स्वास्थ्य

कोल्टे फेर्दै कोभिड

भित्री चरित्र बदलिएको व्यक्तिको बाहिरी प्रस्तुति पनि फेरिदै गए जस्तै आनुवांशिक चरित्र बदलिएको अर्थात जीनमा म्युटेसन गरेको सार्स-कोभ-२ कोरोना भाइरसले अहिले आफ्नो दोस्रो इनिङमा आइपुग्दा पहिलो इनिङको भन्दा फरक प्रस्तुति दिँदै गएको पाइएको छ। विश्व स्वास्थ्य संगठनको आधिकारिक वेबसाइटमा प्रस्तुत तथ्य, विभिन्न अध्ययन, अनुसन्धानले देखाएका नतिजा तथा कोभिड बिरामीको उपचारमा संलग्न चिकित्सकको अनुभवका आधारलाई टेकेर बोल्नुपर्दा कोभिड-भाग १ र कोभिड-भाग २ मा तीन वटा कुरामा प्रष्टै देखिने फेरबदल भएको पाइएको छ। भाइरसको ट्रान्समिसन अर्थात सर्ने दर बढेको छ, लक्षण र प्रस्तुती पहिलेभन्दा फरक हुँदै गएको छ र रोगको समग्र कडापन अर्थात सिभियरिटि समेत बढेको छ।

थप शक्तिशाली बन्दै सार्स-कोभ-२ भाइरस
भाइरस आफैँमा जीन अर्थात आनुवांशिक तत्वलाई केही प्रोटिन र लिपिड (बोसीय तत्व)ले घेरेर एउटा निश्चित आकार पाएको जैविक अस्तित्व हो। बाहिर रहँदा यसले आफूलाई संख्या बृद्दी गर्न सक्दैन तर यसले संक्रमण गरेको प्राणी (होस्ट) को पनि निश्चित कोषिकाभित्र मात्र हुरुरुर्र लाखौ-करोडौंको संख्यामा आफूजस्तै भाइरसको कपी निकाल्दछ। सोही क्रममा विभिन्न फ्याक्टरको प्रभावमा रहेर भाइरसले आफ्नो स्वरुप फेर्दै जानु उसको नियमित चर्या नै हो। गत केही महीना अघिसम्मको पहिलो इनिङमा चलिरहेको सार्स-कोभ-२ भाइरसले अहिले एकाएक आफ्नो आनुवांशिक चरित्रमा संसोधन गर्दै अर्थात प्राविधिक भाषामा भन्नुपर्दा आफूलाई म्युटेसन गर्दै नयाँ भेरियन्टका रुपमा आफ्नो नयाँ संस्करण पस्किएको छ। B.1.1.7 कोड वर्ड पाएको युके भेरीएन्ट र B.1.617.2 कोड वर्ड पाएको इण्डिया भेरियन्टले यतिखेर भारत, नेपाल लगायत विभिन्न देशमा अड्डा जमाइरहेको बुझिन्छ।

भाइरसका तीन खाँटी चरित्रमध्ये अरु प्राणी अर्थात होस्टमा छिर्न सक्ने ताकत ‘इन्फ़ेक्टिभिटी’, रोगमा बदलिएर प्रस्तुत हुने क्षमता ‘प्याथोजेनेसिटी’ र एकबाट अर्कोमा सर्ने दर वा शक्ति ‘ट्रान्स्मिसिबिलिटी’ पर्ने गर्दछन। अहिले भारतमा र हाम्रो देशमा हंगामा गरिरहेको नयाँ भेरियन्ट यी तीनवटै मामलामा थप शक्तिशाली बन्न पुगेको बुझिएको छ। पहिलो पालामा परिवारको एक वा दुई सदस्य संक्रमित भएर बाँकी सदस्य सुरक्षित नै रहने दृश्यको बर्खिलाफ अहिले एउटा परिवारको सबैजसोलाई नै एक साथ आक्रमण गरेको दृश्य बढी देखिएको छ।

