मूल खबरहेड लाइन

श्रमिकको हितमा प्रयोग गर्नुपर्ने २० करोड बढी रकम मोजमस्ती र गाडी खरिदमा

श्रमिकको पसिनामा रजाइँ गर्नेलाई किन हुँदैन कारबाही ?

न्युज अफ नेपाल

–१ अर्ब ९ करोड ४० लाख ९४ हजार आम्दानीको छैन श्रेस्ता
–महालेखाले पार्‍यो सचेत

काठमाडौं ।

वैदेशिक रोजगार बोर्डले विदेशमा जाने कामदारहरू र उनका परिवारको हितका लागि विभिन्न कल्याणकारी काम गर्न भन्दै मजदुरबाट उठाउने गरिएको करोडौं रुपियाँमा लुट धन्दा मच्चाउने गरेको पाइएको छ ।

बोर्डले आर्थिक वर्ष २०८०|८१ र २०८१|८२ मा विदेश जाने मजदुरबाटै उठाएको अर्बमध्येबाट २० करोडभन्दा बढी रकम विदेश भ्रमण, विभिन्न अनावश्यक कार्यक्रम तथा गाडी खरिदमा खर्चिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले श्रमिकबाट श्रमिककै हितका लागि भनेर उठाइएको सो रकम अनियमित रूपमा खर्च गरिएकोमा प्रश्न उठाउँदै आगामी दिनमा त्यसरी खर्च नगर्न सचेत पारेको छ ।

बोर्डले आव २०८१|८२ मा कोषको रकमबाट अन्य संस्था, निकायसँग समन्वय सहजीकरण र सहयोग शीर्षकमा १४ करोड १५ लाख रुपियाँ खर्चेको छ । यसै गरी सो कोषको रकमबाट प्रशिक्षण, अध्ययन अनुसन्धानको नाममा १ करोड १० लाख खर्चेको छ भने कार्यालय सञ्चालन र व्यवस्थापनको नाममा ३ करोड २३ लाख खर्चेको छ ।

बोर्डले आर्थिक वर्ष २०८०|८१ मा दक्षिण कोरियाबाहेक अन्य मुलुक जाने कामदारबाट प्राप्त शुल्क कामदारले सोझै बोर्डको खातामा जम्मा गर्नुपर्ने व्यवस्थाअनुसार बैंक स्टेटमेन्टको आधारमा प्रतिकामदार १ हजार ५ सयको दरले ७ लाख २९ हजार ३ सय ९६ कामदारको १ अर्ब ९ करोड ४० लाख ९४ हजार आम्दानी बाँधेको थियो । सो आयसम्बन्धी स्रेस्ता कागजातसमेत तयार नपारिएकाले गम्भीर अनियमितता भएको आशंका गर्दै महालेखाले प्रत्येक कामदारको शुल्क दाखिलाको प्रमाणसहित सबै आर्थिक कारोबारको स्रेस्ता अद्यावधिक राख्न वैदेशिक रोजगार बोर्डलाई निर्देशन दिए पनि बोर्डले सोको पालना गरेको छैन ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३ मा वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्ने, अलपत्र परेका कामदारलाई स्वदेश फिर्ता गराउने, क्षतिपूर्ति दिने, कामदारको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने, वैदेशिक रोजगारको क्रममा मृत्यु भएका कामदारको शव नेपाल ल्याउनेलगायतका वैदेशिक रोजगारमा गएका कामदारको हकहितका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गरिने उल्लेख छ ।

तर, त्यसविपरीत बोर्डले कल्याणकारी कोषबाट नेपाली राजदूतावास अबुधाबीलाई वैदेशिक रोजगार मेला व्यवस्थापन गर्न तथा वैदेशिक रोजगार व्यवसयायी तथा संघसंगठनका प्रतिनिधिको भ्रमण खर्चका लागि ३३ लाख १६ हजार, रोजगार मेलामा सहभागी पदाधिकारी, कर्मचारीको भ्रमण खर्चमा १८ लाख २७ हजार, त्यस्तै, विभिन्न विदेश भ्रमणमा ३० लाख, दुई थान विद्युतीय कार खरिद गर्न ७९ लाख ४० हजार, तीन दूतावासका सवारी साधन मर्मतमा २३ लाख ९८ हजार तथा नियोगमा कर्मचारी नियुक्त गरी ३ करोड बढी खर्च गरेको छ । महालेखाले कोषको उद्देश्यअनुरूप वैदेशिक रोजगारमा जाने कामदारको हितमा मात्रै कोषको उपयोग गर्नुपर्नेमा त्यस्तो नभएको भन्दै वैदेशिक रोजगार बोर्डलाई सचेत पारेको छ ।

महालेखाका अनुसार सो वर्ष कोषले ८ अर्ब ८७ लाख ५३ हजार आय गरेकोमा १ अर्ब २६ करोड रुपियाँ खर्च गरेको थियो । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले महालेखाले कोषको रकम मजदुरको हितमा मात्रै प्रयोग गर्न सचेत पारे पनि कार्यालयको अन्य काममा पनि सो कोषको रकम प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । सो कोषको रकम बोर्डबाट निर्णय गरी अन्यत्र खर्च गर्ने गरिएको उहाँले स्वीकार्नुभयो ।

श्रमिकको कल्याणका लागि भन्दै श्रमिकबाट उठाइएको रकम अन्यत्र कसरी प्रयोग गर्न मिल्छ भन्ने प्रश्नमा कार्यकारी निर्देशक उप्रेतीले यस विषयमा आगामी दिनमा सोच्न सकिने बताउनुभयो । महालेखाको निर्देशनअनुसार चल्न भने केही कठिनाइ हुने उहाँको दाबी थियो । श्रमिकहरूले भने आफूहरूको पसिनाको रकम विदेश भ्रमण, विभिन्न कार्यक्रम र गाडी खरिदमा खर्च गर्नेमाथि कडा कारबाहीको माग गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button