२१ आश्विन २०७७
एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको विषयमा लेखेको विवादस्पद स्ट्याटसलाई सामाजिक सञ्जाल फेसबुकले डिलिट गरेको छ ।
कोरोना संक्रमित भएर तीन दिनको अस्पताल बसाई पछि फर्किएका ट्रम्पले कोरोनाभन्दा अमेरिकामा हुने सिजनल फ्लू खतरनाक भएको भन्दै स्ट्याटस लेखेका थिए । सूचनाले भ्रम सिर्जना गर्न सक्ने भन्दै फेसबुकले उक्त स्ट्याटस हटाइदिएको हो ।
ट्रम्पले पोष्टले फेसबुकको कोभिड-१९ को मिसइन्फर्मेसन सम्बन्धी नीति उलंघन गरेको फेसबुकका प्रवक्ता एन्डी स्टोनले बताएका छन् ।
“फ्लूको सिजन आउँदै छ । भ्याक्सिन हुँदा पनि हरेक बर्ष एक लाख भन्दा बढी फ्लूबाट मर्ने गर्दछन् । के हामीले देश बन्द गर्ने ? होइन, हामीले यससँग बाँच्न सिक्नुपर्छ । जसरी हामीले कोभिडसँग बाँच्न सिक्दै छौं, धेरै जनसंख्यामा यो कम प्राणघातक छ ।”, ट्रम्पले लेखेका थिए ।
यसअघि अगस्टमा पनि फेसबुकले ट्रम्पको स्ट्याटस हटाएको थियो ।
फेसबुकमात्र होइन ट्वीटरले राष्ट्रपति ट्रम्प र उनको भ्रमात्मक अभियानलाई दण्डित गर्ने नीति लिएका छन् ।
ट्रम्पका लागि ट्वीटर अति प्रिय माध्यमका रुपमा रहँदै आएको छ । आफ्ना महत्वपूर्ण घोषणा, योजना तथा रणनीतिहरु यही माध्यमबाट प्रस्तुत गर्छन् ।

त्यो भन्दा बढी आफ्ना आलोचक तथा विपक्षी विरुद्धका टिप्पणीका लागि ट्रम्पले ट्वीटरलाई प्रयोग गर्ने गरेका छन् । ट्रम्पको सबैभन्दा ठूलो ‘शत्रु’ सञ्चारमाध्यम र पत्रकार हुन् । उनले बारम्बार पत्रकार तथा सञ्चार माध्यमलाई आलोचना गर्ने गरेका छन् ।
आफ्नो विपक्षमा लेख्ने वा बोल्ने सञ्चारमाध्यम र पत्रकारलाई उनले ‘फेक न्यूज’ भन्ने गरेका छन् । पछिल्लोपटक उनले पत्रकारलाई आक्रमण गरेर लेखेको ट्वीट डिलिट गर्न बाध्य भएका छन् ।
यस अघि राष्ट्रपति ट्रम्पले ‘बच्चाहरूमा कोरोना भाइरसविरुद्धको रोग प्रतिरोधी क्षमता हुने’ दाबी गरेका थिए । उक्त भिडियो सामग्री फेसबुकले डिलिट गरिदिएको थियो ।
ट्रम्पले फक्स न्यूजको बिहानी कार्यक्रम फक्स एण्ड फ्रेण्डसमा सबै विद्यालय खोल्ने समय आएको र बालबालिकामा कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता रहेको भन्दै दिएको अन्तर्वार्ता पनि फेसबुकले हटाएको थियो ।
केही अघि ट्वीटरले कोरोना भाइरससम्बन्धी गलत सूचना सम्प्रेषण गरेको भन्दै ट्रम्पका छोरोको ट्विटर अकाउन्ट पनि अस्थायीरुपमा निलम्बन गरेको थयो ।
ट्वीटरले तथ्य–जाँचलाई चेतावनीको संकेत दिएर राख्छ र त्यसमा क्लिक गरेपछि तथ्या जाँच हेर्न पाइने छ ।
ट्वीटको ठीक तल आश्चर्यवाचक चिन्ह सहित तथ्य–जाँच राखिएको हुन्छ ।
ट्रम्पले लगातार गलत र भ्रामक जानकारी पोस्ट गर्ने गरेकाले सामाजिक सञ्जाल ट्वीटरले सावधानीको संकेत दिन थालेको हो ।
ट्रम्पले सन् २००१ मा भएको लोरी क्लाउसुटिसको निधनका बारेमा गरेको भ्रामक ट्वीट डिलिट गर्न नमानेपछि ट्वीटरले उनका ट्वीटमा तथ्य–जाँच राख्न थालेको हो ।
ट्वीटरले तथ्य–जाँच राख्न थालेपछि ट्रम्प अति आक्रोशमा आएका छन् । उनले लगातार ट्वीट गरेर वाक स्वतन्त्रताको ट्वीटरले हनन् गरेको आरोप लगाएका छन् । उनले आफू राष्ट्रपतिका हैसियतमा वाक स्वतन्त्रतामाथि आक्रमण हुन नदिने भन्दै ट्वीटरलाई नै चेतावनी दिएका छन् ।
उनले आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा अब ट्वीटरले दखल दिन थालेको समेत गम्भीर आरोप लगाएका छन् ।