पहिले इन्क्युबेशन पिरियड (होस्टमा भाइरसको प्रवेश भई रोग देखिन लाग्ने समयावधी) सरदर सात दिन (दुइदेखि बाह्र दिन) हुने गरेकामा अहिले आजको भोलि नै लक्षण देखिन शुरु भएको अनुभव व्यक्त गर्छन् अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स(एम्स) मा कोभिड केयरमा सक्रिय नेपाली चिकित्सक डा श्रवण राउत। त्यसैगरी पहिले एक व्यक्तिबाट तीन, तीनबाट नौ, अनि सत्ताइस-एकासी गर्दै फैलने कोभिडले आफ्नो फैलने गति थप द्रुततर बनाउदै एकबाट पाँच, पाँचबाट पच्चीस, अनि एकसय पच्चीस-छसय पच्चीस गर्दै फ़ैलदो छ यतिखेर। पाँच तह मुनि फैलदासम्म गाँज्ने संख्या हेर्ने हो भने कहाँको एकासी, कहाँको छसय पच्चीस।

नयाँ रुपमा प्रस्तुत हुँदै कोभिड
गत बर्षको कोभिड बिरामीहरुलाई च्याप्दा न्यून कडापन (माइल्ड)बाट मध्यम कडापन(मोडरेट) हुँदै अति कडापन(सिभियर)मा क्रमिक रुपले जाने र आफूले धेरै कुरा आकलन गर्दै उपचार योजना बनाउन सक्ने अनुभव रहेकामा यसपटकको कोभिडमा भने ठिक विपरित अहिलेसम्म खास्सै केही छैन जस्तो लाग्ने र हेर्दाहेर्दै ह्वात्तै च्यापेर अर्थात बीचको स्टेज नै नाघेर एक्कैचोटी आइसीयू चाहिने बनाउने अनुभव सुनाउँछन् विराटनगरस्थित कोशी अस्पतालमा कोभिड केयरमा संलग्न फिजिसियन डा दीपक सिग्देल। यस पटक घाँटी पाछ्ने (सोर थ्रोट), जीउ र मांशपेशी असह्य दुख्ने (मायल्जिया), छाति दुख्ने, स्वाश फेर्न गाह्रो हुने आम लक्षणसंगै पखाला, वाकवाकी र बान्ता पनि थप साझा लक्षण बनेको छ। ‘अक्सिजन स्याचुरेशन ६० प्रतिशत हुँदा पनि बोलिरहेको हुनु र हेर्दाहेर्दै एक्कासी च्याप्नु (प्राविधिक भाषामा ह्याप्पी हाइपोक्सिया वा साइलेण्ट हाइपोक्सिया) चाँही पोहोरभन्दा यस पटक बढी देखिएको छ,’ डा सिग्देल भन्छन्।

यसैगरी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत डा निशान भट्टराई आफ्नो विश्लेषण यसरी सुनाउँछन्- ‘यस पटक पखाला लाग्ने, गन्ध ठ्याप्पै थाहा नहुने (एनोस्मिया), भोक ठ्याम्मै नलाग्ने (एनोरेक्सिया), भित्रदेखि छातीबाटै बज्ने र दुख्ने गरी ‘घ्वांग-घ्वांग’ सुख्खा खोकी लाग्ने समस्या बढी देखिएको छ र डेमोग्राफिका हिसाबले यस पटक ५० प्रतिशत बिरामी बिसदेखि चालिस बर्ष समुहका छन्।’

पहिलेभन्दा सिभियर केस बढी देखिनु, शुरुदेखि नै अक्सिजन आवश्यक पर्नु, अक्सिजन स्याचुरेशन नब्बेभन्दा माथी कायम राख्न गत बर्षको झमटमा पाँच-छ लिटर प्रति मिनेट भए पुग्ने गरेकोमा यस लहरमा त्यसैका लागि दशदेखि पन्ध्र लिटर आवश्यक पर्नु र एक्युट रेस्पिरेटरि डिस्ट्रेस सिण्ड्रम धेरैमा देखिनु यस लहरका खास फरक हुन्।

