मूल खबर

तरकारीमा खानै नहुने गरी विषादीको मात्रा

काठमाडौँ, चैत १२ गते । देशकै ठुलो तरकारी बजार कालीमाटीमा भित्रिएका तरकारीमा खान नहुने मात्रामा विषादीको अवशेष भेटिएको छ । कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले तरकारीको नमुना परीक्षण गर्दा खान नहुने विषादीको मात्रा अधिक देखिएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार सोमबार ठाउँबाट आएका १४ प्रकारका तरकारीको नमुना परीक्षण गरेकामा भक्तपुरबाट आएको ब्रोकाउलीमा अगार्नोफस्फेट नामक विषादीको रोकावट दर ८८.६७० प्रतिशत रहेको पाइएको छ। समितिका अनुसार बाँकी ब्रोकाउली प्रहरीको रोहबरमा नष्ट गरिएको छ ।

यस्तै अघिल्लो सोमबार पनि भक्तपुरबाट आएको ब्रोकाउलीमा खान नहुने मात्रामा विषादी प्रयोग भएको भेटिएको समितिले जनाएको छ । समितिले चैतको १ देखि ११ गतेसम्म १३० वटा तरकारीका नमुनाको परीक्षण गरेकोमा सात वटा खान नहुने विषादीको प्रयोग भएको जनाएको छ । केही दिन पर्खेर मात्रै खान हुने विषादीको मात्रा नौ वटामा देखिएको र धेरै जसो गोलभेँडा छन् । विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ । विषादी छर्केपछि वेटिङ पिरियड (पर्खनुपर्ने अनिवार्य निश्चित समय) नपर्खेर बारीबाट सोझै बजारमा साग लगिएकाले उच्च परिमाणमा विषादीको अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीले जानकारी दिनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button