मूल खबरहेड लाइन

मेचीनगरमा मानव कंकाल फेला, अपहरण तथा शरीर बन्धक मुद्दामा दुई जना पक्राउ

काँकरभिट्टा। झापाको मेचीनगर नगरपालिका–७ भान्साखोला (गैरीगाउँ) क्षेत्रमा उत्खननका क्रममा मानव कंकाल फेला परेको छ। अपहरण तथा शरीर बन्धकसम्बन्धी घटनाको अनुसन्धानका क्रममा प्रहरीले कंकाल बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ललितपुरको साविक मनिखेल, हाल महाङ्काल गाउँपालिका–१ स्थायी ठेगाना भएका दिलनाथ बजगाई २०८१ कात्तिक २९ गतेदेखि झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टाबाट बेपत्ता भएका थिए। उनकी श्रीमती तुलसा बुढा बजगाईले दिएको निवेदनका आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा बजगाईसँगै हिँड्ने राम भनिने गुप्तबहादुर सिंह शंकित देखिएपछि प्रहरीले उनीसँग सोधपुछ गरेको थियो। प्रहरीका अनुसार सिंहले देखाएको स्थानका आधारमा मेचीनगर–७ भान्साखोला (गैरीगाउँ)स्थित जयप्रसाद तिवारीको जग्गामा उनले सञ्चालन गरेको बंगुर फार्म क्षेत्रमा स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको रोहबरमा जेसीबी प्रयोग गरी उत्खनन गरिएको थियो।

उत्खननका क्रममा मानव आकृति देखिने कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बरामद कंकाललाई परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

प्रहरीका अनुसार फेला परेको कंकाल बेपत्ता दिलनाथ बजगाईकै हो वा होइन भन्ने अहिलेसम्म पुष्टि भइसकेको छैन। शव परीक्षणपछि नमुना परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया अघि बढाइएको छ। त्यसबाट कंकालको पहिचानबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

दुई जना पक्राउ

घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याग्दी घर भई हाल मेचीनगर नगरपालिका–१० बस्ने ४५ वर्षीय राम भनिने गुप्तबहादुर सिंह र भारतको अलीपुरद्वार, वीरपारा घर भई हाल मेचीनगर–८ बस्ने ४९ वर्षीय संजय लामा रहेका छन्।

प्रहरीले उनीहरूमाथि अनुसन्धान अघि बढाइरहेको जनाएको छ। घटनाको वास्तविकता, बेपत्ता दिलनाथ बजगाईको अवस्थासहित कंकालको पहिचान र घटनामा संलग्नताको विषयमा थप अनुसन्धान भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button