विचारहेड लाइन

सभ्यतामा आधारित पर्यटन

कला र साहित्य समाज चिनाउने रोचक विषय हो । साहित्यमार्फत समाज, संस्कृति, इतिहास र पहिचानका विषयवस्तुलाई उजागर गर्छ । कला र साहित्य समाज चिनाउने महत्वपूर्ण आधार पनि हुन् । कला र साहित्यले पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउँछन् । कर्णाली खस राज्यको साक्षात् धरोहर हो । यहाँको कला जीवन्त र पुरातात्त्विक छ । परापूर्वकालदेखि नै यहाँको कला र साहित्य प्रखर छ तर प्रचारप्रसारबिना गौण छ । पशुपतिनाथ सहरमा बस्छन्, विकसित ठाउँमा छन्, प्रचारप्रसार छ, त्यसैले प्रख्यात छन् । खार्पुनाथ हुम्लामा बस्छन् । टाढाको गाउँमा छन्, आम्दानी कम छ, प्रचारप्रसार छैन । त्यसैले गौण छन् । आखिर तिनै नाथ त हुन्, बराबरी मान मर्यादाका ।

कर्णालीको खस भाषा नै नेपाली भाषा हो तर यसको प्रचारप्रसार छैन । बोल्ने समुदाय फराकिलो छैन । भाषाको उत्पत्ति भएको ठाउँ पनि विकसित छैन । त्यसैले खस भाषा गरिब र लोपोन्मुख छ । खस भाषा नै नेपाली भाषा हो भनेर सबैले स्वीकारे पनि आज हामी अपभ्रंश नेपाली भाषा बोल्दै छौँ र लेख्दै छौँ । अङ्ग्रेजी भाषाको उद्गमस्थल विकसित छ । अङ्ग्रेजी बोल्ने मानिस धनी छन् । अङ्गे्रजी भाषा बोल्ने भूगोल विकसित छ । त्यसैले यो भाषा पनि धनी छ र अन्तर्राट्रिय भाषाका रूपमा चर्चा पाएको छ । अहिले सिङ्गो विश्वलाई नै अङ्ग्रेजी बोल्न बाध्यता छ ।

खस राज्यको स्थापना

कर्णालीको खस राज्य नेपालको इतिहासमा निकै प्रख्यात र महत्वपूर्ण छ । खस समुदाय प्राचीनकालदेखि हिमालयको पश्चिमी क्षेत्रमा (हालको कर्णाली, सुदूरपश्चिम, भारतको उत्तराखण्ड र पश्चिम तिब्बतको आसपास) बसोबास गर्थे । ११ औँ शताब्दीतिर ‘नागराज’ नामका शासकले कर्णाली क्षेत्रमा रहेको पाल वंशलाई पराजित गरी सिँजा उपत्यकालाई राजधानी बनाएर खस राज्यको स्थापना गरेका थिए । इतिहासकारका अनुसार नागराज पश्चिम तिब्बतका गुगे राज्यका राजकुमार थिए भन्ने भनाइ छ तर कसैले उनी त्यहीँको स्थानीय खस शासक नै थिए भन्ने ठोकुवा गर्छन् । यो कुरामा केही मतभेद भए पनि खस राज्यको पहिलो राजा नागराज नै हुन् ।

खस राज्यको राजधानी सिँजा हो । खस भाषाको (नेपाली भाषा) उत्पत्ति यहीँबाट भएको हो । त्यसैले पनि यहाँको इतिहासको गाथा ओझिलो छ । यहाँ शिलालेख र अभिलेख नेपालको मध्यकालीन इतिहासका महìवपूर्ण प्रमाण हुन् । यिनले खस राज्यको गौरवको गाथा गाउँछन् । नागराज, क्राचल्लदेव, अशोक चल्ल, बलिराजा, धुलराजा जस्ता महान् व्यक्तित्वको बयान छ । संरक्षणको अभावमा कालान्तरमा यस्ता दस्ताबेज मासिँदै गए । ठुलठुला शिला जसलाई कसैले उठाउन र हिँडाउन सक्दैन अहिले ती मात्रै बाँकी छन्, जसमा खस राज्यको इतिहास कोरिएको छ ।

