मूल खबरहेड लाइन

केन्द्रीय कार्यसम्पादन समिति बैठक

कांग्रेस महाधिवेशन वैशाखमा

अशोक अधिकारी

ललितपुर, पुस १९ गते । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि २०८३ जेठ मसान्तसम्म थप्दै पन्ध्रौँ महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको सबै तह र निकायका पदाधिकारी तथा सदस्यको पदावधि थप्ने निर्णय बहुमतबाट पारित भएको हो । कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मङ्सिरमा सम्पन्न भएको थियो ।

कार्यवाहक सभापति खड्काले २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औँ महाधिवेशन काठमाडौँमा हुने गरी गर्नुभएको कार्यतालिका संशोधन प्रस्तावसमेत बहुमतबाटै पारित भएको छ । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार गाउँ–नगर वडा अधिवेशन २०८२ चैत २१ गते, गाउँ–नगरपालिका अधिवेशन चैत २५ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन चैत २८ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०८३ वैशाख २ गते गर्ने निर्णय भएको छ ।

उहाँले दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन वैशाख ५ गते, प्रदेश अधिवेशन वैशाख १०, ११ र १२ गते र केन्द्रीय महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय भएको बताउनुभयो । मङ्सिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले पुसभित्रै नियमित महाधिवेशन गर्ने निर्णय गरेर कार्यतालिका प्रस्तुत गरिसकेकाले विशेष महाधिवेशनको औचित्य सकिएको प्रवक्ता महतले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अब नियमित रूपमै १५ औँ महाधिवेशनमा प्रवेश गरिसकेका छौँ तर नियमित महाधिवेशन निर्धारित समयमा सम्भव नभएकाले मात्रै क्रियाशील सदस्यता वितरण र केन्द्रमा पठाउने मिति पनि थप्नु प¥यो । त्यस कारण कार्यतालिका संशोधन गर्नु परेको हो । १५औँ महाधिवेशनको प्रक्रिया जारी नै छ । समयसीमा मात्रै परिस्थितिवश लम्ब्याउनु प¥यो ।”

‘विशेष महाधिवेशन हुन्छ’

महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसम्पादन समितिले पदावधि थप्ने निर्णय र महाधिवेशन वैशाखमा सार्ने निर्णय गरे पनि पुसभित्र विशेष महाधिवेशन हुने प्रस्ट पार्नुभयो । उहाँले पदावधि थप्ने र महाधिवेशनको कार्यतालिका संशोधनमा मात्रै विधान लागु हुने अनि आफूलाई मन नपरेको कुरामा विधान लागु नहुने भन्ने कुरा नेपाली कांग्रेसमा नपाइने बताउनुभयो ।

उहाँले विधानको धारा १७ (२) ले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था अनुसार प्रक्रिया अघि बढ्ने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “बोलाउन मन लागे बोलाउन पाउने, बोलाउन मन नलागे बोलाउन पाउने छैन भन्दैन । यहाँ कुनै दायाँबायाँ केही पनि छैन । कसैको छनोटको कुरा होइन । त्यसैले पुस २८ र २९ गते विधानको यही धारा प्रयोग गरेर महाधिवेशन प्रतिनिधिले बुझाएको निवेदनको अन्तिम समय हो ।”

महामन्त्री थापाले ९० दिनको अवधिमा विशेष अवस्थामा मात्रै विशेष महाधिवेशन स्थगित गर्न पाउने र केन्द्रीय कार्यसमितिको बैठकले पुस मसान्तभित्रै आवधिक महाधिवेशन गर्ने निर्णय गरेपछि विशेष महाधिवेशनको कुरा नउठेको पनि प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “९० दिनभित्रै नियमित महाधिवेशन गरेमा स्वतः विशेष महाधिवेशनको प्रस्ताव निष्क्रिय भएको मानिदिए हुन्छ । त्योबेलामा विधान र व्यवहारले पनि यो प्रस्ताव मान्नु परेन तर नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हक हो, अधिकार हो ।”

