
बुधबार, अशोज १४, २०७७
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका स्पेनिस मिडफिल्डर थियागो अलकान्तरालाई कोरोना संक्रमण पुष्टि भएको छ । लिभरपुुलले अलकान्तरालाई कोरोना पुष्टि भएको बताउँदै उनी आइसोलेसनमा बसिसकेको जानकारी दिएको छ ।
२९ वर्षीय अलकान्तरामा कोरोना देखिएपछि उनले प्रिमियर लिगमा सोमबार राति आर्सनलमाथि ३–१ को जित निकालेको खेल गुमाएका थिए । क्लबले अब अलकान्तरा अन्तर्राष्ट्रिय ब्रेकपछि मात्रै टोलीमा उपलब्ध हुने बताएको छ ।
क्लबले उनीमा कोरोनाको सामान्य लक्षण देखिएको जानकारी दिएको छ । क्लबका पहिलो टिमका डक्टर मोक्सनले थियागाको स्वास्थ्य अवस्था ठिक रहेकाे बताएका छन् । उनले कोरोनाका सबै प्रोटोकल अपनाएर उपचार गरिरहेको उनी छिट्टै टोलीमा सामेल हुने बताएका छन् ।
थियागोले सामाजिक सन्जाल ट्वीटरमा ‘निको हुने समय’ भनेर पोस्ट गरेका छन् । उनको पुर्व क्लब जर्मन बायर्न म्युनिखले पनि उनको स्वास्थ्यलाभको कामना गरेको छ । उनले आइतबार हुने एस्टन भिल्लाविरुद्धको खेल गुमाउने छन् । त्यसपछि अन्तर्राष्ट्रिय विश्राम हुनेछ ।
७ अक्टोवरमा मार्सिसाइड डर्वी अर्थात एभर्टनविरुद्धको खेलमा उनले टोलीमा पूनरागमन गर्न सक्नेछन् । इंग्ल्यान्डको उत्तर पश्चिम, विशेषगरी लिभरपुल शहरका कोरोना संक्रमण दर बढ्दै गइरहेको छ । लिभरपुल सिटी काउन्सिलका अनुसार हरेक सातामा १३२३ जना भन्दा बढीमा कोरोना देखिएको छ ।
यसै सिजन जर्मन क्लब बायर्न म्युनिखबाट लिभरपुल आएका अलकान्तराले गत आइतबार चेल्सीविरुद्ध २–० को जित निकालेको खेलमा डेब्यु गरेका थिए ।
आर्सनलविरुद्धको खेल अघि नै लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले अलकान्तरा अन्तर्राष्ट्रिय ब्रेकपछि नै टोलीमा सामेल हुने बताएका थिए ।
प्रिमियर लिगले सेप्टेम्वर २१ र २७ को बीचमा १५९५ खेलाडीको कोरोना परिक्षण गर्दा १० भन्दा बढी खेलाडीमा कोरोना पुष्टि भएको उल्लेख गरेको छ ।hamrokhelkud/from



