खेलकुद

तलब कटौती गर्न सहमत आर्सनलका खेलाडी

कोरोना भाइरस महामारीका कारण विश्व नै गतिविधिशून्यजस्तै बनेको छ । यसले खेलकुद क्षेत्रमा पनि ठूलो असर पारेको छ । ठूला क्लबहरू बिस्तारै आर्थिक संकटमा पर्ने सम्भावना देखिएको छ ।

युरोपका कतिपय लिगमा आफू आबद्ध क्लबलाई आर्थिक संकटबाट बचाउन खेलाडी, प्रशिक्षक र खेल अधिकारीले आफ्नो तलबमा स्वेच्छाले कटौती गर्न थालेका छन् । इंग्लिस क्लब आर्सनलका खेलाडीले पनि त्यही बाटो अपनाएका छन् । क्लबलाई यो संकटको सामना गर्न सहज होस् भन्ने उद्देश्यले खेलाडीहरू आफ्नो तलबबाट केही रकम कटौती गर्न तयार छन् ।

इंग्ल्यान्डमा क्लबहरूलाई आर्थिक संकटबाट जोगाउन इंग्लिस प्रिमियर लिगले सम्बन्धित क्लबका खेलाडीलाई आफ्नो तलबमा कटौती गरी सहयोग गर्न आग्रह गरिरहेको छ । त्यसमा खेलाडीलाई आफ्नो तलबको ३० प्रतिशत रकम कटौती गर्न प्रस्ताव गरिएको छ।

यद्यपि, सो प्रस्ताव आफूहरूका लागि अव्यावहारिक हुने भन्दै सबै टोलीका खेलाडीहरूले सहमति जनाइसकेका छैनन् । यही समय आर्सनलका खेलाडी भने आफ्नो तलब कटौती गर्न सहमत भएका हुन् । यसअघि वाटफोर्ड, साउथह्याम्पटन र वेस्टह्यामले आफ्ना खेलाडीलाई तलब कटौतीमा सहमत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button