महामन्त्री थापाले पदावधि थप्ने तर विशेष महाधिवेशन नगर्ने प्रस्तावमा फरक मत राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “फरक मत राखेको मात्रै होइन, अझै केही दिन समय छ । सभापति, कार्यवाहक सभापति र पार्टीका जिम्मेवार नेताहरू, जसले पार्टीको विधान पालना गर्नु पर्छ । विधानको यो अधिकारलाई उल्लङ्घन गर्न पाइँदैन । केन्द्रीय कार्यसमिति बैठक राखेर विधानको व्यवस्था अनुसार विशेष महाधिवेशन आह्वान गर्दा कांग्रेस पार्टीका लागि सर्वोत्तम कुरा त्यही नै हुन्छ । हामी पनि त्यही चाहन्छौँ । हामी अनुरोध पनि गर्छौं ।”

‘तर पार्टी फुट्दैन’

महामन्त्री थापाले केन्द्रीय नेतृत्वले विशेष महाधिवेशनको व्यवस्था पालना गर्नुपर्ने र केन्द्रीय कार्यसमितिले निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय भएन भने केन्द्रले विधानले दिएको अधिकार प्रयोग गरेर विशेष महाधिवेशन गर्छ । केन्द्र भनेको केन्द्रीय कार्यालय हो, केन्द्रीय कार्यालय महामन्त्रीको मातहत हुन्छ । यो पुस मसान्तसम्ममा कांग्रेसको विशेष महाधिवेशन आयोजना हुन्छ । विशेष महाधिवेशनले केही ऐतिहासिक निर्णय गर्छ ।”

प्रवक्ता महतले पुसमै नियमित महाधिवेशन सम्भव नभएपछि कार्यतालिका संशोधन गरिएको बताउनुभयो । उहाँले कार्यतालिका अनुसार क्रियाशील सदस्यता टुङ्गो नलागी अधिवेशन सुरु नहुने बताउनुभयो । उहाँले विशेष महाधिवेशनले पार्टीलाई अप्ठ्यारो पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अरू विविध प्राविधिक कारणले पनि क्रियाशील सदस्यता टुङ्गो लाग्न सकेन । यो अवस्था पुसमा प्रस्तावित महाधिवेशन गर्न सम्भव नभएकाले संशोधित कार्यतालिका पारित गरेको हो ।” महामन्त्री थापाले भन्नुभयो, “भदौ २३ र २४ गते अघि र पछिको नेपाल एउटै हो भनेर ठान्ने सोचले पार्टीलाई थप अप्ठ्यारोमा पा¥यो तर जस्तोसुकै अवस्था आओस्, जस्तोसुकै विषम परिस्थिति होस्, नेपाली कांग्रेस पार्टी फुट्दैन । फुटाउन दिँदैनौँ ।” महामन्त्री थापाले केन्द्रीय कार्यसमितिको बैठकबाटै निर्णय भएर विशेष महाधिवेशनको कार्यविधि बन्ने र त्यसरी निर्णय नभए विशेष महाधिवेशन आयोजक समितिले नै कार्यविधि बनाउने बताउनुभयो ।

‘निर्वाचनमा केन्द्रित हुनु पर्छ’

कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी कार्य सम्पन्न गरी क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यसमितिमा निर्धारित कार्यतालिकाको समयभित्रै पेस गर्नुपर्नेमा हालसम्म पनि पेस नभएको जानकारी दिएको छ । साथै बैठकले फागुन २१ गतेको निर्वाचनमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले नयाँ क्रियाशील सदस्य वितरण माघ ३ गते सुरु भई सबै प्रक्रिया पूरा गरेर फागुन १० गते निर्वाचन समितिलाई बुझाउने, जनसम्पर्क समितिको अधिवेशन माघ २९ गतेभित्र गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसअघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बिहीबार वक्तव्य जारी गरी नियमित महाधिवेशन स्थगित भएको र विशेष महाधिवेशनको प्रक्रिया आरम्भ भएको जानकारी दिनुभएको थियो ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button