फिल्मीखबर, काठमाण्डौ
यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ को छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको ७० दिनमा फिल्मको सुटिङ प्याकअप भएको निर्माता सन्तोष सेनले जानकारी दिए । गएको एक महिनादेखि मनाङको माइनल डिग्री तापक्रममा फिल्मको छायांकन भैरहेको थियो । मंगलवार छायांकन सकिएपछि बुधवार फिल्मको जम्बो टोली काठमाडौं आइपुगेको छ ।
आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउने फिल्मको अब एक प्रोमोसनल गीत खिच्न बाँकी रहेको निर्माता सेनले बताए । फिल्मको छायांकन सँगसँगै सम्पादन पनि एकसाथ चलिरहेको थियो । अब, फिल्मको कलर करेक्सन, ब्याकग्राउन्ड स्कोर र डबिङको काम सुरु हुने बताइएको । तीन करोड लागतमा बनेको फिल्मलाई छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेका हुन् ।
मनाङ प्रस्थान गर्नुभन्दा अगाडि ‘प्रेमगीत ३’ को ४५ प्रतिशत दृश्य काठमाडौंको कीर्तिपूरमा भव्य सेट निर्माण गरेर खिचिएको थियो । फिल्मका लागि सबैभन्दा ठूलो खर्च काठमाडौंमा निर्माण गरिएको सेट र मनाङमा मुस्ताङबाट मगाइएको घोडामा भएको बताइएको छ । ३ हजार ५ सय मिटर उचाइको मनाङमा फिल्मका लागि अधिकांश हिउँ परिरहेको दृश्य कैद गरिएको छ ।



