
श्रावण ४, २०७७
एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले सानदार जित निकाल्दै शीर्ष ६ भित्र पर्ने सम्भावनालाई जीवितै राखेको छ ।
घरेलु मैदान सान सिरोमा शनिबार राति भएको खेलमा बोलोग्नामाथि ५–१ को सानदार जित निकाल्दै एसी मिलानले शीर्ष ६ मा रहेर अर्काे सिजनको युरोपा लिगा खेल्ने सम्भावना जीवितै राखेको हो । मिलानको फराकिलो जितमा साइलेमकर्स, हकान कलहानोग्लु, इस्माइल बेनासर, एन्टी रेविच र डाभिड कालाब्रियाले गोल गरे ।
पाहुना टोलीका ताकेहिरो तोमीयासुले सान्त्वना गोल फर्काए । गोलको वर्षा भएको खेलमा मिलानले खेलको १०औं मिनेटमा एलेक्सिसको गोलबाट अग्रता बनाएको थियो । २४औं मिनेटमा हकानले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा ताकेहिरोले गोल गरेपछि पहिलो हाफ २–१ को अवस्थामा सकिएको थियो ।
४९औं मिनेटमा इस्माइलले गोल गर्दै मिलानलाई ३–१ को अग्रता दिलाए । ५७औ मिनेटमा एन्टी रेविचले ज्लाटन इभ्राहिमोभिचको पासमा गोल गर्दै मिलानलाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डाभिडले गोल गर्दै मिलानलाई ५–१ को सानदार जित दिलाए ।
जितसँगै छैटौ स्थानमा उक्लिएको मिलानको ३४ खेलबाट ५६ अंक पुगेको छ । एक खेल कम खेलेको रोमाको ५३ अंक छ । पराजित बोलोग्ना ४३ अंक जोडेर १०औं स्थनमा छ ।hamrokhelkud/from



