मूल खबर

पर्यटकीय सवारी साधनमा स्टीकर,पर्यटकलाई गरियो स्वागत

मेचीनगर । कोशी प्रदेश सरकारले नेपालको पूर्वीद्वार काँकरभिट्टा सीमा नाकामा पर्यटकीय सवारी साधनमा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ । आइतबार काँकरभिट्टा नाकाबाट कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले अभियानको शुभारम्भ गरे । उनले भारतीय नम्बर प्लेट डब्लु बि ७४ ए ०६६३४ को सवारी साधनमा स्टिकर टासेर शुभारम्भ गरेका हुन् । मन्त्री भण्डारीले सो सवारी साधनमा सवार भारतीय पर्यटकहरुलाई रुद्राक्षको माला र खादा पहिर्याएर स्वागत समेत गरे ।

आगामी २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकलाई सहज र सरल यात्रा अनुभव प्रदान गर्न यो अभियान सुरु गरेको जनाएको छ । नाकामा सुरक्षा जाँच स्टिकर टाँसिसकेपछि नफर्कुञ्जेल र कानुन विपरितको काम नगरेसम्म बाटोमा प्रहरीले रोक्न नपाउने प्रदेश सरकारले व्यवस्था गरेको छ ।

पर्यटन वर्षका लागि भारतीय नाकाबाट प्रवेश गर्ने पर्यटकको सवारीमा स्टिकर टास्ने र स्टिकर टासेपछि सडकमा यात्रामा थप चेकजाँच नगर्ने सरकारको तयारी थियो । कोशी प्रदेशका पर्यटकीय उपजको प्रचारप्रसार र प्रवर्धन गर्दै पर्यटक आगमनमा वृद्धि गरी पर्यटन क्षेत्रलाई चलायमान बनाएर कोशी प्रदेशलाई समृद्ध बनाउने सरकारको योजना छ ।

भारतबाट पर्यटक बोकेर आउने सवारी साधन गन्तव्यसम्म पुगेर फर्किदासम्म बाटोभरि प्रहरीले रोक्दै अनेक बहानामा अबैध रकम असुल्दै आएको पर्यटन व्यवसायीहरुको गुनासो आईरहेका बखत उनीहरुको गुनासो सम्बोधनका लागि प्रदेश सरकारले सुनसरीको भण्टाबारी, मोरङको रानी, झापाको काँकरभिट्टा, इलामको पशुपतिनगर नाकाबाट आउने भारतीय पर्यटक बोकेको सवारी साधनमा सुरक्षा जाँच स्टिकर टाँस्ने व्यवस्था गरेको भनाई छ ।

मन्त्री भण्डारीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरिक्षक राजन लामा, सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक शमशेर कार्की, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष एवम् पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठ, ट्राभल्स, होटल, यातायातलगायत विभिन्न व्यवसायका प्रमुख प्रतिनिधि, व्यवासायीहरुले यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button