खबर

छ स्थानीय तहको आर्थिक कारोबार बन्द

चन्द्रपुर (रौतहट), वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी प्रणालीबाट मात्र आर्थिक कारोबार नगरेको भन्दै कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले ईशनाथ नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, वृन्दावन नगरपालिका यमुनामाई गाउँपालिका तथा राजपुर नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लक गरेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवीप्रसाद गौतमका अनुसार विद्युतीय माध्यमबाट भुक्तानी गर्न सबै स्थानीय तहलाई बारम्बार निर्देशन दिए पनि अटेरी गर्दै आएका कारण बाध्य भएर सूत्र लक गर्नु परेको बताउनुभयो ।

महालेखा नियन्त्रक कार्यालयले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत विद्युतीय कोष हस्तान्तरण गर्न बारम्बार ताकिता गरे पनि रौतहटका केही स्थानीय तहले चेक नै प्रयोग गर्ने गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।

विद्युतीय माध्यमबाट भुक्तानी गर्दा पारदर्शिता कायम गर्न सहयोग पुग्ने भएकाले अनिवार्य गरिएको बताउँँदै कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक गौतमले सूत्रको सिस्टमका कारण चेक काट्नुपर्ने अवस्थाबाहेक एउटा पनि चेक काटेमा सूत्र लक गरिने बताउनुभयो ।

सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने भएकाले रौतहटका स्थानीय तहले विद्युतीय माध्यमबाट भुक्तानी सेवा प्रयोग गरे÷नगरेको अनुगमन भइरहेको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख गौतमले बताउनुभयो । स्थानीय तहमा विकासनिर्माणका काममा उपभोक्ता समितिका पदाधिकारीसँग चेक दिनुअघि मोलमोलाई गर्ने प्रवृत्ति रहेकाले विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्न स्थानीय तहहरूले आनाकानी गर्दै आइरहेको देखिएको छ ।

फतुवा विजयपुर नगरपालिकाले हालसम्म एउटा पनि कारोबार विद्युतीय भुक्तानी प्रणालीबाट गरेको छैन भने ईशनाथ नगरपालिकाले यो आवको १० महिनामा ९६ हजार ५२० रुपियाँको मात्र कारोबार विद्युतीय भुक्तानी प्रणालीबाट गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button