
काठमाडौं । किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टनस्थित जिलेट स्टेडियममा बिहीबार राति सम्पन्न क्वार्टरफाइनलमा फ्रान्सले अफ्रिकी च्याम्पियन मोरोक्कोलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले आफ्नो आक्रामक खेल प्रस्तुत गर्दै लगातार दुई गोल गरेको थियो । खेलको ६०औँ मिनेटमा सुपरस्टार किलिएन एमबाप्पेले डीबक्सको बाहिरबाट दायाँ खुट्टाले प्रहार गरेको आकर्षक कर्लिङ सट गोलमा परिणत भएपछि फ्रान्सले अग्रता बनायो । जारी विश्वकपमा एमबाप्पेको यो आठौँ गोल हो, जसले उहाँलाई प्रतियोगिताको सर्वाधिक गोलकर्ताको दौडमा अझ बलियो बनाएको छ ।
एमबाप्पेको गोलको प्रभाव सेलाउन नपाउँदै फ्रान्सले अर्को प्रहार गर्यो। ६६औँ मिनेटमा ओसमान डेम्बेलेले मध्यभागबाट बल अघि बढाउँदै व्यक्तिगत कौशल प्रदर्शन गर्नुभयो र शानदार फिनिसिङमार्फत फ्रान्सको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि मोरोक्को खेलमा फर्किन नसक्दा फ्रान्स सहज जित निकाल्न सफल भयो।
खेलमा मोरोक्कोले अपेक्षित प्रदर्शन गर्न सकेन । अफ्रिकी च्याम्पियन टोलीले बल नियन्त्रणमा केही समय राम्रो खेल देखाए पनि फ्रान्सको रक्षापंक्ति तोड्न असफल रह्यो। मोरोक्कोले पहिलो प्रभावकारी प्रहार ८३औँ मिनेटमा मात्रै गर्न सकेको थियो । एजेटिन ओनाहीले फ्रिकिकमार्फत गरेको प्रहारलाई फ्रान्सका गोलरक्षक माइक माइन्नानले उत्कृष्ट बचाउ गर्दै टोलीको क्लिन सिट जोगाउनुभयो ।
यसअघि खेलको २८औँ मिनेटमा फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो । मोरोक्कोका नोसैर मज्राउईले डीबक्सभित्र एमबाप्पेलाई लडाएपछि रेफ्रीले सुरुमा खेल जारी राखे पनि भिएआर समीक्षा पछि पेनाल्टी दिनुभएको थियो । तर एमबाप्पेको प्रहारलाई मोरोक्कोका अनुभवी गोलरक्षक यासिन बोनोले शानदार बचाउ गर्दै टोलीलाई तत्काल संकटबाट जोगाउनुभएको थियो ।
पहिलो हाफभर दुवै टोलीले सावधानीपूर्वक खेल्दा गोल निस्कन सकेन । दोस्रो हाफमा भने फ्रान्सले खेलको गति बढाउँदै लगातार दबाब सिर्जना गर्यो, जसको प्रतिफल दुई गोलका रूपमा प्राप्त भयो । त्यसपछि फ्रान्सले खेलको नियन्त्रण कायम राख्दै मोरोक्कोलाई कुनै स्पष्ट अवसर सिर्जना गर्न दिएन ।
यस जितसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्स अर्को विश्वकपको उपाधि यात्रातर्फ अघि बढेको छ। अब फ्रान्सले सेमिफाइनलमा स्पेन र बेल्जियमबीच हुने क्वार्टरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। उक्त सेमिफाइनल टेक्सासको आर्लिंगटनमा मंगलबार हुनेछ ।
हिमालय टाइम्स



