खबरहेड लाइन

नेपाल विचरणमा प्रेमिल चरा

भुइँचिल / कैले चाँचर

चाँदनी हमाल

काठमाडौँ, मङ्सिर १६ गते । भूगोलसँगै सुन्दर प्रकृतिमा रमाउन विदेशी मानिस मात्र होइन, सुन्दर चरा पनि बर्सेनि नेपाल आउने गर्छन् । हिउँदमा हिमालदेखि तराईसम्मको फरक भूगोल र मौसमको रसास्वादन गर्न कैयौँ हजार किलोमिटरको दुरी तय गर्दै चरा नेपाल आएर विचरण गरिरहेका छन् ।

तीमध्ये केही सुन्दर चरा छन्, जसले हेर्नेको मनै हर्छ । नेपाल आएर रम्न थालिसकेको जोडी चरा हो कैले चाँचर । माथिपट्टि गाढा सुन्तला रङमा थोरै चहकिलो कालो मिसिएको यो चराका भालेपोथी निकै सुन्दर हुन्छन् । पोथीभन्दा भालेको रङ घामको किरणमा अझ चम्किन्छ । मङ्गोलिया र चीनको उत्तरी भेगबाट गत महिनादेखि नेपाल आएका कैले चाँचरका जोडी नेपालका प्राकृतिक छटाको आनन्द लिँदै प्रेमालाप गरिरहेका भेटिन्छन् ।

वरिष्ठ चराविद् डा. हेमसागर बरालले भन्नुभयो, “बर्खामासमा चरा प्रायः बच्चा कोरल्न नेपाल आइपुग्छन् तर हिउँदयाममा आउने भनेको जोडीसँगै प्रेम साट्दै रम्नै आउने हुन् ।”

भाले भुर्र उड्दा पोथी पनि च्याँ च्याँ गर्दै पछि पछि उड्छे । एकछिन पनि एकअर्कोलाई नछाडी कहिले पहारिलो घाम त कहिले शीतल छायामा कैले चाँचर जोडी रमाउने गर्छन् । यतिबेला काठमाडौँको फूलचोकीडाँडामा कैले चाँचरका जोडी बास बसेका छन् । पोखरा जस्तै मध्यपहाडी इलाकामा चाँचरका जोडीले माया साटिरहेका भेटिन्छन् ।

जोडीसँगै रमाउन आएको अर्को सुन्दर चरा हो भुइँचिल । चिल प्रजातिमध्ये सबैभन्दा कम उचाइमा उड्ने र बास पनि भुइँमै बस्ने भएकाले यसलाई नेपालीमा भुइँचिल भनिएको बराल अथ्र्याउनुहुन्छ । चहकिलो कालो र सेतो रोगनले चमक्क चम्कँदा जोकोहीको नजरमा यो चरा पर्छ । सेतो र कालो दुई वटा रङसँगै पहेँलो खुट्टा बनाएर प्रकृतिले सुन्दर ढङ्गले सिँगारेको चरा भनेर भुइँचिललाई मानिन्छ । प्रायःजसो उत्तर भारत र चीनबाट नेपालका समथर क्षेत्रमा जोडीसँगै भुइँचिल रमाउने गर्छन् । यो पनि बच्चा हुर्काएर गुँडबाट उडाएपछि हिउँदमा नेपाल घुम्न आउने चरामध्येमा पर्छ । बरालले थप्नुभयो, “पहिले पहिले तराईका घाँसे मैदान र किसानका खेतबारी आसपास निकै देखिन्थ्यो, अचेल निकै कम आउन थालेका छन् ।” किसानको साथी बनेर यसले खेतबारीका मुसा, छेपारा र दुलोमा बस्ने जीवलाई खाएर बाली जोगाउन सघाउने गर्छ ।

गरुड प्रजातिमध्ये कालो गरुडको जोडी पनि हिउँदमा आउने सुन्दर चरामा गनिन्छ । बराल सुनाउनुहुन्छ, “कालो पनि के राम्रो भन्लान् तर कालो शरीरमा चम्किने रातो ठुँड र रातै खुट्टाले अरू चराभन्दा सुन्दरतामा कुनै कमी देखिन्न ।”

करिब तीन किलो तौलको ठुलो शरीर बोकेर चीनको माथिल्लो भूगोल, किर्गिस्तान, काजकिस्तान, पूर्वी युरोप, मङ्गोलिया र रुसको दक्षिणी भेगबाट चार हजार किलोमिटरभन्दा बढीको दुरी पार गरेर कालो गरुड नेपाल आइपुगेका हुन् । हिमालदेखि तराईसम्मका नेपालका सिमसार क्षेत्र बर्दिया, चितवन, शुक्लाफाँटा, कोशीटप्पु आदिमा कालो गरुडका जोडी माया साटिरहेका छन् । यसले १२ घण्टासम्म आकाशमा लगातार उडेपछि बास बस्दै बस्दै करिब महिनासम्मको यात्रा तय गर्छ ।

माया साट्न आउने अरू सुन्दर जोडीमा हाँसका समूह पनि पर्छन् । फुर्के हाँस र मणि तुण्डक हाँस सबैभन्दा सुन्दर मानिन्छ । फुर्के हाँस साइबेरिया र जापानका उत्तरी भेगबाट नेपाल आइपुगेका छन् ।

बरालका अनुसार मणि तुण्डक हाँसको गाढा टल्कने हरियो टाउको र सेतो कालो शरीरसँगै रातो ठुँड र खुट्टाको सुन्दरताले कहिलेकाहीँ डाँफे चराकै झल्को मेटाउने गर्छ । यो चरा पनि बचेरा हुर्काइसकेर रुस र त्यसभन्दा परदेखि नेपाल घुम्न आउने गर्छन् । फुर्के हाँस शाकाहारी हुन्छ भने मणि तुण्डक हाँस मांसाहारी हुन्छन् । फुर्के हाँस चितवन, कोशी, जगदीशपुर ताल र फेवाताललगायतमा आइसकेको चराविद् टीकाराम गिरीले बताउनुभयो । मणि तुण्डक हाँस भने ताजा पानी बग्ने नदी आसपास चखेवाका जोडी सँगसँगै रमाउने गर्छन् । गिरीका अनुसार हिउँदमासमा आउनेजति चरा लगभग नेपाल आइसकेका छन् । अर्को महिना यसरी आएका चराको गणना गरिँदै छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button