

एस पी लुइँटेल
न्यानो आगो तापेर भर्सेलामा
ढाडे सुतेको छ,
निदाएको छ, अरुले देख्दा
माथि शिकियामा दुध छ, मैले देख्दा
जुठेल्नाको काम सकिन्छ,
लोटाईपोती आमा भित्र पस्छिन,
सयनकोठामा,सुत्ने तरखरमा
म उठ्छु,त्यो ढाडे हेर्न,
ढाडे उठ्छ त्यो दुध हेर्न,
दुध,जो अमृत हो ,
रस हो,बल हो,तागत हो
पिएर ऊ भाग्न चाहन्छ
टाढा म देखि,आमादेखि,अनि
त्यो न्यानो भर्सेला देखि
अर्को भर्सेलोमा, अर्को शिकियामा
उही न्यानो खोज्दै ,
उही रस अमृतको खोजीमा साइँदुवा हुँदै
तागत बटुल्न, थिचोमिचो गर्न
यो ढाडे, त्यो भर्सेलाको ढाडे
किन किन मुसाहारमा ऊ बेखबर छ
आफ्नो मार्ग, आफ्नो नियम , आफ्नो बिचारमा
ऊ दिग्भ्रमित छ, अटेर पनि छ
बिचलित छ , अथिर पनि छ
कतै यो ढाडे आफ्नो इतिहासबाट तल झरेर
विचारबाट स्खलित भएर
चोरीको दाउ र छलकपटको लतमा
भर्सेला(भर्सेलामा सुतेको स्वाङ्ग्ले
बिब्ल्याँटो गतिमा उभिएको त होइन ?


