
डिकेश लामा
झापा- स्थानीय समूदाय र शरणार्थी मिलेर थालिएको खेती सफल बनेपछि खेती विस्तार हुने क्रम बढेर गएको छ । दातृ निकायले जिविकोपार्जनमा टेवा पुग्ने उदेश्यले थालेको खेती सफल बने पछि किसानहरु थप उत्साहित बनेका हुन् ।
दातृ निकायले आवश्यक जमिन, मल र विऊ विजनमा अनुदान उपलव्ध गराएपछि भूटानी शरणार्थीले स्थानीयसँग मिलेर थालेको खेती सफल बनेको छ ।
खेती सफल भएपछि अहिले किसानहरु आँफै उत्साहित भएर थप खेती विस्तारमा लागेको मान सरोवर कृषि सहकारी संस्थाका सदस्य कृषि प्राविधिक दधिबल चापागाईले बताउनु भयो ।
सहयोगी संस्था भूटानी शरणार्थीलाई दिने राहत कटौती गरेपछि शिविरमा धेरैलाई खान बस्न नै समस्या हुने गरेको छ । तर स्थानीय समूदायसँग कृषि कर्म गर्न निस्किएका भूटानी शरणार्थीहरुलाई भने धेरै सहज हुन थालेको उनीहरुले बताएका छन् ।
यसअघि दातृ निकायको सहयोगमा स्थानीय र शरणार्थी गरी ५० जनालाई तालिमसँगै अभ्यागतमा खेती गराइएको थियो । खेतीमा सफल बनेका किसानले अहिले एउटै टनेलबाट हरियो जातका काँक्रा विक्री गरेर राम्रो आम्दानी लिन सफल बनेको आफू पनि खेतीमा जुट्दै आउनु भएका बेलडाँगी शरणार्थी बस्तीका सचिव सन्चहाङ्ग सुब्बाले बताउनु भयो ।
समूहमा खेती गर्दा भूटानी शरणार्थी र स्थानीयबीचको सम्बन्ध समेत राम्रो हुनुको साथै उत्पादन पनि बढ्दै गएको छ । सामुहिक खेतीबाट उत्पादन भएका कृषि उपार्जन स्थानीय बजारदेखि अन्य जिल्लामा समेत विक्री हुन थालेको किसानले बताएका छन् ।नेपाल टिभी अनलाइनबाट ।



