्लिखित सामग्री राख्न उपयुक्त ठानेन ।
आयोगले औचित्य समाप्त भइसकेको विज्ञापन हटाएर भारवहन क्षमताको जाँच गरी निर्वाचन शिक्षासम्बन्धी अन्य सन्देश रहने विज्ञापन राख्न सक्ने महानगरका वरिष्ठ विज्ञापन अधिकृत प्रदीप कोइरालाले बताउनुभयो । आयोगका सहायक प्रवक्ता चालिसेले सो विज्ञापन असान्दर्भिक भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “असान्दर्भिक भयो । डिस्मेन्टल गर्ने कुरा उठ्यो तर हुन सकेन ।”गोरखापत्र दैनिकमा खबर छ ।



