
सीता शर्मा
काठमाडौँ, फागुन २६ गते । वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को माघसम्म छ हजार ८५० वटा उजुरी दर्ता भएका छन् । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन ।
विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी उजुरी मुद्दा र अनुसन्धान शाखामा परेका छन् । ती दुई हजार ९८७ वटा रहेको जनाइएको छ । यस अवधिमा दर्ता भएका उजुरीमध्ये २९५ वटा मिलापत्र र १९६ वटा अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ।
सो अवधिमा मिलापत्र गराउँदा पीडकबाट पीडितलाई क्षतिपूर्तिबापत १२ करोड १८ लाख ५३ हजार ५०४ रुपियाँ भराइएको विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यस शाखामा सो अवधिमा परेका उजुरीमध्ये चार हजार ९३७ वटा उजुरी छानबिन भइरहेको छ ।
विभागका अनुसार सो अवधिमा विभागका रहेको प्रहरी शाखा तीन हजार ९८६ उजुरी दर्ता भएका छन् । जसमध्ये दुई हजार ७७५ वटा उजुरी फस्र्योट भए भने ४२१ वटा उजुरी फस्र्योट हुन बाँकी रहेको जनाइएको छ । जसबाट चार लाख चार हजार पाँच सय रुपियाँ बराबरको रकम क्षतिपूर्तिबापत भराएको विभागले जनाएको छ ।
त्यसै गरी सो अवधिमा विभागमा उद्धार, राहत तथा समन्वय शाखामा ६६७ उजुरी परेकोमा ३७६ वटा उजुरीको फस्र्योट गरिएको छ । जसमा २३७ वटा उजुरीबाट चार करोड चार लाख ८४ हजार ६५० रुपियाँ बराबरको रकम क्षतिपूर्ति भराएको छ । सो शाखाले सो अवधिमा आएका उजुरीमध्ये ३७६ जनालाई आपसी सहमति गराएको छ । सो शाखाले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका १५९ जनालाई विभिन्न देशबाट उद्धार गरेको छ ।
विभागका उपमहानिर्देशक शिवाकोटीले वैदेशिक रोजगारीका क्रममा परेका उजुरीमध्ये ठुलो सङ्ख्याका व्यक्तिगत भएकाले ती उजुरी टुङ्गो लगाउन समय लाग्ने बताउनुभयो । संस्थागत उजुरीको हकमा कारबाही गर्न पनि सहज हुने तर व्यक्तिगत उजुरीका दोषी पत्ता लगाउनै नै समय लाग्ने गरेकाले विभागमा व्यक्तिगत उजुरीको चाङ रहेको उहाँको भनाइ छ । विभागमा मध्यपूर्वका देश खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानडा, पोर्चुगाल, पोल्यान्ड जस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठुलो छ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको छ ।
विभागका अनुसार गत आव २०८१/८२ मा १२ हजार ७९० र अघिल्लो आव २०८०/८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका थिए । यस्तै आव २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका तीन हजार ३५६ उजुरी परेका थिए । आव २०७९/८० यता वैदेशिक रोजगारीका क्रममा हुने ठगीको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो पटक उजुरी दर्ता गर्ने दर बढेको स्पष्ट देखिन्छ ।
विभागका अनुसार गएको आव २०८१/८२ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने आठ लाख ३९ हजार जना थिए । चालु आव २०८२/८३ को माघसम्म चार लाख ६५ हजार ५०७ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
उपमहानिर्देशक शिवाकोटीले विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने, विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवा धेरै भएको जानकारी गराउनुभयो ।
वैदेशिक रोजगारीका क्रममा ठगीमा परेर भनेर आउने उजुरी सबैभन्दा बढी व्यक्तिगततर्फका रहेको र रकम पनि व्यक्तिगतकै बढी हुने गरेको पाइन्छ । व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठुलो परिमाणको हुने गरेको उहाँको भनाइ छ ।आजको गोरखापत्र दैनिकमा खबर छ ।



