खबर

नेपाल–भारत सुरक्षा बैठक आज

काठमाडौँ, साउन ६ गते । नेपाल–भारत गृह सचिवस्तरीय बैठक भारतको राजधानी नयाँदिल्लीमा मङ्गलबारदेखि सुरु हुँदै छ । बैठकमा सहभागी हुन गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत परराष्ट्र मन्त्रालय; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहसचिवस्तरीय टोली सोमबार नयाँदिल्ली पुगेको छ ।

बैठकमा सीमा सुरक्षा, मानव तस्करी, लागुऔषध कारोबार जस्ता द्विपक्षीय समान चासोका विषयमा छलफल हुने छ । गृह मन्त्रालय शान्तिसुरक्षा महाशाखाका उपसचिव तथा सूचना अधिकारी रवीन्द्र अधिकारीले उच्चस्तरीय बैठकमा सीमा वारपार अपराध, मानव तस्करी, लागुऔषध ओसारपसार तथा कारोबार, तस्करी, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेशलगायतका विषयमा छलफल हुने जानकारी दिनुभयो ।

घटनाक्रम, सुरक्षा चुनौती र यसका समाधान पहिल्याउने उद्देश्यले दुई देशबिच गृह सचिवस्तरीय बैठक प्रत्येक वर्ष गर्ने सहमति भए पनि सन् २०१६ मा नयाँदिल्लीमा सम्पन्न बैठकपछि यस पटक हुन लागेको हो । बैठकमा दुई देशबिचको खुला सीमाबाट हुन सक्ने सुरक्षा चुनौती, चोरी तस्करीलगायत सुरक्षा संवेदनशीलताबारे गहन छलफल हुने जनाइएको छ ।

यसका साथै सीमा सुरक्षा थप प्रभावकारी बनाउन सूचना आदानप्रदान, प्राकृतिक प्रकोपलगायतका साझा समस्याका विषयमाथि बैठक केन्द्रित रहने बताइएको छ ।

बैठकमा सीमा अतिक्रमण, सीमास्तम्भको मर्मतसम्भार, सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक संरचनालगायतका विषयमा पनि छलफल हुने छ । सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक संरचना, सडकलगायतका कारण हुने गरेको डुबान र यसको समाधानबारे बैठकमा छलफल हुने छ ।

विगत नौ वर्षदेखि रोकिएको यो बैठक तयारीका लागि गत चैतमा नेपाल–भारत सहसचिवस्तरीय बैठक पोखरामा सम्पन्न भएको थियो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button