
होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावित खाना खाने क्रममा । तस्बिर : मनोजरत्न शाही
सूर्यप्रसाद पाण्डे
देवीघाट (नुवाकोट), भदौ १५ गते । नुवाकोटको विदुर नगरपालिका देवीघाटकी कान्छी नेपाली भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित भएपछि गत बुधबारदेखि नजिकैको चन्द्रज्योति माध्यमिक विद्यालयमा स्थापना गरिएको शिविर (होल्डिङ सेन्टर) मा बसिरहनुभएको छ । मानवीय क्षति नभए पनि बाढीले उहाँको घर र सम्पूर्ण समान बगाएको छ । तैपनि उहाँ अहिले शिविरको बसाइ र व्यवस्थापनप्रति सन्तुष्ट हुनुहुन्छ ।
नेपाली भन्नुहुन्छ, “शिविरमा उपलब्ध गराइएको खाना, खाजा र वासस्थानप्रति पूर्ण सन्तुष्ट छु । बाढीले घर बगाएको पीडा त छँदै छ तर यो मायालु वातावरणले पीडालाई थोरै भए पनि बिर्साइदिएको छ ।” दमको बिरामी नेपालीलाई शिविरमा खटिएका स्वास्थ्यकर्मीबाट बेला बेलामा स्वास्थ्य जाँच पनि गरिएको छ र आवश्यकता अनुसार औषधी पनि उपलब्ध गराइएको छ ।
नेपालीको जस्तै अनुभव छ, सोही शिविरमा बुधबारदेखि बस्दै आउनुभएका हरिबहादुर न्यौपानेको पनि । उहाँको पनि बाढीले देवीघाटमा रहेको घर बगाएको छ । एक लाख रुपियाँ मूल्य तोकेर बेच्न ठिक्क पारिएको राँगो बगाएको छ भने अन्य संरचना पनि सबै ध्वस्त भएको छ । सबैले भोगेको उस्तै पीडालाई हेरेर उहाँले मन बुझाएर होल्डिङ सेन्टरमा बसिरहनुभएको छ । “यस्तो विपत्तिमा सरकारले जति सेवा दिएको छ, त्यसमा पूर्ण सन्तुष्ट छु । यहाँ उपलब्ध गराइएको खाजा, खाना र वासस्थानमा कुनै कमी छैन,” न्यौपानेले भन्नुभयो, “सबैभन्दा ठुलो पीडा त घरबास नै बाढीले बगाएकोमा छ तर के गर्ने चिन्ता लिएर मात्रै नहुने रहेछ । जसो पर्ला उसै टर्ला भनेर ढुक्कसँग बसिरहेको छु ।”
उक्त होल्डिङ सेन्टरमा अहिले १५९ जनालाई राखिएको छ । तत्कालका लागि उद्धार गरेर राखिएको शिविरमा बस्नेमध्ये अधिकांश सन्तुष्ट नै देखिन्छन् । सेन्टरमा आश्रितहरूलाई विभिन्न संस्थाले उपलब्ध गराएको राहतबाट खाना र बसाइको बन्दोबस्त गरिएको छ । खाना पकाउन, खुवाउन, बिरामीको स्वास्थ्य परीक्षण गर्नसमेत छुट्टाछुट्टै जनशक्ति खटाइएको छ । बालबालिकालाई मानसिक तनाव नहोस् भनेर विभिन्न सामाजिक संस्थाबाट खटिएका स्वयंसेवकले रमाइलो खेल खेलाउने तथा कथा सुनाएर व्यस्त राख्ने गरेका छन् ।
विदुर नगरपालिका–५ मा रहेको आयुर्वेद वैकल्पिक चिकित्सालयका ५५ वर्षीय हरिमाया श्रेष्ठले भन्नुभयो, “हामीलाई दिइने सुविधामा यहाँ पनि कुनै कमी छैन । यो विपत्तिमा सरकारले गर्न सक्ने भनेको यति नै हो ।” बाढीको सूचना आएलगत्तै देवीघाटमा रहेको वृद्धाश्रमका वृद्धवृद्धालाई उद्धार गरी यस होल्डिङ सेन्टरमा राखिएको छ ।
त्रिशूली नदीको बाढीबाट प्रभावितको उद्धार गरेर विदुर नगरपालिकाभित्र १६ वटा होल्डिङ सेन्टरमा दुई हजार ४०३ जनालाई राखिएको छ । होल्डिङ सेन्टरको क्षमता अनुसार अधिकतम छ सयदेखि ८० जनासम्म राखिएको छ । सोही अनुसार जनशक्ति तथा राहत सामग्रीको वितरणलाई पनि प्रभावकारी बनाइएको छ ।
होल्डिङ सेन्टरमा राखिएकामध्ये अधिकांशको घरगोठ बगाएको छ । केहीको आफन्त पनि सम्पर्कविहीन छन् तर पनि पीडामा रहेकालाई थप समस्या नहोस् भनेर सरकारले पनि होल्डिङ सेन्टरलाई सकेसम्म गुनासोरहित बनाउने गरी व्यवस्थापन गरिरहेको छ । बाढी प्रभावितको उद्धार र राहतको समन्वय गरिरहेका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पनि सरकारले अधिकतम प्रयास गरेर बाढी प्रभावितको व्यवस्थापन गरिरहेको बताउनुभयो ।
बाढीबाट प्रभावितको उद्धारसँगै आवश्यकता अनुसार होल्डिङ सेन्टरमा राखिएकाको व्यवस्थापन भइरहेको जानकारी दिँदै मन्त्री तिमिल्सिनाले भन्नुभयो, “अहिले पनि हामी उद्धारकै चरणमा छौँ । यो काम सकिएपछि अन्य विषयमा छलफल गर्छौं तर उद्धार गरिएकाहरूको व्यवस्थापन र उद्धारलाई उत्तिकै प्राथमिकता दिएर अघि बढेका छौँ ।”
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले पनि राज्यको स्रोत र सामग्रीले भ्याएसम्म होल्डिङ सेन्टरमा स्नेहपूर्वक राखिएको बताउनुभयो । सेन्टरमा राखिएकाको आउने दिनमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।



