मूल खबर

चीनको राष्ट्रिय जनकङ्ग्रेस नेता सियाओ नेपाल भ्रमणमा

काठमाडौँ, जेठ १ गते । चीनको राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी चार दिने नेपाल भ्रमणका लागि बिहीबार बिहान काठमाडौँ आई पुग्नु भएको छ ।

उपसभामुख इन्दिरा राना मगरको निमन्त्रणामा १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनु उपाध्यक्ष सिआओ सरकारले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुने कार्यक्रम छ ।

काठमाडौँ आई पुग्नु भएका उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समूहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालका लागि चीनका राजदूत छङ सोङ, सङ्घीय सांसदका महासचिव पद्यप्रसाद पाण्डेय लगायतले स्वागत गर्नुभएको थियो ।

उपाध्यक्ष सियाओले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल सँग भेट गर्नुहुनेछ भने उपसभामुख इन्दिरा राना मगर सँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उहाँको सम्मानमा उपसभामुख रानाले आज साँझ रात्रीभोजको आयोजना गर्नुहुनेछ । उपाध्यक्ष सियाओ नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले सगरमाथा संवादमा सहभागी हुनुका साथै काठमाण्डौका बौद्धनाथ, स्वयम्भूनाथ, वसन्तपुर दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने कार्यक्रम समेत रहेको सङ्घीय सांसदका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ।

प्रतिनिधि मण्डल भ्रमण सम्पन्न गरी जेठ ३ गते दिउँसो चीन फर्कने कार्यक्रम रहेको छ ।
गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button