
अर्घाखाँची, असार २७ गते । लामो समयपछि मनसुन सक्रिय भएसँगै अर्घाखाँचीमा धान रोपाइँले तीव्रता पाएको छ । रोपाइँको मुख्य समयमा कृषि श्रमिकको अभाव भएपछि किसान समयमै रोपाइँ सम्पन्न गर्न नसक्ने चिन्तामा परेका छन् ।
सन्धिखर्क नगरपालिका–४, वाङ्ला हटियाका कृषक धु्रव पाण्डेले रोपाइँको समयमा कृषि श्रमिकको अभाव भएको बताउनुभयो । पैसा तिर्न तयार हुँदासमेत आवश्यक सङ्ख्यामा कृषि श्रमिक नपाउँदा रोपाइँ ढिलो भइरहेको पाण्डेको भनाइ छ । उहाँका अनुसार केही वर्षअघिसम्म रोपाइँका बेला सहजै कृषि श्रमिक पाइने गरे पनि पछिल्ला वर्षमा श्रमिक अभाव बढ्दै गएको छ । “यही अवस्था रहिरहे साउनसम्म पनि सबै खेतमा रोपाइँ सम्पन्न गर्न कठिन हुन्छ,” उहाँले भन्नुभयो ।
मालारानी गाउँपालिका–४, खन नुवालीटोलका कृषक यमप्रसाद घिमिरेले कृषि श्रमिक अभावकै कारण रोपाइँ गर्न नसकिएको बताउनुभयो । गाउँमा भएका पनि काममै व्यस्त भएकाले कृषि श्रमिक पाउन असहज भएको घिमिरेले बताउनुभयो ।
कृषि श्रमिक पाए पनि ज्यालादर निकै बढेको कृषकको भनाइ छ । मालारानी–५, आरुखोरका शोभाखर खत्रीले गत वर्ष प्रतिदिन सात सय रुपियाँमा काम गर्ने कृषि श्रमिक यस वर्ष एक हजार रुपियाँ दिँदासमेत नपाइएको बताउनुभयो । कृषिक्षेत्रमा काम गर्ने श्रमिक अन्य पेसातर्फ आकर्षित हुँदै जानु, बढ्दो सहरीकरण तथा वैदेशिक रोजगारीका कारण अभाव चुलिएको किसानहरुको भनाई छ ।
कृषिक्षेत्रमा श्रमिक अभाव र बढ्दो ज्यालादरका कारण खेतीको लागत निरन्तर बढ्दै गएको कृषिक्षेत्रका जानकार बताउँछन् । कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले अर्घाखाँचीमा ४० प्रतिशत रोपाइँ पनि हुन नसकेको बताउनुभयो । यो गत वर्षको सोही अवधिको तुलनामा कम हो ।
गोरखापत्र अनलाइन



