खबरहेड लाइन

उद्धारमा अहोरात्र खट्दै सुरक्षाकर्मी

बाढीका घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गर्दै नेपाली सेना । तस्बिर : गोरखापत्र

मित्र भण्डारी

रसुवा, स्याफ्रुबेँसी, भदौ १३ गते । भोटेकोशी बाढिबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ । उद्धार तथा राहतका लागि अग्र भागमा रहेर अहोरात्र खटिरहेका छन् सुरक्षाकर्मी । रसुवा र नुवाकोटमा मात्रै चार हजार दुई सयभन्दा बढी सैनिक परिचालन गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि करिब १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि आवश्यक पर्याप्त टेन्टलगायत सामग्री पठाइएको बताउनुभयो । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले रसुवागढी, घट्टेखोला र टिमुरे, गोसाइँकुण्ड–५ को स्याफ्रुबेँसी, आमाछोदिङ्मो–१ को हाकुबेँसी तथा उत्तरगया–४ को पैरेबेँसी र वडा नं. ५ को बेत्रावती बजारलगायत क्षेत्रमा बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको बताउनुभयो । घाइतेको उपचारका लागि नुवाकोटको त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र स्थापना गरी काठमाडौँबाट विशेषज्ञ चिकित्सकसहित खटाइएको छ । धुन्चेमा फिल्ड एम्बुलेन्ससहित मेडिकल टोली खटाइएको छ हालसम्म करिब एक हजार जनाले स्वास्थ्य सेवा पाएका छन् । धुन्चे र विदुरमा उपचार तथा अस्थायी व्यवस्थापन केन्द्र स्थापना गरिएको छ ।

सात सयको हवाई उद्धार

बाढीका कारण रसुवागढीदेखि नुवाकोटको त्रिशूली–बट्टारसम्मको करिब ८० देखि ८१ किलोमिटर सडकखण्डमा ठुलो क्षति पुगेपछि स्थलमार्ग पूर्ण रूपमा अवरुद्ध छ । पासाङल्हामु राजमार्ग अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन कठिनाइ भएको छ । सडकमार्ग अवरुद्ध भएपछि नेपाली सेनाले हवाई उद्धारलाई तीव्र बनाएको छ । बिहीबार साँझसम्म टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट ११९ जना विदेशी नागरिकसहित करिब सात सय जनाको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

उद्धार तथा राहतका लागि नेपाली सेनाका सात र निजी क्षेत्रका आठ गरी १५ वटा हवाई साधन परिचालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा खोज तथा उद्धार कार्य गरिरहेका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढी प्रभावित क्षेत्रमा अलपत्र नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पहिलो प्राथमिकता बाढी प्रभावितको ज्यान बचाउनेमै केन्द्रित छ । यससँगै राहत र उपचारको काम पनि सँगसँगै अघि बढिरहेको छ ।” उहाँका अनुसार खोज तथा उद्धार कार्य निरन्तर जारी रहेसँगै शव सङ्कलन, व्यवस्थापन तथा पुनस्र्थापनाको काम अघि बढाइएको छ ।

संयोगले बाँचेकाहरू

“हामीलाई केही थाहा थिएन । एक्कासि ठुलो गड्याङगुडुङ आवाज आयो । माथितिर हेर्दा पहाड नै मडारिएर आए जस्तो देखियो । छोरालाई च्यापेर माथितिर दौडिएँ । दौडिँदा म लडेँ, त्यही बेला बाढीले भेटिहाल्यो ।” रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी बाँच्न सफल स्याफ्रुबेँसीकी दावा छेङ्दुलीले घटनाबारे सुनाउँदै भन्नुभयो, “बाढीको छालले तीन पटकसम्म तलमाथि गर्दै बगायो, निकै तल पाखामा पुर्‍याएपछि रुखको जरामा समातेर ज्यान जोगाएँ ।”

