कृषि र किसानखबर

अनुदान पाएका कृषि फार्म अलपत्र

छायानाथ रारा नगरपालिका–१ मा अलपत्र परेको कृषि फार्म । तस्बिर : हरिकृष्ण ऐडी

मुगु, माघ ७ गते । मुगुमा अनुदान पाएका दर्जनभन्दा बढी कृषि फार्महरू अलपत्र परेका छन् । प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगमा कृषि विकास कार्यालय मुगु र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालय मुगुको सहजीकरणमा अनुदान पाएका फार्महरू यतिबेला अलपत्र छन् । मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादन गर्ने भनी अनुदान पाएका ती कृषि फार्म एक वर्षमै अलपत्र परेका हुन् ।

जिल्लाको खत्याड गाउँपालिका, मुगुमकार्मारोङ गाउँपालिका, सोरु गाउँपालिका र छायानाथ रारा नगरपालिकामा आर्थिक वर्ष २०७७÷७८ देखि आव २०८१÷०८२ सालसम्मका अनुदान पाएका तरकारी खेती फार्म, नर्सरी, बिउ बैङ्क, तरकारी सङ्कलन केन्द्र, स्याउखेती, बाख्रापालन र सेलार स्टोरका दर्जनौँ फर्म अहिले अलपत्र अवस्थामा भएको कृषि विकास कार्यालय मुगुले जनाएको छ । कृषि विकास कार्यालय मुगुका अधिकृत गणेश अधिकारीका अनुसार जिल्लामा अनुदान पाएका दर्जनौँ कृषि फार्म बाढीपहिरो र किसानले उत्पादनमा निरन्तरता नदिँदा अहिले अलपत्र अवस्थामा परेका हुन् । छायानाथ रारा नगरपालिका–५ का किसान कुसलाल कार्कीले जिल्लामा दर्जनभन्दा बढी अनुदान पाएका तरकारी फार्म अहिले झारपात र सिस्नोले भरिएको बताउनुभयो ।

“सेलार स्टोरका भवन छन् तर त्यो भवन मान्छे बस्न प्रयोगमा आएको छ,” कार्कीले भन्नुभयो, “राज्यले नक्कली किसानलाई अनुदान दिँदा यस्तो अवस्था सिर्जना भएको हो ।” पहुँचको भरमा ल्याएका अनुदानको दुरुपयोग गर्ने फर्मलाई राज्यले असुल उपर गर्नुपर्ने उहाँको धारणा छ ।

जिल्ला नागरिक समाजका अगुवा रूपबहादुर मल्लका अनुसार जिल्ला कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यव्रmम कार्यान्वयन एकाइ कार्यालयहरू कृषिमैत्री हुन नसक्दा अनुदान दुरुपयोग भएको छ । उहाँले जिल्लामा कृषिसम्बन्धी काम गर्ने यी कार्यालयले अनुदानका कार्यव्रmम मात्र कृषकसँग गरेको देखिएको बताउनुभयो । विगतका वर्षदेखि किसानलाई अनुदान दिएका कार्यव्रmमबारे कार्यालयहरुले कुनै पनि अनुगमन तथा मूल्याङ्कन नगरेको उहाँको भनाइ छ ।

अनुदान पाएका फर्मले बेरोजगारी कम गराउन पनि नसकेको छायानाथ रारा नगरपालिका–६ का कृषक सर्पेबहादुर बोहोराले बताउनुभयो । उहाँले वास्तविक किसानलाई अनुदान नदिई नक्कली किसानलाई दिँदा अनुदान दुरुपयोग भएको धारणा राख्नुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button