
पृथ्वी राजमार्गको कृष्णभिरमा डाइभर्सन खोलिँदै । तस्बिर : वसन्त पराजुली
वसन्त पराजुली
नारायणगढ (चितवन), भदौ २८ गते । कृष्णभिरमा राजमार्ग नै भासिएपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग असोज १ अघि नै खुलाउने तयारी भएको छ । त्रिशूली नदीको निरन्तर कटानले भासिएको राजमार्गसँगैको भिर कटान गरेर खुलाउन लागिएको हो । पृथ्वी राजमार्गको मुग्लिङ–मलेखु खण्ड निर्माण आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले भिरको कटानको काम सकिएकाले अब राजमार्गको सतह निर्माण गरेर यातायात खुला गरिने जानकारी दिनुभयो ।
“भित्ता काट्ने काम सकियो । अब राजमार्गको ग्रेड (स्लोभ मिलाउने) काटेर सर्फेस (सतह) मिलाउन बाँकी छ । अनि कम्प्याक्सन (थिचेर मजबुत बनाउने) गर्दै ग्राबेल गरेपछि राजमार्ग सञ्चालनमा ल्याउने छौँ,” उहाँले गोरखापत्रसँग भन्नुभयो, “हामीले बढीमा असोज १ गतेसम्म राजमार्ग सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिएका छौँ । त्यसयता नै सम्पन्न गर्ने प्रयास हुन सक्छ तर पनि छिट्टै भ्याइयो भने भ्याइनेबित्तिकै राजमार्ग खुला गर्ने छौँ ।”
अहिलेकै गतिमा काम भयो भने दुई वा तीन दिनमै सडक खुल्न सक्ने उहाँले जानकारी दिनुभयो । १० मिटर चौडाइमा १५२ मिटर लम्बाइको भिर काटेपछि अहिले राजमार्ग खुला हुने आधार बनेको हो ।
“भिर माथिल्लो भागदेखि नै स्लोपमा काटेर राजमार्गको सतहमा आइपुग्दा १० मिटर चौडाइमा रहेको छ,” सिडिई अधिकारीले भन्नुभयो । आयोजनाका इन्जिनियर धिरण ढकालका अनुसार अहिले एक्साभेटर, बुल्डोजर, लोडर, ब्याकहो, टिप्पर, रक ब्रेकर, ग्रेडरलगायत उपकरण परिचालित छन् । “दिनरात नभनी अहिले राजमार्ग खुला गराउन लागेका छौँ,” उहाँले भन्नुभयो ।
तराईका जिल्लाहरूलाई सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग नै अहिले अवरुद्ध छ । कृष्णभिरमा भासिने र पहिरो झर्ने समस्याले पटक पटक सडक प्रभावित हुँदै आएको छ । २०५७ सालदेखि समस्या दिँदै आएको यो भिर केही वर्ष समस्या नआए पनि पछिल्लो पटक गत भदौ १४ गते भासिँदा अहिले राजमार्ग अवरुद्ध भएको हो ।
ग्यास बुलेटलाई प्राथमिकता
भदौ १४ गतेदेखि राजमार्ग अवरुद्ध हुँदा राजधानी काठमाडौँमा एलपी ग्यास तथा खाद्यान्नलगायत वस्तु ढुवानीमा समस्या भएको छ । वैकल्पिक सडकबाट पर्याप्त खाद्यान्न तथा ग्यास ढुवानी हुन नसकेपछि काठमाडौँमा यसको समस्या देखिएको छ ।
इन्जिनियर ढकाल राजधानीको समस्यालाई दृष्टिगत गर्दै राजमार्ग खुला भएपछि पहिलो पटक खाद्यान्न, एलपी ग्यासका बुलेट, औषधीका गाडी, एम्बुलेन्स जस्ता सवारी साधनलाई प्राथमिकतामा राखिने बताउनुहुन्छ ।
कृष्णभिरको पहिरोले सङ्घीय राजधानी काठमाडौँलाई तराईका जिल्ला तथा मध्यपहाडी क्षेत्रसँगको सडक सम्पर्कविच्छेद गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका प्रमुख तथा ट्राफिक प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डे राजमार्ग अवरुद्ध हुँदा यो सडक भएर काठमाडौँ जाने दैनिक १५ हजार हाराहारीका सवारीसाधन समस्यामा परेका बताउनुहुन्छ । यसरी गुड्ने सवारीसाधनमध्ये मालवाहक र खाद्यान्न बोक्ने सवारीसाधन चार हजारको हाराहारीमा छन् ।गोरखापत्र दैनिकमा खबर छ ।



