
चाँदनी हमाल
काठमाडौँ, पुस २२ गते । नेपालका विभिन्न भेगमा सोमबार यस वर्ष जाडो सुरु भएयताकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । न्यूनतम तापक्रममा गिरावट आएसँगै देशभर चिसो महसुस गरिएको छ । योसँगै चिसोजन्य स्वास्थ्य समस्या पनि बढेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।
सोमबार जुम्लामा सबैभन्दा कम माइनस ६.३ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ । आइतबार पनि त्यहाँको न्यूनतम तापक्रम सोही मात्रामा रहेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार जनवरी ५ मा हालसम्मको सरदर न्यूनतम तापक्रम ४.९ डिग्री सेन्टिग्रेड रहेको छ । त्यस्तै जोमसोममा माइनस ४.२, जिरीमा माइनस १.१ न्यूनतम तापक्रम रेकर्ड भएको छ ।
काठमाडौँलगायत पहाडी भेगहरूको न्यूनतम तापक्रममा अत्यधिक गिरावट आएको छ । शनिबार ४.७ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रहेको काठमाडौँमा आइतबार ४ डिग्री हुँदै सोमबार ३.५ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ । मौसमविद् डेबिड ढकालले भन्नुभयो, “यो यस दिनमा हुनुपर्ने सरदरभन्दा कम त हैन तर हालसम्मको कम तापक्रम भने हो ।” काठमाडौँमा यस दिनमा सरदर तापक्रम २.२ डिग्री मानिँदै आएको छ । त्यसै गरी डडेलधुरामा सोमबार २.१, दिपायलमा ४.४ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईको तुलनामा पश्चिम तराईमा चिसो अत्यधिक बढेको छ । सबैभन्दा बढी भैरहवामा उच्च दरमा न्यूनतम तापक्रम घटेर ७.४ डिग्री सेन्टिग्रेड पुगेको छ । त्यहाँ आइतबार ११.४ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम थियो । त्यस्तै नेपालगन्ज र घोराहीमा ६.८, धनगढीमा ६.२ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम कायम भएको छ ।
पश्चिमको तुलनामा पूर्वी तराईको न्यूनतम तापक्रम भने आइतबारको तुलनामा बढेको महाशाखाले औँल्याएको छ । आइतबार १२ डिग्री रहेको विराटनगरमा सोमबार बढेर १३.१ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम पुगेको छ । त्यस्तै झापाको चन्द्रगढीमा आइतबार १३ डिग्री सेन्टिग्रेडबाट १३.३ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम पुगेको छ । जनकपुर र सिमरामा भने यथावत्कै हाराहारीमा तापक्रम रहेको छ । चिसो बढेसँगै तराईमा हुने हुस्सु र कुहिरोमा पनि चिसोको मात्र बढेर थप कष्टकर हुने भएकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ।
यसैबिच चिसो बढ्दै जाँदा आमनागरिकमा स्वास्थ्य समस्या बढेकाले सतर्कता अपनाउन सरकारका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । विशेष गरी दीर्घरोगी, मुटु तथा दमरोगीका साथै गर्भवती, सुत्केरी महिला, वृद्धवृद्धा, साना बालबालिकालाई चिसोबाट जोगाउन भनिएको छ । घरभित्रै न्यानो राख्ने तथा विद्यालय पठाउँदा न्यानो कपडा र खानाको व्यवस्था गर्न भनिएको छ ।
कामकाजी व्यक्तिहरूले पनि चिसो हटाउने उपायहरू अपनाउँदै प्रशस्त तातो झोलिलो पदार्थको सेवन गरेर काम गर्न स्वास्थ्य मन्त्रालयले सुझाएको छ । वर्षा नहुँदा काठमाडौँलगायतका स्थानमा चिसोसँगै वायु प्रदूषण उच्च रहेकाले मास्क लगाएर मात्र यात्रा गर्न पनि मन्त्रालयले भनेको छ । चिसो र वायु प्रदूषणका कारण श्वासप्रश्वास तथा घाँटीको रोगमा असर गर्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।