मध्यकालीन राज्यमध्येको सबैभन्दा शक्तिशाली राज्य ‘खस राज्य’ हो । यसको प्रभाव पूर्वमा गोरखा, पश्चिममा भारतको गढवाल र लद्दाख, उत्तरमा तिब्बतको गुगे क्षेत्रसम्म फैलिएको थियो । खस राज्यलाई राजा क्राचल्लदेवले शक्तिशाली बनाएका थिए । राजा अशोक चल्लले यो राज्यको विस्तार गरी तिब्बत र भारतका गढवाल र लद्दाखसम्म प्रभाव स्थापित गरेका थिए । १४ औँ शताब्दीको अन्त्यतिर उत्तराधिकारी विवाद, प्रशासनिक कमजोरी, क्षेत्रीय शक्तिको उदयका कारण खस राज्य टुक्रिँदै गयो । पछि गएर बाइसे चौबिसे राज्यमा विभाजित भयो । टुक्रिँदै गएपछि खस राज्य कमजोर भयो । राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा सबै राज्य गाभिए ।

देउसीको परम्परा

यही खस राज्यको कला, संस्कृति र वेशभूषाका माध्यमबाट कर्णालीको पर्यटनलाई प्रवर्धन गर्न सकिन्छ । खस राज्यको कला, संस्कृति, वेशभूषा र जीवनशैली नेपालको मौलिक सभ्यतामध्ये एक मानिन्छ । यसको केन्द्र जुम्ला, कालीकोट, मुगु, हुम्ला, डोल्पा र दैलेख जिल्ला र आसपासको कर्णालीको क्षेत्रलाई मानिन्छ । कर्णालीका लोकगीत, मौलिक नृत्य र काष्ठकला पर्यटकका लागि मुख्य आकर्षण हुन् । यस्ता अमूल्य सम्पदाले देशको पर्यापर्यटन अर्थतन्त्रमा ठुलो योगदान दिन्छन् । त्यसबेलाको कला निकै लोभलाग्दो थियो । न कुनै इन्जिनियरिङ, न कुनै डिजाइनर, बिनानमुना कला उतारिएको पाइन्छ । ढुङ्गा र काठमा उत्कृष्ट नक्कासी खिचिएको पाइन्छ । मन्दिर, दरबार र देवस्थल कलाले भरिएको पाइन्छन् । यसको एउटा ज्वलन्त उदाहरण सुर्खेतको काकडी विहार हो । यसलाई चौधौँ शताब्दीमा अशोक चल्लद्वारा निर्माण गरिएको भनाइ छ । तामा, काँस र फलामका भाँडा तथा औजार बनाउने सिप निकै राम्रो र प्रखर भएको भेटिन्छ । त्यसताका यहाँको लोकगीत, लोकनृत्य र लोकवाद्यलाई विशेष महत्व दिइएको पाइन्छ । अझै पनि यो कायमै छ ।

यहाँको खस राज्यमा हिन्दु र बौद्ध परम्पराको मिश्रित प्रभाव भेटिन्छ । कुलदेवता, मस्टोदेवता, दसैँ र तिहारलगायतका पर्व त्यतिबेलादेखि नै मनाउँदै आएको पाइन्छ । देउसी खेल्ने परम्परा खस राजामध्येका राजा बलिराजाले चलाएको इतिहास छ । राज्यको ढुकुटी नास हुँदै गयो । पैसा अभावका कारण राज्य सञ्चालन गर्न गाह्रो भयो । त्यसपछि बलिराजाले गाउँबस्तीमा आनापैसा माग्न पठाए । माग्न जाँदा ‘देऊ’ भन्नु पथ्र्याे । देऊ भन्दै जाँदा देउसीको परम्परा चलेको इतिहास छ । अहिले पनि ‘हामी त्यसै आएनौँ बलिराजाले पठाए’ भन्दै देउसी खेल्ने चलन कायमै छ ।

त्यतिबेलाको खस राज्यमा प्रकृति, नदी, वन र हिमालप्रति श्रद्धा राख्ने र यसको संरक्षण गर्नु पर्छ भन्ने मान्यता व्याप्त थियो । इतिहासका अनुसार सामुदायिक अर्मपर्म र आपसी सहयोगको संस्कृति बलियो थियो । पाहुनालाई सम्मानपूर्वक सत्कार गर्ने परम्परा थियो । त्यो परम्परा अहिलेसम्म पनि कायमै छ । अतिथि देवो भवःको भावनाले विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षित गर्छ । आफू खाइनखाई पाहुनाका लागि भनेर जोहो गरी राख्ने परम्परा अहिले पनि कर्णालीमा छ ।

