मूल खबरहेड लाइन

१५ दिनपछि पूर्वराजाको प्रतिक्रिया- क्षतिबाट दुःख लाग्यो, जागरुकता सकारात्मक

न्युज अफ नेपाल

काठमाडौँ।

पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको दुई सातापछि मुख खोलेका छन्। नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा आइतबार भिडिओ सन्देश जारी गर्दै पूर्वराजा शाहले चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा हुन गएको मानवीय र भौतिक क्षतिबारे दुःख व्यक्त गरेका हुन् ।

चैत १५ गते पूर्वराजा शाहका समर्थकहरूको प्रदर्शन भड्किँदा व्यापक आगजनी, तोडफोड र लुटपाट भएको थियो। राजावादीहरूले घरघरमा आगो लगाउँदा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने एक प्रदर्शनकारीको सडकमै ज्यान गएको थियो।

‘ केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी तोडफोड भयो, यसबाट जसप्रकारको मानवीय एवम् भौतिक क्षति भयो, यो सुन्दा हामीलाई दुःख लाग्यो।’

यस्तै उनले जनतामा जागरूकता पैदा हुनु भने सकारात्मक रहेको बताएका छन्। ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद अरु हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो नराम्रो जनगुनासो सुन्ने परम्परा र संस्कार हुन्छ। नेपाली जनतालाई देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ। यसलाई हामीले सकरात्मक लिएका छौँ,’ उनको भनाइ छ।

उनले २०८२ मा नेपाली जनताको चाहनाअनुसारको परिणाम हासिल हुने विश्वास थपिएको पनि बताएका छन्।

मुलकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्‍याउँदै आएको दाबी समेत उनले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button