२५ आश्विन २०७७
जनादेश, काठमाडौँ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै १८ सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
उनीहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएको बताएका छन् । सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गरेको हो ।
अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलगायत रहेका छन् ।


यो प्रकरणले कर्णाली प्रदेशमा नेकपाभित्र गम्भीर मतभेद विवाद भैरहेको पुष्टि गरेको छ । शाही पूर्वमाओवादी पक्षबाट सात प्रदेशमा बनेका दुई मुख्यमन्त्रीमध्ये एक हुन् । नेकपा एकतापछि पूर्वमाओवादी पक्षबाट सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा मुख्यमन्त्री बनेका थिए भने तत्कालीन एमालेबाट अन्य ४ प्रदेशमा मुख्यमन्त्री चुनिएका थिए ।



