खबर

फरार मानव तस्कर आरोपित पक्राउ

काठमाडौँ, फागुन २६ गते । प्रहरीले मानव तस्करीका शृङ्खलाबद्ध घटनामा संलग्न एक आरोपितलाई लामो प्रयासपछि नियन्त्रणमा लिएको छ । दाङ तुल्सीपुर–१ घर भई मानव बेचबिखन मुद्दाका फरार अभियुक्त कमलकुमार न्यौपानेलाई मानव बेचबिखन ब्युरोको टोलीले कञ्चनपुर गड्डाचौकी नाकाबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याएको हो ।

विक्रम संवत् २०७६ मा आरोपी न्यौपानेले दुई जना महिलासहित आठ जना पुरुषलाई युरोप, अमेरिका जस्ता विकसित मुलुकमा पठाइदिने प्रलोभनमा पारी जनही तीनदेखि १० लाख रुपियाँसम्म असुल गरी ठगेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरी फरार न्यौपानेको साथबाट प्रहरीले भारतीय आधार कार्ड, ड्राइभिङ लाइसेन्स, भारतीय स्थायी लेखा नम्बर कार्ड, विभिन्न भारतीय बैङ्कका क्रेडिट तथा डेबिट कार्ड बरामद गरेको जनाएको छ । मानव बेचबिखन ब्युरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार आरोपित कमल न्यौपानेले पोर्चुगलमा अन्तर्राष्ट्रिय मुद्रा विनिमय र होटलमा एक हजार ८०० सम्म तलबमा काम लगाइदिने प्रलोभनमा पारी विभिन्न व्यक्तिसँग चारदेखि आठ लाख रुपियाँसम्म असुल गरेका थिए ।

युवतीको बिक्री गर्ने पक्राउ

एक युवतीलाई भारतको दार्जिलिङ घुम्न जाने र मोबाइललगायतका सामान किनिदिने प्रलोभनमा पारेर वेश्यालयमा बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर–७ का मानबहादुर तामाङ र सोमबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । पीडित २३ वर्षीय एक युवतीलाई दार्जिलिङ घुम्न जाने र मोबाइललगायतका बस्तु किनिदिने प्रलोभनमा पारी गत मङ्सिर १८ गते आरोपी तामाङद्वयले ललितपुर गोदावरी, चापागाउँ, ठेचोबाट कोटेश्वर ल्याई कोटेश्वरबाट झापा, काँकडभिट्टा हुँदै भारतको दार्जिलिङ पुर्‍याएका थिए ।

दार्जिलिङबाट कोलकत्ता, दिल्ली हुँदै महाराष्ट्रको पुनास्थित न्यु बिल्डिङ (फुड प्लाजा) बुधबारे पेठको रेडलाइट एरियाको कोठीसम्म पुर्‍याई एक लाख ५० हजारमा बिक्री गरी फरार रहेका दुवै जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको जनाएको छ । गत माघ १५ गते वेश्यालयबाट उद्धार गरिएकी युवतीको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button