दावासँगैकी अर्की मेन्दु लामालाई बाढीले बगाउँदै लग्यो । कसोकसो छेवैको अम्रिसोको जरा समातेर उहाँले पनि ज्यान बचाउनुभयो । नेपाली सेनाको उद्धारमार्फत धुन्चेबजार आइपुगेकी दावा भक्कानिँदै भन्नुहुन्छ, “बाढी निकै माथिबाट उडेर आए जस्तो थियो । भवन र पूर्वाधारसँगै मानिसलाई छालले तलमाथि पार्दै बगाइरहेको थियो । उद्धार टोली पुगेपछि बल्ल बाँचियो भन्ने लाग्यो ।”

स्याफ्रुबेँसीकी उर्किन डोल्मा बुधबार बिहान श्रीमान् र छोराछोरीसँगै चिया नास्ता गर्ने तयारीमा हुनुहुन्थ्यो । एक्कासि ठुलो गड्याङगुडुङ आवाज आएपछि उहाँ घरबाहिर निस्कनुभयो । बाहिर हेर्दा पहाडै बोकेर आएको जस्तो बाढी देखिन्थ्यो । उहाँ हत्तपत्त बच्चा च्यापेर माथितिर कुद्नुभयो । उर्किनका श्रीमान् अर्की छोरीलाई च्यापेर ज्यान जोगाउन माथितिर दौडिनुभयो तर दुर्भाग्य ! डोल्माका आमा, बुवा, भाइ, भतिज र दुई भतिजी बेपत्ता हुनुहुन्छ ।

स्याफ्रुबेँसीमा पेन्टिङको काम गर्ने छिरिङ ग्याल्बुले आँधीबेहरीसहित पहाड नै ढाक्ने गरी बाढी आएको देखेपछि नजिकै रहेकी छोरीलाई च्यापेर पहाडतर्फ दौडिएर ज्यान बचाएको र क्षणभरमै बाढीले बस्ती र संरचना नै ढाकेर बगाएको बताउनुभयो । ग्याल्बुकी श्रीमती याङ्ग्र्री लामा, ससुरा, सासू र जेठानको परिवारको अवस्था भने अझै अज्ञात छ ।

स्याफ्रुबेँसीस्थित श्री कोमिन स्यामी वाङ्फेल माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत डोल्मा तामाङका बुवा रसुवागढी नाकामा भरियाको काम गर्नुहुन्थ्यो । उहाँ सम्पर्कविहीन भएपछि डोल्मा बेसहारा बन्नुभएको छ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट ज्यान जोगाउन सफल दावा, मेन्दु, उर्किन, छिरिङको यो भनाइले बाढीको भयावह दृश्य सम्झाउँछ । केही सेकेन्डअघिसम्म सामान्य दैनिकीमा रहेका रसुवागढी, स्याफ्रुबेँसी, टिमुरे, धुन्चे, मैलुङलगायतको सहरबस्ती बगरमा परिणत भएको छ । सो क्षेत्रमा बसोबास गर्ने र आवतजावत गर्ने कति जनालाई बाढीले बगायो भन्ने अत्तोपत्तो छैन ।

बाढीग्रस्त रसुवागढी नाकाबाट उद्धार गरिएका सिन्धुपाल्चोक बाह्रबिसेका तुल्सी ढकाल तीन जना साथीसँग भागेर बाँच्न सफल भए पनि सँगैका ३० जना साथी बेपत्ता छन् । भन्सार ऐजेन्टको काम गर्ने ढकाल भन्नुहुन्छ, “यार्डनजिकै चिया नास्ता गरेका थियौँ, एक्कासि पहाडै खसे जस्तो ठुलो आवाजसहित अग्लो छालसहितको बाढीले सबैलाई बढारेर लग्यो । हामीले चार सय मिटरजति माथि भागेर ज्यान जोगायौँ ।”

उहाँले सेनाको उद्धार टोलीले तत्काल घाइतेको उद्धार गरी थप मानवीय क्षति हुन नदिएको बताउनुभयो । भन्सारमा कार्यरत अन्य सयौँ नेपाली र चिनियाँ कर्मचारी बाढीमा परेका हुन सक्ने उहाँको अनुमान छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button