
नुवाकोट र रसुवाको सिमानामा पर्ने वेत्रावती बजार क्षेत्रमा सडक पुनर्निर्माणको तयारी गरिँदै । तस्बिर : सडक विभाग
भउचप्रसाद यादव
काठमाडौँ, असोज ५ गते । भोटेकोशी बाढीले क्षतविक्षत पारेको सडक सम्पर्कलाई आगामी दसैँअघि नै पुनर्स्थापित गर्न सडक विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढाएका छन् । दसैँको समयमा नागरिकहरूको आवतजावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको छ ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले दसैँअघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाइसक्नुभएको छ । हजारौँ नागरिक विस्थापित भएका र अर्बौंको क्षति भएको यस प्राकृतिक विपत्पछि दसैँको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सडक विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिएका छन् ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले दसैँलगायतका चाडपर्व सुरु हुनुअघि नै भोटेकोशी बाढीले अवरुद्ध भएका सडक सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको जानकारी दिनुभयो । उहाँले अवरुद्ध सडकहरूमा अस्थायी रूपमा भए पनि मुख्य सडक वा वैकल्पिक सडक भएर दसैँअघि नै यातायात सञ्चालन गर्ने बताउनुभयो ।
प्रवक्ता न्यौपानेले भन्नुभयो, “बाढी प्रभावित क्षेत्रमा दसैँअघि नै यातायात सञ्चालन गर्ने हाम्रो लक्ष्य नै छ । बाढीले अवरुद्ध अधिकांश बाटो खुलिसके । अब खोल्न बाँकी भनेको स्याफ्रुबेँसीदेखि रसुवागढी खण्ड हो । यो खण्डको सडक खुलाउनका लागि एक्साभेटर, डोजर, लोडरलगायत हेभी एक्युपमेन्ट पठाइसकिएको छ । वेत्रावतीमा थोरै बाटो खुलाउन बाँकी छ । वेत्रावतीमा आवश्यक बेलिब्रिज पनि पठाइसकिएको छ । सडक अवरुद्ध रहेका क्षेत्रमा आवश्यक काम दु्रत गतिमा भइरहेका छन् ।” उहाँले त्रिशूली नदीमा पुल राखेर धादिङ सदरमुकामलाई सिधा सडक सम्पर्कमा जोड्ने काम दसैँभित्र सक्ने गरी प्रयास भइरहेको जानकारी दिनुभयो ।
प्रवक्ता न्यौपानेका अनुसार गल्छी–त्रिशूली–रसुवागढी सडकको गल्छीदेखि भैँसे खण्डसम्मको सडक खुलिसकेको छ । अब भैँसे वेत्रावतीमा पाँच सय मिटर खुलाउन बाँकी छ । उहाँले भन्नुभयो, “त्यहाँ काम भइरहेको छ, छिट्टै खुल्छ । अहिले डोजर र एक्साभेटर प्रयोग गरी ढुङ्गे्र–वेत्रावती खण्डमा सडक खुलाउने काम भइरहेको छ ।” नुवाकोटको गेर्खुटारसम्म सडक खुलिसकेको बताउँदै उहाँले फलाखु खोलामा ७५ मिटर बेलिब्रिज राख्ने तयारी भइरहेको जानकारी दिनुभयो । सातबिसेमा डेढ किलोमिटर र उत्तरगया मावि–वेत्रावतीबिच करिब पाँच सय मिटर सडक बगेको उहाँले बताउनुभयो ।
प्रवक्ता न्यौपानेले भन्नुभयो, “वेत्रावतीमा बेलिब्रिज निर्माणका लागि जग (फाउन्डेसन) को काम भइरहेको छ । स्याफ्रुबेँसीमा पनि बेलिब्रिज निर्माणका लागि डिजाइनको काम सुरु भइसकेको छ । बेलिब्रिज निर्माणसँगै स्याफ्रुबेँसीसम्मको बाटो खुलिसकेपछि रसुवागढीतिरको काम सुरु हुन्छ । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १५ किलोमिटरको बाटो खुलाइने छ ।” सडक सञ्चालनमा ल्याउन तल्लो स्याफ्रुबेँसी, चिलिमे र माथिल्लो स्याफ्रुबेँसी गरी तीन ठाउँमा बेलिब्रिज राख्नुपर्ने बताउँदै प्रवक्ता न्यौपानेले यी ठाउँमा बेलिब्रिज जडान गरिएपछि रसुवागढी नाकासम्मै सडक सम्पर्क पुनस्र्थापित गर्न सहज हुने स्पष्ट पार्नुभयो । बाढी प्रभावित यी क्षेत्रमा सडक सम्पर्क पुनस्र्थापित गर्न चीनले दिएका दुई वटा, भारतले दिएको एउटा, नेपाली सेना र सडक विभागसँग रहेका बेलिब्रिजहरू प्रयोग गरिने उहाँले बताउनुभयो ।
कार्यदल गठन
पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले बाढी प्रभावित क्षतिग्रस्त क्षेत्रमा सडक र पुल निर्माणलाई गति दिन आठ वटा विषयगत कार्यदल गठन गरी काम भइरहेको जानकारी दिनुभयो । ढकालका अनुसार ढुङ्ग्रे–वेत्रावती खण्ड, सातबिसेको डेढ किलोमिटर र उत्तरगया मावि–वेत्रावतीबिचको पाँच सय मिटर बगेको सडक खण्डमा दर्जनौँ डोजर र एक्साभेटर परिचालन गरिएको छ । नयाँ अस्थायी ट्र्याक खोल्न टोलीहरूले दलदले माटो पन्छाउने र कडा चट्टानी क्षेत्रमा ब्लास्टिङ गर्ने काम गरिरहेका छन् । नुवाकोटको गेर्खुटारसम्म सडक खुलिसकेको छ भने वेत्रावती–रसुवागढी खण्डका बाँकी स्थानमा यातायात सञ्चालनका लागि चिनियाँ पक्षसँग समेत समन्वय गरी ४० टनभन्दा बढी भार वहन गर्न सक्ने बेलिब्रिज जडान गर्ने योजना अगाडि बढाइएको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार सडक र यातायात पूर्वाधार पुनरुत्थानका लागि मात्रै ७३ अर्ब ३४ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । पुल र सडकको स्थायी पुनर्निर्माणका लागि १८ अर्ब १६ करोड रुपियाँ आवश्यक पर्ने देखिएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।



