
जीतेन्द्रनिरन
हातमा गुलाबको फूल हल्लाउँदै दौडेको मसिनेलाई मैले सोधेँ , हैन ए मसिने के को हाँप र झाप गर्दै कता दौडेको ? हतारको मसिनेले भन्यो लभकेटीलाई भेट्न के दाजु आज भिलेन्टाईन हो नि त । हिजो शुक्रबारको दिनको कुरा हो यो फिसबुकदेखि मन्छीको मुखमा पनि सबैतिर एकछिमलका मन्छीको कामनै भिलन्टाईनको मात्रै कुरा थियो । नातिनातिना भै सकेका हजुर आमा र बा हरु पनि एक आर्कालाई भिलेन्टाईन भनिरहेका थिए । यही देशमा उदेक उदेक हुने गर्छ , आफ्नो पन र मन सुस्तरी पराईसँग जोड्नका लागि अत्तोनपत्तो सँग बडडे र यो भिलेन्टाईन आफ्नै परम्परा जस्तो भएको देखेर चिन्ताप्रसाद आँगनमा बसेर फत्फताई रहेको थियो ।
हामी ७० बर्खका हुँदा पनि यो बडडे र भिलेन्टाईन नगर्दा अहिले सम्म ठाँगेले छोएको छैन चिन्ताप्रसाद एक्लै फलाकी रहेका थिए । जति जति बडडे र भिलेन्टाईनको ताईनतुईको चलन आयो उतिउति मन्छी रोगी र बिरामी भए अनि लोग्नेस्वास्नीको कलह र छोडाछोड बडेर गयो एक हिसाबले चिन्ताप्रसाद ठिकठिकै भन्दै थिए । मसिनेले पनि भिलेन्टार्ईन मनाउन फूल बोकेर कुदेको कथा सुनेपछि एक पटक चिन्ताप्रसाद तातेको हलुङ्गे जस्तै गरेर जंगीए ‘ हैन यो असती धतुलायो कि के हो ? घरमा अगालाभरिकी स्वास्नी हुदाहुदै के गर्न त्यसको जात्रा गर्दै छ ? मैले चिन्ताप्रसादलाई संझाएँ , चिन्ताप्रसाद जी अहिलेको जमाननै यस्तै छ के यो आधुनिक सभ्य समाज हो सानातिना कुरामा टेन्छीन लिनु हुन्न के । चिन्ताप्रसादले आफ्ना पुतली जुँगा चिल्याउँदै भने — के को सभ्भे र आधुनिक ? आफ्नो रितीथिती र संस्कुतिलाई मारेर पराईको भाका र पारामा हिड्नु जंगली चै हो । उनले अलिक गंभीरे मोडमा भने — छोटा लुगा लाउँदा, ईङ्गरेजी बोल्दा, पाकेट र बोतलको नाना थरि होर्सदा सभ्भे हुईन्छ कि बनमान्छे हुईन्छ ?
चिन्ताप्रसादले आजुका मन्छीहरुको चर्तिकलाको रााम्रै बखान गरे, हुनुपनि आफ्नो जति सबै थोक छाडेर अर्काको सबै थोक लिएर कोट टाई भिर्दैमा , दुईचार ईङ्गलिस बोल्दैमा हाम्रो गाउँघर तिर ईन्टलीजेन्ट भन्न थालिएको छ । मन्छीको सोमत, चरित्र र ब्यबहार भन्दा पनि लुगाफाटा र लालीपाउडरमा पर्सनालिटी देख्ने हामेरका आँखामै र दिमागमै पो भ्रम छ कि एकपटक एक्लै गंभीरे मोडमा बसेर सोच्ने बेला भको छ कि जस्तो चै मलाई पनि लागेको छ । चिन्ताप्रसाद जी हाम्रो गाउँका पुराना सर हुन् उनले धेरै बर्ख सम्म पढाए उनका धेरै बिध्यार्थी अहिले ठूल्ठुला पदमा पुगेकाछन् गाउँघरमा उनी ईङ्गलिस सर भनेर पनि चिनिन्छन् तर उनले कहिलेपनि यो बडडे र भिलेन्टाईनको नक्कल गरेको थाहा भएन । चिन्ताप्रसादसँग बिदा मागेर हिड्न लागेको थिएँ त्यही बेला मसिने पनि टुपलुक्क आईपुग्यो मसिने छायाँ पर्न साथ चिलले चल्लालाई झम्टे जस्तै गरि चिन्ताप्रसादले घाँटी फुलाउँदै भने — तँ आजै मानसिक अस्पताल जा ए पागल मसिने , हैन तैले यो केको रामलीला गरेको हँ ? तेरा बराजुले नजानेको यो फिरङ्गीको भिलैनटाईन न यसको अर्थ तँलाई था छ न यसको सस्कार तँलाई थाहा छ , कुन केटीलाई फूल दिन दौडेको थिस अरे नि ?
मसिनेले मधुरो स्वरमा भन्यो ‘ देवतुल्य पिता श्री , म अरुलाई होइन , कसले कसलाई किन दिए थाहा छैन तर तपाईकी श्रीमतीले यो दुनियाँमा मलाई जति प्रेम कसैलाई गर्नु हुन्न, उहाँको प्रेम फेसबुक , स्वार्थ र नाटकको होइन प्रशान्त महासागर पनि उहाँको प्रेमको उहाँको स्नेहको प्रवाहका अघि फुच्चे हुन्छ त्यसैले म त मेरी आमालाई आज सम्म मैले दिएका सारा दुखको क्षमायाचना गर्दै प्रेम प्रकट गर्न दौडेको थिएँ , काकाले कता हौ मसिने भनेर सोधेका थिए मैले यसै लभकेटी भेट्न भनेर उटाङ्गे कुरा गरेको पो थिएँ । मसिनेको मलिन र मिजासिलो कुरा सुने पछि चिन्ताप्रसादलाई पनि खै के लाग्यो उनी पनि यसो कोर्छेकोर्छे मुण्टो पारेर मुसुक्क मस्किए, म पनि बाटो लागेँ ।


