सृजनाको चौतारी

सरकार जिन्दावाद !

जी एन शर्मा
कविता
यो सरकार अर्थात हाम्रो सरकार
ईतिहासकै पहिलो बहुमतको कम्युनिष्ट सरकार
हाम्रो आशा र भरोसाको सरकार
अर्थात यो हाम्रो सरकार अनि हाम्रो गौरव

हाम्रा ब्यथालाई बुझ्न नसके पनि ब्यथाको पिडादायि संगीतमा मस्त बनेको सरकार
हाम्रा भोक र अभावहरुलाई न छामे पनि , ढुकुटी र समृद्ध बनाउँछु भन्ने सरकार
भ्रष्ट, माफिया र कमिसनवालको जगजगिमा सुशासनको गीत सुनाउने सरकार
यो सरकार हाम्रो सरकार, हामी सबैको गौरवको सरकार
हाम्रो सरकार हाम्रो गौरव भनेर हामीले किन नभन्ने ?
हाम्रो धड्कनलाई छाम्न नसके पनि हाम्रो अस्थिपञ्जरलाई हेरिदिने सरकार

चाङका चाङ सपनाको थुप्रो बनाईदिएर सपनाले हामीलाई पेट भरिदिने सरकार
कारोना र बाढीले हामी बगिरहँदा समवेदना र सान्तवना समेत दिने सरकार
हिजो जे जे भनेको थियो त्यो नगरे पनि नभनेका जति सबै गर्ने सरकार
यो सरकारलाई सरकार जिन्दावाद किन नभन्ने ?
विदेशमा रहेका नेपालीको लासको बाकसको ख्याल नगरे पनि नक्शा सम्म ल्याउने सरकार
यो हाम्रो ईतिहाँसकै स्मरणको सरकार, म त भन्छु सरकार जिन्दावाद
झुप्राले कुहिएको चामल नपाए पनि अरबौँको खर्चको हिसाब देखाउने सरकार
सुकुुम्बासीले छाप्रो नपाए पनि स्मार्ट सिटिको योजना ल्याउने सरकार
यो सरकार हाम्रो सरकार, शोषित पिडित र दुखिहरुको सुखी सरकार
संक्रमणले सबैतिर हाहाकार मच्चाउँदा पनि चिन्तन मनन र बहसमा जुटिरहेको सरकार
जनजनका दारुण आवाजलाई पनि किस्सा संझेर हाँसिरहेको सरकार
यो सरकार हाम्रो सरकार, हाम्रो सरकार हाम्रो गौरव
प्रशंसा र सम्मानको योग्य सरकार
ईतिहाँसकै एक अनौठो सरकार
नागरिकलाई नदेखे पनि नागरिकको आँशुलाई भावुक बनेर हेरिरहेको सरकार
आफु भए पनि न भए पनि जनताले कम्युनिष्ट हो भनेर भरोसाले भोट दिएको सरकार
यो सरकार हाम्रो सरकार
हामी सबै नेपालीको सरकार
हाम्रो गौरव , हाम्रो सरकार
यदि भनेन भने , राष्ट्रघाति भइन्छ कि भन्ने पिरलो पनि बोक्नु परेको सरकार
यदि भनेन भने, प्रतिगामी भइन्छ कि भन्ने त्रास बोक्नु परेको सरकार
यो सरकार हाम्रो सरकार, हाम्रो गौरव हाम्रो सरकार
सरकार जिन्दावाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button