मूल खबरहेड लाइन

एमसिसी परियोजनाले निरन्तरता पाउने

काठमाडौँ, चैत ११ गते । संयुक्त राज्य अमेरिकाले नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनालाई निरन्तरता दिने भएको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि रोकिएको करिब ५५ करोड डलर अनुदान (करिब साढे ७५ अर्ब रुपियाँ) बराबरको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट परियोजनाले अब निरन्तरता पाउने भएको हो ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा वरिष्ठ निर्देशक रिकी गिलसँगको भेटमा हालै नयाँ दिल्लीमा नेपाललाई अमेरिकाले दिँदै आएको एमसिसीलगायतका परियोजना निरन्तर गरिदिन आग्रह गर्नुभएको थियो ।

भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजना गरेको ‘राइसिना डायलग’ कार्यक्रमका लागि त्यहाँ रहनुभएका गिलसँग मन्त्री डा. राणाले चैत ५ गते भेटवार्ता गरी सो आग्रह गर्नुभएको थियो । सो भेटका क्रममा मन्त्री डा. राणाले नेपाललाई सहयोग पुर्‍याउने सडक एवं जलविद्युत् पूर्वाधार परियोजनाका रूपमा भर्खरै निर्माण सुरु भएको एमसिसी परियोजनाको निर्माण रोकिन पुगेकाले

यसलाई निरन्तरता दिने काममा पुनर्विचार गरिदिन उहाँले आग्रह गर्नुभएको थियो । त्यस आग्रहमा सुरक्षा निर्देशक गिलले आफूले यस विषयमा पुनर्विचारका लागि प्रक्रिया सुरु गर्ने बताउनुभएको थियो । उहाँले अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिने आश्वासन दिनुभएको थियो । त्यसलगत्तै शनिबार मात्र अमेरिकी सरकारले सो परियोजनालाई निरन्तरता दिने गरी सूचना जारी गरेको हो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button