खबरहेड लाइन

फागुपूर्णिमा होली आज

यलु जोशी

काठमाडौँ, फागुन १८ गते ।

अबिरया होली तँ चाया ला ल्यासे

अबिरं छंगु ख्वाः हिसि दयका बिई

न्हापालिपा मछासां थौंला प्याखं हुला क्यों…

(अबिरको होली रिसाएको हो कि, अबिरले तिम्रो अनुहार राम्रो बनाइदिन्छु, पहिले लाज माने पनि आज नाचिदेउ)

हरेक होलीमा युवापुस्तादेखि पाखा उमेर समूहमा यो गीत निकै लोकप्रिय हुन्छ । सन् १९८६ मा प्रदर्शन भएको नेपाल भाषाको चलचित्र ‘सिलु’ को यो गीत अहिलेसम्म पनि होलीमा सबभन्दा बढी गुन्जिने गीतमध्ये एक हो । होली गीतमा युवकयुवती खुलेर हाँस्ने र रङ छ्यापाछ्याप गरेर मन साट्ने हुँदा यो पर्व बिग्रिएको सम्बन्ध सुधार्ने अवसर पनि हो ।

कुनै बेला होलीको लोकभाका गाउँदै आफूलाई मन परेको मान्छेसामु गीतमार्फत आफ्ना भावना व्यक्त गर्थे । महिला पुरुष सबैका लागि प्रेम अभिव्यक्त गर्ने अवसर हुन्थ्यो फागु । प्रविधिको विकास तथा पश्चिमी संस्कृतिका कारण अहिलेका युवापुस्ताले चाडपर्व भनेको रमाइलो गर्ने माध्यमका रूपमा मात्र लिन थालेको संस्कृतविद् गणेशराम लाछि बताउनुहुन्छ । उहाँले भन्नुभयो, “टोल टोलमा गीत गाउँदै फागु खेल्दै हिँड्थे युवकयुवती । पुरुषहरू एकआपसमा अबिर छर्दै गीत गाउँदै हिँड्थे । महिला टोली पुरुषको स्वरमा स्वर मिलाउँथे । झन्डै तीन दशकअघिसम्मको प्रचलन अब त कथा जस्तै भएको उहाँको गुनासो छ ।”

एकआपसमा रङ खेलेर, अबिर छरेर फागु मनाउँदै गर्दा त्यहाँ विविध रङ देखिन्छ लाछिले थप्नुभयो, “ती रङमा सङ्गीतले प्राण भरेको हुन्छ । आत्मीयता साटासाट गर्ने पर्वका रूपमा रहेको फागु कालान्तरमा प्रेमगीतले जीवन्त बनाएको छ । उहाँले विस्तारै फागु ‘होली’ बनेको जानकारी दिँदै गीत/सङ्गीतमा समेत होली शब्दले व्यापकता पाएको बताउनुहुन्छ ।

प्रेम दिवस

नेपालमा मनाइने प्रेम दिवस फागुन महिनामा पर्ने फागुपूर्णिमालाई मानिने संस्कृतविद् ओम धौभडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ‘झ्याले दंक तुकङ मा वहे ल्यासे जिता मा…’ नेवार समुदायका युवाले यो बोलको गीत होलीको दिनमा गाउने गर्छन् । सो गीतमा झ्यालमा सागको माला सजाएर बस्ने युवतीलाई साथी बनाउँछु भन्ने भावना समेटिएको छ ।

परम्परा अनुसार होली सुरु हुनुभन्दा दुई/तीन हप्ताअघिबाट नेवारको घर घरका झ्यालमा होलीको आगमनको सङ्केत गर्न सागका माला झुन्ड्याउने गरिन्छ, धौभडेल भन्नुहुन्छ, “मूलतः तरुणी र हुर्केकी चेली, जो असल पुरुष साथीको खोजीमा रहेका हुन्छन् उनैले यसरी मालाले घर सजाउने गर्दथे । होली खेल्न टोल टोलमा पुग्ने टोलीले विपरीत लिङ्गीसँग सम्बन्ध अघि बढाउने परम्परागत लोकगीत गाउने गर्छन् । नेवार युवाले होलीलाई पिरती गाँस्ने पर्वका रूपमा लिने गरेका छन् । यो दिन युवकयुवती अबिर, रङसहित होली खेलेर माया साटासाट गर्ने गर्छन् ।

सांस्कृतिक पक्षले के के गर्छ त होलीमा

हिरण्यकश्यपुले विष्णुभक्त प्रह्लादलाई मार्न अह्राएपछि होलिकाले प्रह्लादलाई काखमा राखेर आगोमा होमेकी थिइन् तर आगोले असर नपर्ने भनिएको होलिका मरेको, प्रह्लाद भने जीवित रहेको पौराणिक कथन यो पर्वसँग जोडिएको छ । काठमाडौँको धलासिक्वका मानन्धर समूहले परम्परा अनुसार नागार्जुन वनबाट ल्याइएको हरियो बाँसमा रङ्गीबिरङ्गी ध्वजासहित वसन्तपुर गद्दी बैठकको दक्षिण पटाङ्गिनीमा एक साताअघि फागुपर्वको चीर ठड्याइन्छ ।

यसै गरी हनुमानढोका दरबारस्थित नासलचोक, मोहनकाली चोक लुँह चोक र दाखः चोकमा पनि मयलका ससाना हाँगामा ध्वजा फहराएर चीर गाडिन्छ । यसै गरी गुरुमापा नामका राक्षसका लागि टुँडिखेलमा मध्यरात एक मुरी भात र एउटा सिङ्गो राँगोको भतेर लगाइने प्रचलन पनि छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button