खबर

कक्षा १२ को अन्तिम परीक्षाको फाराम भर्नुअघिसम्म कक्षा ११ को नतिजा पठाउन निर्देशन

मंसिर १९, २०७७

काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फाराम भर्नुअघिसम्म कक्षा ११ को विद्यार्थीको नतिजा पठाउन सम्बद्ध विद्यालयहरूलाई निर्देशन गरेको छ । त्यसअघि विद्यालयले आफ्नो आन्तरिक कार्यतालिका अनुसार परीक्षा गर्न सक्नेछन् । पुरानो शैक्षिक सत्रको कक्षा १२ को परीक्षा झण्डै आठ महिनापछि भएकाले नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यस्तो गृहकार्य गरिएको हो ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षाको अन्तिम फाराम भर्नुअघिसम्म कक्षा ११ को परीक्षा लिएर नतिजा प्रकाशनको काम विद्यालयहरूले सक्नुपर्ने कार्यतालिका रहेको बताए ।

कक्षा १२ को परीक्षा फाराम हाल खुलेको छैन । भर्खरै बोर्डले स्थगित अवस्थामा रहेको यसअघिको कक्षा १२ को परीक्षा भने लिइसकेको छ । यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसित छलफल गरिने उनको भनाइ छ । शैक्षिक सत्रको गणना कहिलेबाट कसरी गर्ने भन्ने विषयमा मन्त्रालयसित कुराकानी गरेर टुङ्गो लगाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । यस अवधिमा विद्यालयहरूले विद्यार्थीको परीक्षा आन्तरिक रूपमा सञ्चालन गर्न सक्नेछन् ।गोरखापत्र दैनिकमा समाचार छ ।

बोर्डले यस पटकबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिएको छ । कोरोना सङ्क्रमणका कारण यस पटकबाट कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार विद्यालयलाई दिइएको भए पनि अब त्यो अधिकार सधैँका लागि विद्यालयलाई नै हस्तान्तरण गरिएको जानकारी बोर्डले दिएको छ । यसअघि कक्षा ११ को अन्तिम परीक्षा राष्ट्रियस्तरमा नै बोर्डले नै सञ्चालन गर्ने गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button