
काठमाडौँ- मौसम अनुकूल भएसँगै आइतबार एकैदिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ ।
सगरमाथाको आधारशिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले आइतबार धेरै आरोहीले सगरमाथा चढेका हुन् । आज सोमबार पनि धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनामा रहेको जनाइएको छ ।
विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “मे १८ तारिखका दिन ‘म्याक्सिमम समिट प्लान’ थियो । त्यसैले धेरै सङ्ख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन् । सगरमाथा आरोहणको सुरुका केही दिन आरोहण अवरुद्ध भएपनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका छन् ।”
निर्देशक गौतमले हालसम्म २०० भन्दाबढीले सगरमाथा आरोहण गरेको र भोलि सोमबार पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेको जानकारी दिनुभयो ।
फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा
फोटो पत्रकारसमेत रहनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले पाँचौँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । श्रेष्ठले आइतबार बिहान सगरमाथाको चुचुरोमा पाँचौँ पटक पुगेको सतोरी एडभेन्चर प्रालिले जनाएको छ । श्रेष्ठले गत वर्ष एउटै याममा तीन पटक सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गर्नुभएको थियो ।
गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो । विभागको तथ्याङ्कअनुसार वसन्त ऋुतमा हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् ।नेपाल टिभी अनलाइनबाट ।



