कृषि र किसानखबरहेड लाइन

एआईको साथले कृषिमा आधुनिकता

प्रतीकात्मक तस्बिर

हरिप्रसाद सुवेदी

पुतलीबजार (स्याङ्जा), साउन १६ गते । एआईका केही सशक्त प्रयोगकर्ताले यसबाट उल्लेखनीय लाभ उठाउँदै छन् । स्याङ्जा पुतलीबजार–११, मायाटारीका २५ वर्षीय उबित अर्यालले एआईमा आधारित एप्स प्रयोग गरेर स्वादिलो कफी बनाउने कार्यमा जुटेपछि नेपालमा केही छैन भन्नेलाई गतिलो जवाफ भएको छ ।

अर्यालले प्रयोग गर्दै आएको प्रविधिले कफीको स्वाद, मिश्रण अनुपात तथा कफी पारखीको रुचि अनुसारको कफी बनाउन मद्दत पुर्‍याउने गरेको छ । एआई प्रयोग गरेर कफीको गुणस्तर जाँच गर्ने र नेपाली बजारमा ब्रान्डिङ तथा लेबलिङ गरेर गुणस्तरीय कफी बिक्री गरिएको अर्याल बताउनुहुन्छ ।

एआईको समान्था एप्स एकप्रकारको स्मार्ट व्यवस्थापन एप्लिकेसन हो । यसले साना व्यवसायीलाई प्रविधिमा आधारित व्यवसाय सञ्चालन गर्न मद्दत पुर्‍याउने अर्याल बताउनुहुन्छ । मोबाइलमार्फत प्रयोग गरिने एप्सले आदेश अनुसार कफी मेसिन नियन्त्रण गरेर सही तापक्रम र मिश्रण अनुपात मिलाउँछ । यसरी निर्माण हुने कफी पारखीलाई निकै स्वादिलो लाग्ने अर्यालको भनाइ छ ।

हातको प्रयोग नगरी स्वादिष्ट कफी सेवन गर्दा निकै खुसी लागेको कफी पारखी निर्मल पौडेल बताउनुहुन्छ । “म बेला बेलामा यो मेसिनबाट बनाएको कफी खाने गर्छु, कफी र पानीको सही मिश्रणका कारण यसले ग्राहकको चाहना अनुसारको स्वाद बनाउने गर्छ,” पौडेलले बताउनुभयो ।

यो प्रविधिबाट बनाइएको कफी नयाँ प्रकारको स्वाद आउने कारण विदेशी पर्यटकले पनि रुचाउने गरेको १५ वर्षदेखि पुतलीबजार–११, करेन्डाँडामा रोड साइड क्याफे सञ्चालन गर्नुभएका कृष्णजङ्ग केसी बताउनुहुन्छ । उबितले सन् २०१९ मा जापानमा कफीसम्बन्धी अध्ययन गर्नुभएको थियो । उबितका बुवा बोधराज अर्याल पनि कृषि विशेषज्ञ भएका कारण उहाँलाई यो पेसाप्रति थप ऊर्जा मिलेको हो । “स्वदेशी तथा विदेशी मेरो घरमा कृषि अध्ययन गर्न आउनुहुन्थ्यो । मलाई पनि यसले थप ऊर्जा मिलेको हो,” अर्याल भन्नुहुन्छ, “कृषिमा आधुनिकता ल्याउन सक्ने हो भने अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने बुझेको छु ।” अहिले जिल्लाभित्र उत्पादन हुने कफीको गुणस्तर मापन गर्न यो प्रविधि प्रयोग गरिएको अर्यालले बताउनुभयो ।

सन् २००९ देखि नै उबितका बुवा बोधराजले नेपाली ब्रान्ड ‘फार्मस प्यासन’ नामक कफी जापान निर्यात गर्दै आउनुभएको छ । छोरा पनि यही पेसामा आकर्षित भएपछि आफ्नो व्यवसायमा गुणस्तर थप सुधार भएको उहाँको भनाइ छ ।

शान्ति शान्ति कफी ट्रेडको ब्रान्ड फार्मस प्यासनको नामबाट बर्सेनि १० टन कफी जापान निर्यात हुँदै आएको छ । प्रतिकेजी फार्म गेट मूल्य एक हजार छ सय रुपियाँमा ग्रिन बिन जापान निर्यात गरिएको उक्त ट्रेडका सञ्चालक बोधराजले बताउनुभयो ।

केही वर्षअघिसम्म स्याङ्जाको कफी विदेशमा मात्र अत्यधिक माग हुने गरेको भए पनि पछिल्ला केही वर्षयता नेपालमा पनि स्याङ्जाको कफीको माग अत्यधिक रहेको अर्यालको भनाइ छ । पछिल्ला वर्ष कृषि क्षेत्रको नेपाली उत्पादन फार्मस प्यासनको नामबाट जापानी बजारमा लोकप्रिय बन्दै गएको छ ।

डलर कमाउन युवा विदेश पलायन हुनु नपर्ने बताउँदै अर्याल भन्नुहुन्छ, “अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सकिने गुणस्तरीय उत्पादन निर्यात गर्ने हो भने डलर नेपालमै आउँछ ।” जापानमा फार्मस प्यासनको ब्रान्डमा मह तथा सुन्तला, जुनार, कागती र अदुवाको जाम मात्र होइन, यिनीहरूको बोक्रासमेत निर्यात हुँदै आएको छ । यी उत्पादन बेचेर बर्सेनि डेढ करोडको कारोबार हुँदै आएको अर्याल बताउनुहुन्छ । जापानमा नेपाली उत्पादन निर्यात गरेबापत उहाँलाई निर्यात व्यवसायी महासङ्घले उत्कृष्ट कफी निर्यात पुरस्कार २०८१ ले पुरस्कृतसमेत गरेको थियो । पछिल्लो समय स्वदेशी तथा विदेशी कृषक अध्ययन गर्न आउने केन्द्रका रूपमा पनि यो फर्म स्थापित भएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button