खस राज्यको वेशभूषा नितान्त आफ्नै खालको थियो । पुरुषहरू दौरासुरुवाल र भोटो लगाउँथे । समयकाल अनुसार बक्खु वा चोला पनि लगाउँथे । टाउकोमा पगडी बनाउने । उनीको बाक्लो टोपी, कम्मरमा पटुका बाँध्ने र पटुकामा खुकुरी सिउरिने चलन थियो । स्थानीय कारिगरले बनाएका घुँडासम्म आउने दोचा र पौला लगाइन्थ्यो । महिलाहरूले गुन्युचोली लगाउँथे । याम अनुसार उनीका पोसाक पनि लगाउँथे । चिसोमा जाँदा उनीका बाक्ला कपडा लगाउँथे । कम्मरमा पटुकी बाँध्ने चलन थियो । पटुकी उन र कपास दुवै थरीको हुन्थ्यो । हातले बुनेर तयार पारिएको उनी धागोको सल (काम्लो) ओढ्ने गर्थे । सुन, चाँदी र तामाका गहना लगाउने चलन थियो । बुलाकी, तिलहरी, चुरा, ताणिका, कर्णफूल, खगालो, चाँदीका माला आदि लगाउने चलन थियो । कर्णालीका गाउँतिर अहिले पनि यो चलन छ ।

उनताकाको खानपान त्यहाँको भूगोलको उब्जनीका आधारमा हुन्थ्यो । कृषि र पशुपालन मुख्य पेसा थियो । यहाँ प्रायः जौ, फापर, कोदो, गहुँ र धानको उत्पादन हुन्थ्यो । तिहुनमा सिमी, मास, गहत र भटमास जस्ता गेडागुडी फलाउँथे । पशुपालन गर्थे । घिउ, दही, दुध, मही खान्थे । औषधी र तिहुन तरकारीका रूपमा स्थानीय जडीबुटी खाने चलन पनि थियो । भेडाच्याङ्ग्राको सुकुटी, सिस्नो, गुन्द्रुक पनि खान्थे ।

याम अनुसार समुदाय अनुसारको मनोरञ्जन पनि गर्थे । मादल, दमाहा, नरसिंहा, बाँसुरी, हुड्को वाद्यवाधनका साधन थिए । चौँडाल, देउडा, झ्याउरे र अन्य स्थानीय लोकनृत्य पनि सामूहिक रूपमा गर्थे । विवाह, व्रतबन्ध, छैटी, न्वारान जस्ता शुभकार्यमा मागल गाउँथे । देउताको पूजाआजामा मागल गाउँथे । ढाल तरबार नाच (चौँडाल) गर्थे । देउसीभैलो र भुवाका गीतहरू अलग अलग हुन्थे । रसम अनुसारका छुट्टाछुट्टै मागल हुन्थे । गाउँको मुखिया र ज्येष्ठ व्यक्तिको भूमिका महìवपूर्ण हुन्थ्यो । त्यसबेलाको समाजमा इमानदारिता झल्किन्छ । खसहरू साहसी थिए भन्ने कुरा त्यतिबेलाको राज्य विस्तार गरिएको भूमिबाटै थाहा हुन्छ । धेरै परिश्रमी र पौरखी थिए । सामूहिक सहयोगलाई उच्च मूल्य दिइन्थ्यो ।

खस सभ्यताले आजको कर्णालीको भाषा, लोकसंस्कृति, सङ्गीत, वेशभूषा र सामाजिक जीवनमा गहिरो प्रभाव छोडेको छ । त्यसैले खस राज्यलाई नेपालको इतिहासमा राजनीतिक शक्ति मात्र नभई समृद्ध सांस्कृतिक सभ्यता पनि अविस्मरणीय छ ।

यी नै गर्विला पुरातात्त्विक प्रसङ्गलाई साहित्य लेखनमार्फत चर्चामा ल्याउन सकिन्छ । कुनै स्थानको प्राकृतिक सौन्दर्य, संस्कृति, इतिहास, परम्परा र जनजीवनलाई जीवन्त रूपमा चित्रण गर्न सकिन्छ । कथा, कविता, निबन्ध, यात्रा संस्मरण आदिमार्फत पर्यटकीय गन्तव्यको प्रचार गर्न सकिन्छ । समाजका मौलिक कला, भाषा र परम्परालाई विश्वसामु चिनाउन सकिन्छ । साहित्यमार्फत यो क्षेत्रको पहिचान र गौरवलाई उजागर गर्न सकिन्छ । पर्यटनप्रति सकारात्मक चेतना फैलाउन सकिन्छ । यसो गर्नाले पाठक वर्गमा त्यस स्थानप्रति जिज्ञासा र आकर्षण पैदा हुन्छ । यसबाट स्थानीय संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्धन गर्ने कुरामा टेवा पुग्छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button