सृजनाको चौतारीहेड लाइन

भानुभक्तको २१३औँ जन्मजयन्तीको अवसरमा काँकरभिट्टामा खुल्ला कविता प्रतियोगिता सम्पन्न

झापा — आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसर पारेर झापाको काँकरभिट्टामा शनिबार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ।

काँकरभिट्टास्थित भानु साहित्यिक प्रतिष्ठानको आयोजनामा सम्पन्न प्रतियोगितामा  सहभागी भएका कविहरूले नेपाली भाषा, साहित्य, संस्कृति, राष्ट्रियता तथा समकालीन सामाजिक विषयवस्तुलाई समेटेर आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष डिल्लीराम घिमिरेका अनुसार प्रतियोगिताका विजेताहरूलाई आगामी असार २९ गते आयोजना हुने भानुभक्तको २१३औँ जन्मजयन्ती विशेष समारोहमा पुरस्कार प्रदान गरिनेछ।

उक्त जन्मजयन्ती समारोहमा नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा उल्लेखनीय योगदान पुर्‍याएका स्रष्टा तथा साहित्यकारहरूलाई नगदसहित सम्मान गरिने कार्यक्रम रहेको अध्यक्ष घिमिरेले जानकारी दिए।

शनिबार सम्पन्न खुल्ला कविता प्रतियोगिता प्रतिष्ठानका अध्यक्ष डिल्लीराम घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्राध्यापक तथा डा. टंक न्यौपाने उपस्थित रहेका थिए। कार्यक्रममा दामोदर ढुङ्गेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन कवि जयप्रसाद आचार्यले गरेका थिए।

आयोजकका अनुसार भानुभक्त आचार्यको जन्मजयन्तीलाई केवल औपचारिक समारोहमा सीमित नराखी नेपाली भाषा, साहित्य र मौलिक संस्कृतिप्रति नयाँ पुस्ताको आकर्षण बढाउने उद्देश्यले प्रत्येक वर्ष विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आइएको छ। यस वर्षको खुल्ला कविता प्रतियोगिताले पनि स्रष्टाहरूलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकको भनाइ छ।

भानुभक्त आचार्य नेपाली भाषाका आदिकविका रूपमा परिचित छन्। उनले नेपाली भाषामा रामायण अनुवाद गरी साहित्यलाई जनस्तरसम्म पुर्‍याएको ऐतिहासिक योगदानका कारण उनको जन्मजयन्ती नेपालभर विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाउने परम्परा रहँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button