खबर

काँकरभिट्टालाई हराभरा बनाउने ‘गो ग्रीन’ अभियान निरन्तर

काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टालाई स्वच्छ, सुन्दर र हराभरा बनाउने उद्देश्यले सुरु गरिएको ‘गो ग्रीन प्रोजेक्ट’ अभियानले निरन्तरता पाएको छ।

र्‍यापिड एक्सन टिम (RAT), मेचीनगरको पहलमा सुरु भएको अभियानअन्तर्गत काँकरभिट्टा तथा मेचीनगरका सार्वजनिक क्षेत्रको सौन्दर्यीकरण, वृक्षारोपण र वातावरण संरक्षणका गतिविधि सञ्चालन भइरहेका छन्। अभियानको औपचारिक सुरुवात श्रावण १६ गतेबाट भएको थियो।

चार हप्तामा ३२० बिरुवा रोपिए

अभियानको पहिलो चरणमा लगातार चार हप्तासम्म प्रत्येक शनिबार श्रमदान तथा स्वयंसेवामार्फत वृक्षारोपण गरिएको थियो। सो क्रममा धुपीका १३०, एरिका पामका १३० तथा विभिन्न सजावटी फूलका ६० गरी कुल ३२० वटा बिरुवा रोपिएको प्रतिवेदनमा उल्लेख छ।

पहिलो चरणको वृक्षारोपण सम्पन्न भए पनि अभियान भने रोकिएको छैन। अहिले रोपिएका बिरुवाको गोडमेल, सिँचाइ र नियमित संरक्षणका लागि टोली परिचालन गरिएको छ भने सार्वजनिक स्थानमा व्यवस्थित तथा आकर्षक बगैँचा निर्माणको कामसमेत अघि बढिरहेको छ।

१० जनाको सक्रियतामा अभियान अघि बढ्दै

‘गो ग्रीन’ अभियान सुरु गर्न तथा निरन्तरता दिन प्रविण चापागाईं, उपकार प्रधान, टिका गौतम (पुष्प) , शिव थपलिया, आयुष खड्का, सरोजमान श्रेष्ठ, शिव निरौला, रितिक थापा, राकेश तामाङ र मुन्ना शर्मा सक्रिय रूपमा जोडिएका छन्।

उनीहरूको सक्रियतामा सुरु भएको अभियान पहिलो चरणको वृक्षारोपणपछि पनि निरन्तर सञ्चालन भइरहेको जनाइएको छ। वातावरण संरक्षणसँगै काँकरभिट्टा तथा मेचीनगर क्षेत्रलाई हरियाली र आकर्षक बनाउने उद्देश्यले अभियानलाई दीर्घकालीन रूपमा अघि बढाउने तयारी गरिएको छ।

र्‍यापिड एक्सन टिम (RAT), मेचीनगरका संयोजक प्रविण चापागाईंका अनुसार अभियानको आगामी चरणमा मेचीनगरका अन्य प्रमुख स्थानमा समेत हरियाली प्रवर्द्धनका कार्यक्रम विस्तार गर्ने योजना रहेको छ।

‘गो ग्रीन प्रोजेक्ट’ वृक्षारोपणमा मात्र सीमित नभई स्थानीय समुदायमा वातावरण संरक्षणसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्ने तथा सार्वजनिक क्षेत्रलाई स्वच्छ र मनोरम बनाउने उद्देश्यसहित अघि बढाइएको पहल हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button