
विश्वास रेग्मी
काठमाडौँ, असोज ५ गते । विभिन्न प्रकृतिका व्यावसायिक सिप र सेवा बेचेर नेपालीले विदेशबाट एक महिनामै करिब सात अर्ब रुपियाँ आम्दानी गरेका छन् । रोजगारीका लागि बाहिरिनैपर्ने बाध्यतात्मक परिस्थितिबिच पनि कतिपयले विदेशमा माग रहेका सेवा उपलब्ध गराएर नेपालमै रहेर विदेशी मुद्रा भित्र्याइरहेका हुन् ।
नेपाल राष्ट्र बैङ्कका अनुसार साउनमा मात्रै नेपालीले विभिन्न पाँच प्रकृतिका सेवा बेचेर छ अर्ब ८१ करोड ६४ लाख आम्दानी गरेका छन् । नेपालीले खास गरी अनुसन्धान र विकास, व्यावसायिक र व्यवस्थापन परामर्शलगायतका सेवा बिक्री गरेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ ।
यसबाहेक प्राविधिक, व्यापार सम्बन्धित र अन्य व्यवसाय सेवा, श्रव्यदृश्यसँग सम्बन्धित सेवा, अन्य व्यक्तिगत, सांस्कृतिक र मनोरञ्जनात्मक सेवा बिक्री पनि नेपालीको आम्दानी माध्यम देखिन्छ ।
साउनमा सबैभन्दा धेरै व्यावसायिक र व्यवस्थापन परामर्श सेवा प्रदान गरेर नेपालीले तीन अर्ब १८ करोड रुपियाँ आम्दानी गरेका छन् । त्यसपछि प्राविधिक, व्यापार सम्बन्धित र अन्य व्यवसाय सेवा बिक्रीमार्फत दुई अर्ब ३६ करोड रुपियाँ आम्दानी भएको तथ्याङ्कले देखाउँछ ।
उल्लेखित सेवा उपलब्ध गराएर गत वर्ष साउनमा नेपालीले पाँच अर्ब ७० करोड रुपियाँ बराबरको विदेशी मुद्रा भित्र्याएका थिए । यस वर्ष साउनमा थप एक अर्ब ११ करोड रुपियाँ आम्दानी बढेको तथ्याङ्कले देखाउँछ ।

सेवा बिक्रीमार्फत नेपालीले विदेशबाट गर्ने आम्दानी बढ्दै जाँदा व्यक्तिगतस्तरमा आफ्नो सिप बेचेर हुने आम्दानी पनि बढिरहेको देखिन्छ । राष्ट्र बैङ्कका अनुसार साउनमा मात्रै सबै प्रकृतिका सेवा बिक्रीमार्फत १८ अर्ब ५३ करोड रुपियाँ आम्दानी भएको छ ।
यस अन्तर्गत यात्रा, ढुवानी, शैक्षिक तथा भ्रमण खर्च, निर्माण, वित्तीय सेवालगायतका बृहत् सेवा पनि पर्दछन् । कम्प्युटरसम्बन्धी सेवा उपलब्ध गराएर एक अर्ब ६१ करोड रुपियाँ भित्र्याएको पनि तथ्याङ्कमा उल्लेख छ । कम्प्युटर र सूचनासम्बन्धी सेवा खास गरी आइटी सेवा निर्यातसँग बढी सम्बन्धित छ ।
खरिदमा पनि बाहिरिन्छ करोडौँ
व्यावसायिक सिप बिक्रीबाट आर्जन मात्र होइन, त्यस्तै प्रकृतिको सेवा खरिदमा पनि नेपालबाट करोडौँ रुपियाँ बाहिरिने पनि तथ्याङ्कले देखाउँछ । राष्ट्र बैङ्कका अनुसार साउनमा मात्रै यस्ता सेवा खरिदमा तीन अर्ब ५३ करोड रुपियाँ बाहिरिएको छ । जसमध्ये सबैभन्दा ठुलो खर्च प्राविधिक, व्यापार सम्बन्धित र अन्य व्यवसाय सेवामा खर्च भएको देखिन्छ । यो शीर्षकमा मात्रै तीन अर्ब नौ करोड रुपियाँ बाहिरिएको तथ्याङ्क छ ।
भ्रमणबाट भित्रियो पाँच अर्ब
विदेशी पर्यटकले नेपाल भ्रमण गरेबापत साउनमा पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी भएको छ । राष्ट्र बैङ्कका अनुसार यस अन्तर्गत व्यावसायिक भ्रमणबाट ५६ लाख र व्यक्तिगत भ्रमणबाट पाँच अर्ब ४२ करोड रुपियाँ आम्दानी भएको छ । साउनमा मात्रै भ्रमण शीर्षकबाट कुल पाँच अर्ब ४३ करोड रुपियाँ आम्दानी भएको देखिन्छ ।
यो अवधिमा भ्रमण शीर्षकमा नेपालबाट भने १५ अर्ब ९२ करोड रुपियाँ बाहिरिएको छ । जसमध्ये व्यक्तिगत भ्रमणमा मात्रै १५ अर्ब ५७ करोड रुपियाँ बाहिरिएको तथ्याङ्कले देखाउँछ । वैदेशिक रोजगारी, घुमघाम, शैक्षिक तथा स्वास्थ्य प्रयोजनसहितका भ्रमण पनि यो शीर्षकमा समेटिन्छ ।गोरखापत्र दैनिकमा खबर छ ।



