खेलकुद

प्रस्तावित डोमालाल राजवंशी रंगशालाको जग्गाबारे थप रहस्य खुल्दै

पुष्प बराल

बिर्तामोड / बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा रहेको प्रस्तावित डोमालाल राजवंशी रंगशालाको जग्गा आफ्नो नाममा बनाउने भू–माफियाको षड्यन्त्र असफल भएको तथ्य फेला परेको छ ।

नेपाल सरकारको भूमि व्यवस्थापन तथा अभिलेख विभाग, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा रहेको अभिलेखमा निजी गुठी ‘अनारमनी दुर्गा गुठी स्थान’ को नाममा १२ बिघा १ कठ्ठा ७ धुर जग्गा कायम रहेको तथ्य फेला परेको हो ।

७ कित्तामा रहेको जग्गामध्ये कित्ता नम्बर ११९ को १ बिघा १७ कठ्ठा १० धुरमा झलकबहादुर खड्का, कित्ता नम्बर १२१ को २ बिघा १० कठ्ठामा झलकबहादुर खड्का क्षेत्री, कित्ता नम्बर १३० को ७ कठ्ठा १२ धुरमा वृषबहादुर मगर र कित्ता नम्बर ७०१ को २ कठ्ठा १० धुरमा झलकबहादुर खड्का मोही रहेको मालपोत कार्यालयको श्रेस्तामा उल्लेख छ । गुठीको जग्गामध्ये ४ बिघा १७ कठ्ठा १२ धुरमा मोही कायम रहेको देखिएको छ।

अनारमनी दुर्गा गुठी स्थान’को नाममा रहेको कित्ता नम्बर १२० को १ बिघा २ कठ्ठा १० धुर, कित्ता नम्बर १२२ को ३ बिघा ४ कठ्ठा १० धुर र कित्ता नम्बर ११८ को २ बिघा १६ कठ्ठा १५ धुर गरी ७ बिघा ३ कठ्ठा १५ धुर जग्गामा कुनै मोही रहेको छैन ।

‘सबै जग्गाको धनिपूर्जा रमेश महर्जनलगायतका व्यक्तिको नाममा गइसकेको भनेर तथ्यलाई गुमराहमा राख्ने प्रयत्न भइरहेको थियो’, स्थानीय पत्रकार गणेश पोखरेलले भने–‘भू–माफियासँग जग्गा किन्नुपर्छ भन्ने अभियान पनि चल्दै थियो, तर यथार्थ अर्कै रहेछ ।’

जग्गाको धनीपूर्जा ‘अनारमनी दुर्गा गुठी स्थान’ को नाममा छ । मालपोत कार्यालयले जग्गाको श्रेस्ता बचाउ गर्न सहयोग गरेको छ । भू–माफियाले उल्लेखित मोहीबाट मोही हक खरिद गर्दा पनि २ बिघा ८ कठ्ठा १६ धुर प्राप्त गर्ने तथ्य छ । तर, यो तथ्यलाई अन्यत्र मोड्न केही व्यक्ति लागेका छन् ।

‘जग्गाको संरक्षण गरी रंगशाला निर्माणमा यो तथ्यले अवरोध देखिँदैन’ नेपाली काँग्रेस झापा क्षेत्र नम्बर २ का सह–सभापति तथा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ का सभापति धर्म लक्सम्बाले भने–‘यो जग्गामा मोहीको जग्गा दिएर पनि बाँकी रहेको १० बिघा १२ कठ्ठा ११ धुर जग्गामा रंगशाला बनाउन सकिन्छ, त्यसका लागि जग्गाको प्रयोगबारे स्थानीय तहले सक्रियता देखाउन र कानुनी प्रक्रिया पूरा गर्न लाग्नुपर्छ ।’

‘जग्गा संरक्षणमा कुनै कसर बाँकी राख्ने छैनौं’, बिर्तामोड नगर उपप्रमुख पवित्रा महतारा प्रसाईंले भनिन्–‘अनारमनी दुर्गा गुठी स्थानको जग्गाको संरक्षण र प्रयोगबारे हामी गम्भीर छौं ।’

उनले यसको सबै अध्ययन र नगरले चाल्नुपर्ने कदम बारे सुझाव दिन विज्ञको राय समेत लिने बताएकी छन् ।

नेपाली काँग्रेसका जिल्ला सदस्य एवं झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले डोमालाल राजवंशी रंगशाला निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए । झापा क्षेत्र नम्बर २ का संघीय सांसद पवित्रा निरौला खरेलले गुठीको जग्गा संरक्षण र रंगशाला निर्माण आफ्नो प्राथमिकतामा रहेको बताइन् ।

अदालतले रंगशालाको कित्ता नम्बर १२० को १ बिघा २ कठ्ठा १० धुर भनेको जग्गा अनारमनी दुर्गा गुठी स्थानकै नाममा रहेको पाइएको छ । तर, ८२२ को ६ कठ्ठा, ८२५ को १३ कठ्ठा र ८१५ को ७ कठ्ठा टीकादेवी विमलीको नाममा दर्ता गराउनु भनेर उल्लेख गरेको जग्गाका बारे नगरपालिकाले खोजी गर्न आवश्यक छ । कित्ता नम्बर ८२० को ८ कठ्ठा रमेश महर्जनको नाममा र ८१२ को ७ कठ्ठा सूर्यकुमार विमलीको नाममा खरिद गरेको अदालतको पत्रमा उल्लेख भएकाले सोको पनि खोजी गर्न आवश्यक छ । सूर्य मगर र शान्तिदेवी खड्काका नामबाट मोही खरिद गरेको भनिएको जग्गा र मालपोतमा भएको तथ्यांक नमिलेकाले सोको यथार्थ पनि खोज्न आवश्यक देखिएको छ ।

‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगले यो कामलाई निष्कर्षमा पुर्याउने हाम्रो अपेक्षा छ’ झापा ११ का अध्यक्ष जलकुमार गुरुङले भने–‘बिर्तामोडको यो जग्गामा रंगशाला निर्माणको विकल्प छैन ।’

भूमि सुधार ऐन २०२१ को दफा २९ को उपदफा १ मा दैवी विपत्ति परी बालीनाली नाश भएमा वा उत्पादन हुन नसकेको खण्डमा बाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएमा मोहीयानी हक समाप्त हुने उल्लेख छ ।

यस्तै, एक वर्षसम्म खेती नगरेमा वा खेतीमा हेल्चेक्र्याईँ गरेमा समेत मोहीयानी हक समाप्त हुने भूमि सुधार ऐनमा उल्लेख छ । त्यसैले अनारमनी दुर्गा स्थानको जग्गामा मोही हक समेत नरहने तथ्यले देखाएको छ ।jansamsaddaily

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button