खबर

विदेशी प्राविधिक परिचालन

चाँदनी हमाल

काठमाडौँ, भदौ १४ गते । भोटेकोशी हिमबाढीमा फसेका नागरिकहरूको उद्धार गर्न शनिबारदेखि दुई छिमेकी देश भारत र चीनका विशेष टोली नेपालमा परिचालित छन् । भारतबाट आएको ११ सदस्यीय उच्चस्तरीय प्राविधिक टोली भोटेकोशी हिमबाढीले अत्यधिक प्रभावित क्षेत्रमा परिचालित भएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिनुभएको छ ।

सरकारका तर्फबाट आयोजना गरिएको प्रेस ब्रिफिङमा उहाँले भन्नुभयो, “भारतबाट शुक्रबार आइपुगेको विशेष प्राविधिक टोली परिचालित भएको हो, चीनबाट शनिबार छ जनाको विशेषज्ञ टोली सघाउन आइसकेको छ ।” मन्त्री खनालका अनुसार भारत र चीनको उच्चस्तरीय प्राविधिक टोली विशेष गरी विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा अलपत्र परेका नागरिकहरूको उद्धारमा खटिने छ ।

सरकारले नागरिकको उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन थप अन्तर्राष्ट्रिय प्राविधिक सहयोग जुटाउने प्रयास अनुसार यो विशेषज्ञ टोलीलाई नेपालमा उद्धारका लागि अनुमति दिएको उहाँले औँल्याउनुभयो ।

मन्त्री खनालले नेपालका जटिल भौगोलिक अवस्थितिका कारण आउन चाहे पनि सबै विदेशी प्राविधिकलाई अनुमति दिन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विगतका विपत्का अभ्यासबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने हुन्छ, अहिले बाढी गएको ठाउँ भौगोलिक रूपले निकै जटिल अवस्था छ, हेलिकोप्टर ल्यान्ड गर्ने ठाउँसमेत छैन, त्यस्तोमा जो पहिलो पटक विदेशबाट आउँछन् उनीहरूलाई समेत समस्या पर्न सक्छ ।” स्थल मार्गबाट हुने प्राविधिक सहयोगहरूलाई भने सरकारले प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

उद्धार कार्यमा अत्यन्त संवेदनशील हुनुपर्ने अवस्था रहेको र उक्त भूगोलका लागि नयाँ उद्धार टोलीहरूको सुरक्षामा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उद्धारमा सक्रिय नेपाली सेनाका अनुसार विभिन्न विद्युत् परियोजनाका सुरुङमा कति नागरिक छन् भन्ने यकिन तथ्य छैन ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार पहिलो लटमा त्रिशूली थ्री ‘ए’ र थ्री ‘बी’ का सुरुङको उद्धार जारी छ । नेपालसँग उपलब्ध नरहेका प्रविधि र औजार विदेशी सहयोगीमार्फत आउने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बाढीले माटो मात्र हैन, अजङ्गका ढुङ्गाहरू सुरुङका मुखैमा पुगेर बन्द गरिदिएका छन्, बस्तीतिर दुई मिटरसम्म माटो र ढुङ्गाले पुरिएको अवस्था छ ।”

उहाँका अनुसार शुक्रबार निकै कष्टकर तरिकाले चार जनाको उद्धार सेनाले गरेको छ । त्रिशूली थ्री ‘ए’ र थ्री ‘बी’ बाहेक रसुवा, लाङटाङ, चिलिमे र मैलुङ जलविद्युत् आयोजनाका सुरुङमा मानिस हुन सक्ने अनुमान गरिएको छ । तथापि १५० जना सुरुङमा बाढी आउनुअघि नै अन्यत्र भागेको अवस्थामा उद्धार गरिएको बस्नेतले बताउनुभयो । हालसम्म ३३ जना विदेशीसहित २०८ जनाको उद्धार भएको छ ।

​सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण भए पनि नेपाल सरकार, नेपाली सेना र भारतीय तथा चिनियाँ विज्ञ टोलीको एकीकृत प्रयासबाट भित्र फसेका मानिसहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव कोसिस भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

दातृ सम्मेलनको तयारी

भोटेकोशी हिमबाढीबाट भएको क्षतिपछि राहत तथा पुनस्र्थापनाका लागि आवश्यक आर्थिक जोहो गर्न सरकार घटनाको अध्ययन तथा विश्लेषणमा जुटेको छ । यतिबेला छिमेकीसहित विश्वका विभिन्न मित्रराष्ट्रले यस विपत्मा नेपालको अवस्थालाई निकै गम्भीर रूपमा नियाल्दै स्वस्फूर्त रूपमा आर्थिक सहयोगको घोषणा गरिरहेका छन् । योबाहेक सरकारले अन्तर्राष्ट्रिय दाता सम्मेलनसमेत गर्न सक्ने गरी तयारी थालेको हो । सरकारले क्षतिको प्रारम्भिक अनुमान गर्दै दाताहरूको सहयोग लिनुपर्ने निष्कर्षमा पुगेर क्षतिको पूर्ण विश्लेषणमा केन्द्रित रहेको जानकारी परराष्ट्रमन्त्री खनालले दिनुभयो ।

अनुमानित क्षति आकलनको तथ्यसहितको खाका तयार गर्न अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले आन्तरिक गृहकार्य सुरु गरिसकेको उहाँले बताउनुभयो । मन्त्री खनालले भन्नुभयो, “अर्बको कुरा हैन, अहिलेको अवस्था हेर्दा पुनस्र्थापना गर्न खर्बौं लाग्ने सम्भावना देखिएको छ, त्यसका लागि दाता सम्मेलन गर्न पनि सकिन्छ ।” बाढीले अत्यावश्यक पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायत क्षेत्रमा ठुलो क्षति पुगेको उल्लेख गर्दै उहाँले क्षतिको विस्तृत विश्लेषण र मूल्याङ्कनतर्फ पनि काम भइरहेको बताउनुभयो ।

मित्रराष्ट्रको सराहना

बाढीपछि तत्कालीन खोजी, उद्धार तथा राहतका लागि छिमेकी मुलुकसहित विभिन्न मुलुकबाट सहयोग आउने क्रम जारी छ । त्यसका लागि सरकारका तर्फबाट धन्यवाद दिँदै मन्त्री खनालले सराहना गर्नुभयो ।

भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री नेपाल आइसकेको छ । त्यस्तै चीन, जापान, अस्ट्रेलियालगायत मुलुकबाट पनि राहत सामग्री आइरहेको उहाँले बताउनुभयो । बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्न चाहेमा स्वदेश तथा विदेशमा रहेका नेपाली एवं विदेशी नागरिकलाई प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न पनि उहाँले अपिल गर्नुभयो । सुरुङमा जीवितै रहेकाहरूको पहिचान तथा खोजीका लागि आवश्यक प्रविधिसहित डिएनए विश्लेषण र शवहरूको दीर्घकालीन व्यवस्थापनलगायत कार्यमा पनि मित्रराष्ट्रहरूको सहयोग आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

बाढीमा बेपत्ता भएका विदेशी नागरिकको खोजी तथा उद्धारमा समेत नेपाल सरकारको गहन पहल जारी रहेको जानकारी मन्त्री खनालले प्रेस ब्रिफिङमा उपस्थित अन्तर्राष्ट्रिय पत्रकारहरूलाई दिनुभयो । उहाँका अनुसार हालसम्म १८७ विदेशी नागरिकसहित चार हजार ४५० नागरिकको उद्धार सरकारले गरेको छ । अहिलेसम्म दुई हजार चार सय जना बेपत्ता रहेको तथ्य सरकारसँग छ भने शनिबार दिउँसोसम्म ६२६ जनाको शव फेला पारिएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button