बेगनास ताल नजिकै अवस्थित गण्डकी प्रदेशको संक्रामक तथा सरुवा अस्पतालका निर्देशक डा विकास गौचनका अनुसार यस लहरसंगै बिरामीले मलाई एकदमै गाह्रो भयो भन्ने तर के भयो बताउन नसक्ने फरक र अनौठो खालको लक्षण यस पटक धेरैमा देखिएको छ। वाकवाकी, बान्ता र पखालामात्रै नभई दिशामा रगत आउने लक्षण पनि देखियो र धेरैको मुख सुख्खा भएको कम्प्लेन सुनियो। बिरामीको कडापनको ग्राफ प्रत्येक मिनेट हुंइहुंइ उक्लनु र उत्तिनखेरी उपचार योजना बदल्नु पर्नु नयाँ लहरको नयाँ प्रस्तुति भए झैँ लागेको छ डा गौचनलाई।

नयाँ दिल्लीस्थित एम्सका डा श्रवण राउतको अनुभवमा उच्च ज्वरो, सुख्खा खोकी र छातीको दुखाई नै साझा लक्षण भएता पनि चार पाँच दिनमा ठिक भएको झैँ लागिसकेको बिरामीमा सातौँ-आठौँ दिनतिर फेरि एकाएक सास फेर्न अप्ठ्यारो हुने र अक्सिजन लेभल स्वाट्टै घट्ने अनौठो चरित्र देखिएको छ। अक्सिजन लेभल पचास प्रतिशतसम्म ओर्लदा पनि सामान्य झैँ व्यवहार गरिरहेको पाइनु र निमेषभरमा स्थिति बिग्रिनुले चिकित्सक, नर्स र उपचार टोलीलाई साफ छक्क्याउने गरेको व्यहोरा खुलाउँछन उनी।

नयाँ दुई लक्षण
इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चलाई उद्दृत गर्दै भारतका विभिन्न राष्ट्रिय संचार माध्यममा प्रस्तुत न्युज, भ्युज, रिभ्युज र इस्युज एवं अमेरिकास्थित सरकारी स्वाथ्य अनुसन्धान संस्था नेशनल इन्स्टिच्युट अफ हेल्थको अनुसन्धान नतिजालाई उद्दृत गर्दै विश्व विख्यात ‘नेचर’ म्यागाजिनमा प्रकाशित तथ्यलाई आधार मान्दा कोरोना भाइरसको परिमार्जनसंगै अहिलेका बिरामीहरुमा थप दुई नयाँ लक्षण देखिएका छन्। पहिलो लक्षण मुखसम्बन्धी रहेको छ। खानेकुरा र थुक निल्न समेत गाह्रो हुने गरी मुख सुख्खा हुनु, चर्किने गरी ओठ फुट्नु, जीब्रोको रंग बदलिनु र पाछिनु तथा मुखभित्र खटिरा आउनु जस्ता समस्या देखिएका छन्। पछिल्लो खुलासा अनुसार कोरोना भाइरसले थुक ग्रन्थी (स्यालिभारी ग्ल्याण्ड) र मुखका कोषिका (ओरल म्युकोसा) मा समेत आक्रमण गर्ने भन्ने बुझिएको छ। स्मरण रहोस, पहिलेको जानकारीमा यसले घाँटीभन्दा तलमात्र गाँज्ने भन्ने मान्यता थियो।

त्यस्तै अर्को नयाँ लक्षणमा कानको सुन्ने क्षमता हरण गर्ने भन्ने बुझिएको छ। शुरुको दुई हप्ता श्रवण शक्ति गुम्ने, कान बज्ने र रिंगटा समेत चल्ने पाइएको छ। खुशीको कुरा चाहिँ यो लक्षण अस्थायी प्रकृतिको हुने र दुई हप्ता जतिमा पुन: सामान्यमा फर्कने भन्ने बुझिएको छ। त्यस्तैगरी आँखा रातो हुने र छालामा विभिन्न लक्षण र परिवर्तन देखिने दुई लक्षण पहिलो पालाभन्दा अलिक बढी मात्रामा देखिएका छन्।

अन्त्यमा
कोरोना भाइरस जति बलियो बन्दै जादैछ, हामी थप बलियो हुनु जरुरी छ। यसलाई जित्न शासन र प्रशासनको भर पर्नुभन्दा आफ्नै अनुशासनको भर परेको राम्रो।swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button