खबरस्वास्थ्य

दार्चुलाबाट दुई हजार क्विन्टल हिमाली जडीबुटी बाहिरियो

दार्चुला, साउन ९ गते । जडीबुटीका लागि प्रख्यात दार्चुलाबाट ठुलो परिमाणमा हिमाली जडीबुटी बाहिरी जिल्ला निकासी भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा यहाँबाट दुई हजार ३१६ क्विन्टल हिमाली जडीबुटी कैलाली, नेपालगन्ज, काठमाडौँ र बाहिरी मुलुकमा निकासी गरिएको हो । यहाँका व्यापारीले हिमाली बहुमूल्य जडीबुटीका रूपमा परिचित यार्चागुम्बा र वनलसुन बाहिरी मुलुकमा समेत निर्यात गर्ने गरेका छन् ।

दार्चुलाको उच्च हिमाली क्षेत्रमा पाइने डेढ दर्जनभन्दा धेरै किसिमका जडीबुटी जिल्लाबाहिर तथा देशबाहिर निकासी हुने गरेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका वार्डेन विनयकुमार झाले जानकारी दिनुभयो । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत जिल्लाको जडीबुटी निकासी हुने गरेको उहाँले बताउनुभयो ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत झन्डै १५ प्रकारका जडीबुटी हरेक वर्ष निकासी हुने गरेको छ भने बहुमूल्य जडीबुटी यार्चागुम्बा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयमार्फत मात्रै निकासी हुने गरेको उहाँले बताउनुभयो । दार्चुलाबाट गत आव २०८१/८२ मा एक क्विन्टल ८८.३३७ ग्राम यार्चागुम्बा, तीन क्विन्टल तीन सय ग्राम वनलसुन, ९८ किलोग्राम टिमुर, ३२ क्विन्टल पाषाणभेद, नौ क्विन्टल दालचिनी, १२ क्विन्टल अमला, एक हजार ५४० क्विन्टल तेजपात, ५८० क्विन्टल रिट्ठा, ३८ क्विन्टल सेतक चिनी, ४५ क्विन्टल अल्लो, ३२ क्विन्टल रातो च्याउ र २४ क्विन्टल कचुर निकासी भएको डिभिजन वन कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश पार्कीले जानकारी दिनुभयो ।

हिमाली जडीबुटी पाइने हिसाबले अपिनाम्पा संरक्षण क्षेत्र डिभिजन वनभन्दा ठुलो छ । संरक्षण क्षेत्रभित्र ७० किसिमका जडीबुटीको पहिचान भए पनि हालसम्म ३५ किसिमका जडीबुटीको मात्रै निकासी हुने गरेको उहाँले बताउनुभयो । दार्चुलामा करोडौँ मूल्यका जडीबुटी उत्पादन भएर निर्यात भए पनि जडीबुटीको संरक्षणतर्फ भने सरोकारवालाको ध्यान गएको देखिँदैन । प्रत्येक वर्ष सबै किसिमका जडीबुटी सङ्कलनका लागि वन खुला गर्दा हिमाली जडीबुटी लोप हुने अवस्थामा पुगेको जडीबुटी व्यापारी तथा दार्चुला उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष मङ्गलसिंह ठगुन्नाले बताउनुभयो । जडीबुटी निकासीबापत अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयले एक करोड ८९ लाख १० हजार ९०९ रुपियाँ राजस्व सङ्कलन गरेका छन् ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button