स्वास्थ्य

ठूलो आन्द्राको क्यान्सरबारे जान्नुपर्ने कुरा

ठूलो आन्द्राका कोषिका अनियन्त्रित भएर विभाजित हुनुलाई ठूलो आन्द्राको क्यान्सर भनिन्छ। संसारमा क्यान्सर रोगले मृत्यु हुनेमा यो क्यान्सर फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा छ। सबैभन्दा बढी पहिचान हुने क्यान्सरको सूचीमा तेस्रो नम्बरमा पर्ने यो क्यान्सरको सुरुवात ठूलो आन्द्राको भित्रपट्टीको माथिल्लो तहमा मासुको डल्लो (पोलिप) पलाएपछि हुने गर्दछ। यस्ता सबै पोलिप सुरुको अवस्थामा हानीकारक हुँदैनन्, तर यी सबै (पोलिप)लाई यदि समयमै पहिचान गरेर निकाल्न सकिएन भने भविष्यमा यसबाट ठूलो आन्द्राको क्यान्सर हुने प्रबल सम्भावना रहन्छ।

जोखिमका कारण
-मोटोपना, आलस्यपन
-व्यायाम/कसरतको कमी
-अत्यधिक धुम्रपान र मद्यपान
-सेकुवा, सकुटीजस्ता धुवामा सेकेको खानेकुरा
-सागसब्जी कम खाने र रातो मासु बढी खाने
-प्रशोधित खानेकुरा

यी त भए हामीले चाहेको खण्डमा परिवर्तन गर्न सकिने प्रकृतिका कारणहरू। हामीले परिवर्तन गर्न नसक्ने कारण पनि छन्। बढ्दो उमेर, इन्फलामेटी बावेल डिजिज, वंशानुगत कारण आदि चाहेर परिवर्तन गर्न नसकिने प्रकृतिका कारण हुन्। यदि यी कुनै पनि कारण देखिए स्क्रिनिङमा जान जरुरी हुन्छ। स्क्रिनिङ जाँचले समयमै रोगको पहिचान गर्न सहयोग गर्दछ।

केही स्क्रिनिङ विधिहरू
-दिसामा रगतको जाँच (फेसल ओकल्ट ब्लड)
-दुरबिन प्रयोग बाट ठूलो आन्द्राको जाँच (सिग्मोइडोस्कोपी, कोलोनोस्कोपी)
-सिटी कोलोनोग्राफी
-कोलोगार्डद्वारा दिसामा संभावित क्यान्सर कोषिकाको डिएनए हेर्न सकिन्छ। यो जाँचको संवेदनशीलता लगभग ९२ प्रतिशत छ।

अमेरिकी क्यान्सर सोसाइटीको गाइडलाइनअनुसार ४५ वर्षको उमेरबाट सुरु गरेर सबैले प्रत्येक १० वर्षमा एकचोटी कोलोनोस्कोपी जाँच गर्नु उपयुक्त हुन्छ। यस्का साथै दिशामा क्यान्सर कोषिकाको डिएनए जाँच ३ वर्षमा एक पटक गर्न सकिन्छ।

परिवारमा ठूलो आन्द्राको क्यान्सर भएका व्यक्ति र उच्च जोखिम समूहका व्यक्तिले भने चिकित्सकको परामर्शमा ४५ वर्षको उमेरभन्दा अगाडि पनि स्क्रिनिङ गर्नु उपयुक्त हुन्छ।

लक्षण
धेरैजसो मानिसमा यो रोगका लक्षण नदेखिने हुनाले सबैले उमेर पुगिसकेपछि स्क्रिनिङ महत्वपूर्ण मानिन्छ। ढिलो मात्र यो रोगका लक्षण देखा पर्छन्। जस्तै-
-पेट दुख्ने र
-पेट फुल्ने
-दिसामा रगत देखिनु
-कहिलेकाहीँ पातलो दिसा र कब्जियत हुनु
-दिसा राम्रोसँग निकास नहुनु
-शरीरको तौल घट्नु र अनावश्यक थकान महसुस हुनु।

उपचार
-शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी नै उपचारका मुख्य विधि हुन्। ठूलो आन्द्रको क्यान्सरको स्टेज अनुसारको उपचारका प्रविधिहरु आवश्यक हुन्छन्।

जोखिम न्यूनीकरणका उपाय
जीवनशैली अनुशासित र स्वस्थ बनाउन सकियो भने धेरै हदसम्म यो रोग लाग्नबाट बच्न सकिन्छ। यसका लागि हामीले तलका कुरामा ध्यान दिन जरुरी छ।

-बोसोयुक्त खानेकुरा, रातो मासु, प्रशोधित खाना कम गर्ने
-फलफुल र सागसब्जी र रेसायुक्त खानेकुरा खानु ।
-दैनिक शारीरिक कसरत गर्ने
-नियमित व्यायाम गरी आफ्नो तौललाई नियन्त्रण गर्ने
-मद्यपान र धुम्रपानबाट टाढा बस्ने

ठूलो आन्द्राको क्यान्सर समयमा पहिचान गरी उपचार गर्न सकियो भने यसको निदान शत प्रतिशत सम्भव छ। त्यसैले स्वस्थ जीवनशैली अपनाएर उमेर पुगिसकेपछि चिकित्सकसँग परामर्श गरेर नियमित स्क्रिनिङ गर्न आवश्यक छ।

(डा शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल ओंकोलोजिस्ट हुन्।)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button