
बाढीबाट जोखिमयुक्त क्षेत्रमा नजान सर्वसाधारणलाई सचेत गराउँदै सुरक्षाकर्मी । तस्बिर : सुजन गुरुङ
इश्वरचन्द्र झा
विदुर (नुवाकोट), भदौ १३ गते । “माइकिङ गर्दागर्दै त्रिशूली र ढुङ्गेबजार जोड्ने दुई वटा पुल बगायो । केही सेकेन्ड मात्रै पछाडि परेको भए पुलसँग हामी पनि बग्थ्यौँ,” सशस्त्र प्रहरी १ नं. गुल्म, ढुङ्गेबजार विदुर–१ का प्रहरी सहायक निरीक्षक रूपेश रायले भन्नुभयो, “थोरै मिनेटको पूर्वसतर्कताले वडा नं १ र ४ का सयौँ जनाले ज्यान जोगाउन पाए ।”
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जिल्ला प्रशासन कार्यालय रसुवाबाट ८:५५ मिनेटमा प्राधिकरणलाई भोटेकोशी नदीमा आएको बाढीबारे सूचना प्राप्त भयो । उहाँले भन्नुभयो, “प्राधिकरणले तत्कालै सूचना जारी गर्यो । जिल्ला आपात्कालीन कार्यसञ्चालन केन्द्रलाई बाढीबारे जानकारी गराउँदै सचेत गरायो । तटीय क्षेत्रका वासीलाई सतर्क रहन भनियो ।”
तर सूचना तल्लो तहसम्म पुग्दा बाढी बेत्रावतीनजिक पुगिसकेको थियो । विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले सूचना पाउँदापाउँदै विदुर–७ को सोलेबजार र १० को बेत्रावती तथा भैँसेबजार पुगिसकेको बताउनुभयो । भोटेकोशी बाढीबाट विदुर नगरपालिकाको ७, १०, ९, १, ४ र वडा नं ५ गरी छ वटा वडा नराम्ररी प्रभावित भएका छन् । विदुर नगरपालिकाको प्रभावित क्षेत्रको जनसङ्ख्या करिब पाँच हजार छन् ।
“करिब तीन सय जना बेपत्ता छन् । अधिकांश वडा नं. १० को बेत्रावती र भैँसेबजार तथा ७ को सोलेबजारका छन्,” उहाँले भन्नुभयो, “तल्लो क्षेत्रमा वडा नं. ९ को सिल ट्याङ्की, वडा नं. १ को त्रिशूली र ढुङ्गेबजार, वडा नं ४ को सिमचौर र ५ को देवीघाटका अधिकांश घर बस्ती खाली गराइँदा ठुलो मानवीय क्षति टर्यो ।”
सो क्षेत्रबाट भने केही व्यक्ति बेपत्ता भएको र बाढीले बगाएको तथा घरमै दबिएको सूचना नेपाली सेना र स्थानीय प्रशासनसमक्ष सूचना दर्ता भएको छ । नुवाकोटको विदुर–५ स्थित जिल्ला आयुर्वेद अस्पतालमा उद्धार गरी ल्याइएका लुमडीप्रसाद नेपालले पाकेको भात खान छोडेर आएको बताउनुभयो । “खाना खान बस्दा बग्ने रहेछु महसुस गर्दा अझै शरीर जिरिङ्ग हुन्छ,” ७५ वर्षीय नेपालले भन्नुभयो, “यो तहमा बाढी आउने र यसप्रकारको क्षति गर्ने कल्पना गरेको थिइनँ ।”
रसुवामा भने सूचनासँगै बाढी आउँदा स्याफ्रुबेँसी, धुन्चे र टिमुरे क्षेत्रमा अत्यधिक मानवीय क्षति भएको आकलन गरिएको छ । सयौँ बेपत्ता छन् । उद्धार कार्य जारी छ । बाढी रसुवाबाट नुवाकोट हुँदै तल्लो तटीय क्षेत्रमा आउँदा पूर्वसतर्कताका लागि केही समय पाइएको थियो । यसकारण धादिङमा हालसम्म मानवीय क्षति दर्ता भएको छैन ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले गजुरी र गल्छी बढी तथा नीलकण्ठ र सिद्धलेक पालिका कम प्रभावित पालिका रहेको बताउनुभयो । छोटो अवधिको पूर्वसतर्कताले ठुलो मानवीय क्षति हुनबाट जोगियो, उहाँले बताउनुभयो । “नेपाली सेनाबाट करिब ९ बजे सूचना पायौँ । पूर्वसतर्कता र बस्ती खाली गराउन सुरक्षा संयन्त्रलाई पूर्ण क्षमताले परिचालन गर्दा मानवीय क्षति अहिलेसम्म जानकारीमा आएको छैन,” उहाँले भन्नुभयो, “करिब १५० घरधुरी डुबानमा परेका छन् तर बाढी पस्नुअघि नै घर खाली गराइयो ।”
धादिङबाट गोसाइँकुण्डलगायत रसुवा र नुवाकोटमा रहेका करिब १२७ जना भने सम्पर्कमा छैनन् । भौगर्भिक इन्जिनियरसमेत रहेका त्रिभुवन विश्वविद्यालयका सेवा निवृत्त प्राध्यापक डाक्टर तारानिधि भट्टराईले छोटो अवधिको ‘इभाकुएसन प्लानिङ’ ले अझै ठुलो मानवीय क्षति हुनबाट जोगियो ।
बाढीको बहाब नदीमा मात्रै सीमित नरही करिब सात सय मिटर वरिपरिसम्म फैलिएको देखिन्छ । सो दायरामा आएका घर, बस्ती र व्यक्ति बाढीको भेलसँगै बगेका छन् । प्राध्यापक तिवारी भन्नुहुन्छ, “मानवीय क्षति कम हुनु राम्रो हो तर राज्यलाई ठुलो बोझ आयो । पूूर्वसतर्कता मात्रै होइन, पूर्वसूचना प्रणालीमा साझेदारी र प्रभावकारी तथा बसोबास मापदण्ड परिमार्जन गर्नु पर्छ ।”पुर्खाको नदी किनारमा खेतबारी लगाउनु र डाँडाको टुप्पामा बस्ने संस्कृतिलाई अझै बुझ्न ढिलाइ गर्न नहुने प्राध्यापक तिवारी बताउनुहुन्छ ।गोरखापत्र दैनिकमा खबर छ ।



