मूल खबरहेड लाइन

मुख्य सडक मर्मत तीव्र : वैकल्पिक सडक सञ्चालनमा

सूर्यप्रसाद पाण्डे

नुवाकोट (त्रिशूली), भदौ १६ गते । भोटेकोशी बाढीले क्षति पुर्‍याएको रसुवा, नुवाकोट तथा धादिङ जिल्लाका तटीय क्षेत्रमा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

पहिलो चरणमा तत्काल सम्भव देखिएको सडक सञ्जालको सफाइ तथा पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणसँगै सडक सञ्चालनको कामलाई पनि प्राथमिकता दिइएको हो ।

कतिपय स्थानमा बाढीले बगाएको सडक नै सफा गरेर पुनः सञ्चालन गर्ने तयारी गरिएको छ भने केही स्थानमा वैकल्पिक मार्ग सञ्चालन गरेर सवारी सञ्चालनको तयारीमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरू जुटेका छन् । बाढीले सबैभन्दा धेरै क्षति रसुवा र नुवाकोटमा पुर्‍याएको छ । त्यसबाहेक धादिङमा पनि केही क्षति पुर्‍याएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढीले क्षति पुर्‍याएको गल्छी–देवीघाट सडक खण्डको ठुलो खोला पुल मर्मत कार्य भइरहेको छ । एक दुई दिनमै उक्त पुलबाट सवारी चलाउने मिल्नेगरी काम भइरहेको छ ।

त्यस्तै तादी खोलामा रहेको पुल बगाएर अवरुद्ध भएको सडकमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ । त्रिशूलीको ढुङ्गेबजार क्षेत्रबाट रसुवा जाने सडक मार्ग पनि आंशिक रूपमा सञ्चालन गरिएको छ । मुख्य मार्ग अवरुद्ध भएपछि त्यसको विकल्पका रूपमा वैकल्पिक सडक पनि सञ्चालनमा ल्याइएको छ । बाहुनबेँसी–लाच्याङ्ग–धुन्चे सडकमा साना सवारी सञ्चालनमा रहेको छ । ठुला सवारी सञ्चालन हुने गरी सडक मर्मतको काम पनि भइरहेको प्रजिअ रेग्मीले जानकारी दिनुभयो ।

नुवाकोटको ढिकुरे–फेदीबेँसी–चोखते, बोरे भन्ज्याङ–ढुङ्गेधारा हुँदै वेत्रावती रसुवा जाने बाटोमा पनि साना सवारी सञ्चालनमा छन् । उक्त सडकबाट पनि ठुला सवारी गुड्न मिल्ने गरी काम भइरहेको छ । वैकल्पिक सडकका रूपमा चोगाते–बोरेभन्ज्याङ–विदुर सडकखण्डमा पनि सवारी सञ्चालन गर्न सकिने अवस्था रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

कोलोनी बुद्धसिंहघाट जाने सडक पनि सुचारु भइसकेको छ । लबडाँडा–सिरखाली–बुनीबेँसी–कालीखोला–माझीगाउँ हुँदै कोलोनी जाने वैकल्पिक मार्ग पनि सञ्चालनमा आएको छ । कोलोनी ढुङ्गेलगायत ठाउँमा तुइन सञ्चालन गर्न लठ्ठा ल्याइसकेको तथा विशेषज्ञ टोलीमार्फत उपयुक्त स्थानको खोजी गरेर सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

त्यस्तै त्रिशूली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशूली पारिको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सुचारु गरिएको छ ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सामाजिक सञ्जालमार्फत सोमबार दिनुभएको जानकारी अनुसार गल्छी–त्रिशूली राजमार्ग अन्तर्गत त्रिशूली पुल पारिबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको हो ।

सडक सुचारु भएसँगै नुवाकोटका धेरै नागरिक सदरमुकामसँग पुनः सडक पहुँच स्थापित भएको छ । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको आवतजावतमा समेत सहजता हुने मन्त्री लम्सालले बताउनुभयो ।

धादिङमा पनि बाढीले फुर्केखोलाको पुल बगाएपछि सदरमुकाम धादिङबेँसीसँगको सम्पर्क विच्छेद भएको छ । त्यसको विकल्पमा मासटार–क्युरिनटार हुँदै त्रिशूली नदीको दायाँ किनाराबाट धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ । फुर्केखोलामा तत्काल बेलिब्रिज राख्न कठिन हुने देखिएपछि यही सडकलाई स्तरोन्नति गर्ने काम भइरहेको छ ।

बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनासँगै तत्काल अति आवश्यक रहेको र पुनर्निर्माण गर्न सम्भव भएका संरचनालाई पहिलेकै अवस्थामा ल्याउने विषयमा सङ्घीय सरकारका मन्त्रीहरूले समेत चासो दिइरहनुभएको छ । गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालगायत सङ्घीय सरकारका मन्त्रीहरूले समेत बाढी प्रभावित क्षेत्रमै खटेर दैनिक अपडेट लिइरहनुभएको छ । सूचना तथा सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले आफ्नो क्षमताले भ्याएसम्म अधिकतम शक्ति बाढीपीडितको उद्धार, राहत र पुनस्र्थापनामा लगाइरहेको बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button