सृजनाको चौतारी

म मरेको भोली पल्ट !

म मरेको भोली पल्ट पक्कै यस्तै हुँदो हो
ओछ्यानबाटै छोरीले आँखा मिच्दै बाबा भनेर बोलाउँदी हो
निन्द्रामै छोराले बाबा भन्दो हो
तिमी अनुत्तरित बनेर , भित्तापटि फर्केर भक्कानिदै मौनता मलाई गाली गर्दी हौ

केहीलाई केही नभए जस्तो लाग्दो हो
केहीलाई केही पनि नभएकोमा अन्तरमनमा उल्लास हाँस्दो हो
म मरेको भोली पल्ट पक्कै यस्तै हुदो हो
केहीलाई मेरो मृत्युसँग आक्रोश उठ्दो हो
केहीलाई काललाई धन्यवाद ज्ञापन गर्न शब्दको अभाव हुदो हो

छोरीले न देखे पछि बाबा भन्दै मलाई पाउन माग गर्दी हो
छोराले अबोध आँशुसँगै मलाई बोलाउँदो हो
तिमी तिमीसँग कुनै जवाफ नभएर, घोप्टो परेर मलाई यो गरेको भन्दै प्रश्न गर्दी हौ
म मरेको भोली पल्ट पक्कै यस्तै यस्तै त हुँदो हो

केहीलाई म नहँदाको अभावले पोल्दो हो
केहीलाई म नहुँदाको सहजताले आनन्द प्राप्त हुँदो हो
केहीलाई अझै भए हुन्थ्यो नि भन्ने पनि हुँदो हो
केहीलाई सधै हुँदैन र सधै नहोस भन्ने लाग्दो हो

तिमी उदास यात्राको लहरमा हराएर बेहोस जस्तै बाँचेकी हुँदी हौँ
छोरी र छोरा उही आफ्नो जिकिरमा अडिग हुँदा हुन्
केहीलाई किन यस्तो भन्ने लाग्दो हो
केहीलाई क्या गजब भन्ने लाग्दो
तिमीलाई एउटा घातले छोपी रहँदो हो
मौनता मै मलाई प्रश्न गर्ने बानी लाग्दो हो, यो के गरेको भनेर
म मरेको भोली पल्ट पक्कै यस्तै हुँदो हो
प्रत्येक भोलीहरुमा
तिमीले मलाई सोधी रहने एउटा चोट हुँदो हो
कसैलाई छातीमा चस्स पारिरहने एउटा रोग हुँदो हो
कसैलाई त्यही छातीको काँडो निस्किएको आनन्द आउँदो हो
म मरेको भोली पल्ट पक्कै यस्तै यस्तै त हुँदो हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button