मूल खबर

उम्मेदवारी फिर्ता लिनेमा पूर्वप्रधानमन्त्रीदेखि पिआरधारीसम्म

सूर्यप्रसाद पाण्डे

काठमाडौँ, माघ १० गते । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये ८१ जनाले फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि मुलुकभरबाट तीन हजार ४८७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी फिर्ता लिनेमा पूर्वप्रधानमन्त्रीदेखि विदेशमा स्थायी आवास अनुमति (पिआर) लिएका व्यक्तिसमेत छन् ।

फिर्ता लिनेमध्ये केहीले उम्मेदवारी दिँदा कानुनी ज्ञान नभएको र पछि ज्ञान प्राप्त गरेपछि फिर्ता लिएको बताएका छन् । कतिपयले भने निर्वाचनमा प्रतिस्पर्धा गर्न हाल इच्छा नभएकाले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराई यस्तै पात्रमध्येमा पर्नुहुन्छ । एउटा दलको मात्रै सांसद बनेर बस्दा भूमिका सङ्कुचित हुने भएकाले उम्मेदवारी फिर्ता लिएको भट्टराईले बताउनुभयो । उहाँले गोरखा क्षेत्र नं. २ मा उम्मेदवारी दिनुभएको थियो ।

उम्मेदवारी फिर्ताका लागि आयोगले शुक्रबार दिउँसो १ बजेसम्मको समय तोकेको थियो । त्यस्तै रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका कार्भिका थापाले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँ अमेरिकाको स्थायी आवास अनुमतिप्राप्त व्यक्ति हुनुहुन्छ । पञ्चायतकालीन गृहमन्त्री निरञ्जन थापाकी छोरी कार्भिकाले अध्ययन क्रममा १४ वर्ष अमेरिकामा बिताउनुभएको थियो । पछिल्लो आठ वर्षदेखि भने आफू नेपालमै रहेको उहाँले बताउनुभयो । तर नेपाल बसे पनि उहाँले अमेरिकाको स्थायी आवास अनुमति भने हालसम्म त्याग्नुभएको छैन ।

नेपालको संविधानको धारा २९१ ले त्यस्तो अनुमतिपत्र त्याग गरेको कम्तीमा तीन महिना पुगेपछि मात्रै निर्वाचनमा उम्मेदवारी दिन पाइने व्यवस्था गरेको छ । आफूले अध्ययनको सिलसिलामा स्थायी आवास अनुमति लिएको उहाँ स्वयम्ले स्विकार्नुभएको छ । नेपालबाहेक अन्य कुनै पनि मुलुकको नागरिकता वा राहदानी भने नलिएको उहाँले दाबी गर्नुभएको छ ।

उम्मेदवारी दर्ता गरेपछि मात्रै स्थायी आवास अनुमतिपत्र त्यागे पनि हुन्छ भन्ने बुझाइमा आफू रहेको तर संवैधानिक व्यवस्था अर्कै रहेको जानकारी पाएपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उहाँले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

उम्मेदवारी फिर्ता गरेकामध्ये अधिकांशले निर्वाचन कार्यालयमा बुझाएको पत्रमा भने हाललाई उम्मेदवार हुन इच्छा नभएको उल्लेख गरेका छन् । कतिपयले भने व्यक्तिगत कारणले फिर्ता लिएको बताएको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभयो । उम्मेदवारी फिर्ता लिनेमा अधिकांश पुरुष छन् ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button